मुक्तकहरु - ४
भाेटकाे राजनीतिले गर्नु गर्याे
देखावटी विकास गाउँमा सर्याे
अध्ययन बिना नै डाेजर चल्दा
बाटोमा जताततै पहिरो झर्यो
आयातित संस्कृतिले याे के गरायाे ?
बिहेमा दाैरा-सुरुवाल, साडी-चाेलाे हरायाे !
परम्परा मासिंदै गएपछि, युवा जमातले
शेरवानी र लहंगा लगाउन मन परायाे ।
समय एकाएक टक्क अड्याे
मुटुको ढुकढुकी बेस्सरी बढ्याे
माैसमले हाे कि तिम्रो साथले ?
नपिए नि मनभित्र नशा चढ्यो ।
आपसमा जब शंका मिसिन्छ
न्यानाे सम्बन्ध एकाएक चिसिन्छ
यसरी घुमाउँछ परिबन्दले
पुरै जिन्दगी नराम्ररी पिसिन्छ ।
सबै मपाँई मात्र छन्, एकले-अर्कालाई गन्दैन
राम्रो गरेछाै तिमीले, स्याबास कसैलाई भन्दैन
यहाँका नेता र कार्यकर्ता, सबैका चरित्र देख्दा
यस्ताे लाग्दैछ मेरो देश, पुस्ताैं सम्मलाई बन्दैन !
जवानी निकै हतारियोे, पर्खिएन
बुढ्याैली फुर्सदमा थियोे, फर्किएन
संधै गाली पायाे, निर्दाेष समयले
उ एकनास चलिरह्याे, झर्किएन ।
समय अनि परिस्थितिकाे प्रभाव छ
कहिँ सम्पन्नता कतै चरम अभाव छ
सबैका चाहना पूरा हुँदैनन् कहिल्यै
केही न केही कुराकाे सबैलाई दवाव छ
एकपटक, सुन्दरताकाे परिभाषा फेर्ने मन छ
शीतलता र सुन्दरता, अंगालोभरि बेर्ने मन छ
आऊ दुबैजना मिलेर, आकाशतिर चिहाऊँ प्रिये
मलाई, चन्द्रमा संगै बसेर चन्द्रमा हेर्ने मन छ ।
बिगार्न, मास्न जानेका छन्
यसैलाई विकास मानेका छन्
यस्तो लाग्दैछ व्यवहार हेर्दा
आफैंलाई मालिक ठानेका छन् !
कर्म, कर्तव्य र दायित्व वहन गर्नैपर्छ
जेजस्तो परि आउँछ त्यो सहन गर्नैपर्छ
जरुरी नै छ कुनै पेशा, बाँच्नका लागि पनि
राष्ट्र हितमा ब्यक्तिगत ईच्छा दहन गर्नैपर्छ
मलजल गरि बेकामे झार नगाेडाैं हजुर
मूल्यहीन ठानी माटाको गाग्राे नफाेडाैं हजुर
करेसाकै भूत काम लाग्छ आपत् परेको बेला
पराईकाे भरमा आफ्नाको मन नताेडाैं हजुर ।
जब्बर रहेछन् राेगव्याधी, शरीरमा पस्न छाेड्दैनन्
समस्याहरु पनि कम छैनन्, घाँटी कस्न छाेड्दैनन्
अरुले दुख दिँदा, सघाउनु पर्ने त आफ्नैले हाे नि
तर के गर्नु ! उनीहरू झन्, बिच्छी बनि डस्न छाेड्दैनन्
पुरा हुन्छ स्वार्थ कसरी, मान्छेहरु यही गम्न थालेका छन्
शायद यसैले हाेला, एकाकीं जीवनमा रम्न थालेका छन्
पहिले पहिले जाडो मौसममा मात्र पानी जमेकाे देखिन्थ्यो
अचेल हरेक मौसममा सम्बन्धहरु जम्न थालेका छन् ।
(सानुराजाजीलाई प्रेषित)
जबसम्म शरीरमा, एकमुठी सास हुन्छ
मान्छेमा बाँच्छु भन्ने, झिनो भएनि आस हुन्छ
अपठ्याराेमा परेकाे बेला, साथ दिन्छ जस्ले
जिन्दगीमा त्यही मान्छे, उस्काे लागि खास हुन्छ ।।
(प्रहरीमा पठाएको )
युवाले थाेरै सपना माग्छ,
राज्यसंयन्त्र गाेली दाग्छ !
कस्ता शासक पाएछाैं हामीले,
सम्झँदा पनि विरक्त लाग्छ !!
राष्ट्रकाे ढुकुटी, भीआइपीका उपचारका लागि उपहार भाे
हस्पिटलकाे निशुल्क जाउलाे भने, राज्यकोषलाई भार भाे
सत्ताधारीहरु धृतराष्ट्र भएपछि कसको के पाे लाग्छ र
गरीब निमुखा बिरामी माथि सरकारबाटै अत्याचार भाे !!
***
जाडो रातमा सिरकमाथि सिरक, खाप्नुकाे मजा बेग्लै
दिउँसोको घाम सुन्तला खाँदै, ताप्नुकाे मजा बेग्लै
शरीरलाई ताताे पार्ने उपाय, हुन सक्लान् अरु पनि
तर, साँहिलीकाे भट्टीमा, बटुकाे थाप्नुकाे मजा बेग्लै !!
***
हिजाेसम्म निहुरिने मान्छेका आँखामा, आज मात देखेकाे छु
साकाहारी हुँ भन्नेका पनि, रगत भरिएको आँत देखेकाे छु
पराई त पराई नै भए के गर्नु व्यर्थै उनीहरूका कुरा
पत्याउनु हुन्छ ? मैले आफ्नैका, काेखाभित्र दाँत देखेेकाे छु !!
(सानुराजाजीलाई प्रेषित)
✍️ मुरामि
Comments
Post a Comment