वृन्दावन चाैरासी काेस परिक्रमाकाे नालिबेली

 यात्रा संस्मरण ;

            ✍️ मुरारीराज मिश्र, 

"पाेहाेर नै जाने भनेको हाे, परिस्थितिवश राेकियाे । तर यस बर्ष त जसरी पनि वृन्दावन जाने र त्यहाँ सवालाख बत्ती समेत बाल्ने भनेर हाम्रो समूहमा सल्लाह भएको छ । हामी दुबैजना जानुपर्छ है !" काेठामा पस्दै श्रीमतीजी (कल्पना मिश्र) ले भनिन् । 

"दसैंमा छाेराछाेरी भेट्न अमेरिकातिर जाँदैछाैं, अनि कसरी मिल्छ हामीलाई जान ?" मैले प्रतिप्रश्न तेर्साएँ ।

"अहिले हाेइन नि, हामी उताबाट फर्केपछि मंसिरतिर जाने हाे क्या ।" उनको जवाफ आयो ।

धार्मिक यात्रा भनेपछि मेराे मन फुरुङ्ग हुन्छ । एक त धर्म कमाइने, अर्काे नयाँ नयाँ ठाउँ पनि देखिने । उसैमाथि चाैरासी काेस परिक्रमा गरेपछि, मृत्युु पश्चात् चाैरासी लाख याेनीबाट मुक्ति पाई जन्ममृत्युकाे चक्करमा पर्नु नपर्ने धार्मिक मान्यता सुन्दै आएकोेले पनि श्रीमतीजीकाे आग्रहलाई नकार्ने कुरै भएन । मैले सहमति जनाएँ ।  

जान इच्छुक ब्यक्तिकाे नामावली तैयार भयो । अरु थप १० जना जतिबाट केही दिनमा भ्रमणको टुंगो दिने खबर पाइयो । एक बस यात्रु संख्या पुग्ने देखिएपछि सबैको सल्लाहबाट मंसिर १० गतेकाे मिति तय गरियो । यसअघि हामीलाई पटकपटक तीर्थयात्रामा लगिसक्नु भएका हरिशरणम् तीर्थयात्राका प्राेप्राइटर माेहन अधिकारी दाइसंग यात्रामा जाने पूर्व सहमति भएकाले, उहाँसंग सम्पर्क गरि भ्रमण र साे काे व्यवस्थापनकाे बारेमा सरसल्लाह गर्‍यौं । 

बिहान चियानास्ता, दिनको दुईछाक खाना र रातिको बासको जिम्मा उहाँले लिनुभयाे । दिउसोकाे खाजा, चिया खर्च र बस नजाने ठाउँको स्थानीय भाडा भने हामीले नै व्यहोर्नु पर्थ्याे । भ्रमणको प्याकेजमा सबैको सहमति जुटेपछि, अयाेध्या, नैमिषारण्य र वृन्दावनकाे चाैरासीकाेस परिक्रमाका लागि १३ दिने भ्रमणमा जाने हाम्रो कार्यक्रम पक्का भयाे ।

घटस्थापनाकाे अघिल्लो दिन हामी अमेरिकाकाे भ्रमणमा निस्कियाैं । ३५ दिनको पारिवारिक भ्रमण सकेर नेपाल फर्किएपछि पुन: वृन्दावन यात्राको साेधखाेज सुरु भयाे । यात्राको तैयारी भइरहँदा जान नाम लेखाएका साथी बिष्णु बस्नेतलाई अचानक डेंगुले समात्याे । दुई दिनपछि, अर्का यात्री विश्वनाथ अधिकारीबाट पनि जुठो परेकाे खवर आयाे । पछि टुंगो दिन्छाैं भनेकाहरु समेत सम्पर्क विहीन भए । फलतः जाने यात्रुकाे संख्या घटेर १८ बाट १४ मा झर्‍यो । यात्रुको संख्या कम हुँदै गएपछि, यसपटक पनि पाेहाेर सालको जस्तै यात्रा राेकिने हाे कि भन्ने चिन्ताले सतायाे । हामीले याे बारेमा माेहनदाइलाई जानकारी गरायौं । उहाँले "मसंग १२ जनाकाे एउटा समूह छ, मिलेर जाऊँ न त" भन्नुभयो । दुई समूह हुँदा केही व्यावहारिक कठिनाइ हुने भएतापनि जाने तैयारी गरिसकेकाले हामीले सल्लाह गरेर सहमति दियौं । बल्ल जाने कुरा पक्का भयाे, हामी थप तैयारीमा लाग्यौं ।

२०८१ साल मङ्सिर १० गते साेमबार बिहान ५ बजे यताबाट हिंड्ने कार्यक्रम थियोे । साे दिन बिहान ४:३० मा "अर्को समूहलाई लिन गाडी लिएर जाँदै छु, सबै तैयार रहनु हाेला" भनेर माेहनदाइकाे फाेन आयो । हामीले याे खबर सबैमा आदानप्रदान गर्‍याैं । एकैछिनमा सबै जम्मा भएर बसको प्रतीक्षा गर्न थाल्यौं। केही समयपछि ललितपुरबाट जाने तीर्थयात्रीहरु राजु बस्नेत, रमिता बस्नेत, भीमसेन थापा क्षेत्री, मायादेवी थापा, मानकुमारी रानाभाट, थीरकुमारी थापा, कृष्ण श्रेष्ठ, रत्नलाल श्रेष्ठ, श्रीया श्रेष्ठ, राममणि भट्टराई र मञ्जु भट्टराई समेत ११ जनालाई लिएर गाडी कुमारीगाल आइपुग्यो । 

हामी तैयारी अवस्थामा थियौं । गाडी आउनासाथ ढिलो नगरी सबै सामानहरु राखेर सरस्वती रिसाल, परमेश्वरी पाैडेल, लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, गीता बिष्ट, अञ्जन कट्टेल, मीना कट्टेल, विमला बस्नेत, कमला गाैतम, कल्पना मिश्र र मुरारीराज मिश्र गरि ११ जना बसमा चढ्याैं । हामी चढेको गाडी त्यहाँबाट ५:३० बजे गाैरीघाट, मित्रपार्क, गाैशाला हुँदै मैतीदेवीतर्फ हुँइकियाे । 

बिहानी समय भएकाले सडकमा सवारीसाधनकाे चहलपहल अत्यन्तै न्यून थियोे । मर्निङवाकमा हिंडेका मानिसहरु बाटोमा फाट्टफुट्ट देखिन्थे । माैसम भने निकै चिसिएकाे महसुस भयाे । चालक अरुणभाइले बजाएकाे सुमधुर भजन बसभित्र गुञ्जिरहेकाे थियोे । मैतीदेवी पुगेपछि वसन्त पाण्डे, सरिता पाण्डे र दीर्घलक्ष्मी त्रिपाठी बसमा चढ्नु भयाे । 

सरस्वती भाउजुले नागरिकता लिएर आउन भुल्नु भएको र त्याे बिना भारतीय सिमाभित्र प्रवेश नपाइने भएकाेले नागरिकता लिएर शिराेमणिदाइ कलंकीमा कुरिरहनु भएकाे थियोे । उहाँसंग नागरिकता लियाैं । त्यहाँबाट सीतादेवी रानाभाटलाई गाडी चढ्नु भयाे । अब हामी तीर्थयात्री २६ जना तथा यात्रा व्यवस्थापक माेहनप्रसाद अधिकारी, चालक अरुण पाैडेल, सहयोगी भीम थापा एवम् देवराज बुढाथोकी ४ जना सहित हाम्रो टाेली ३० जनाकाे भयाे । 

त्यहाँबाट अलि अगाडि ढुंगेअड्डा पुगेर माेहन दाइले यातायात कार्यालयबाट सवारीकाे पटके अनुमति लिनुभयाे । यात्राको लागि चाहिने मिनरल वाटरका ४० दर्जन बाेतल किनेर बसमा राखियाे । पानीको कुरा गर्दा, भारतमा प्रतिबाेतल पानीको २० रुपैयाँ भारु पर्ने र यहाँ एकमुष्ट किन्दा प्रति दर्जन १२५ नेपाली रुपैयाँमा पाइने भएकाले यतैबाट पानी लैजानु पानीको स्वाद र आर्थिक दृष्टिले पनि फाइदाजनक लाग्छ हामीलाई । 

हाम्रो टाेली छिमेकी राष्ट्र भारतको अयाेध्या, गाेकुल-मथुरा-वृन्दावन र नैमिषारण्यकाे १३ दिने यात्राको लागि अघि बढ्यो । 


यसैबीच माेहनदाइले यात्रामा फरक स्थानका दुई समूह सम्मिलित भएकोले आपसमा घुलमिलका लागि खाना खाने ठाउँमा परिचयात्मक कार्यक्रम राखिएको जानकारी गराउनुभयो । सिम्लेमा पुगेर चियानास्ता तथा शाैचादिका लागि गाडी राेकियाे । चियापान पश्चात् इच्छाकामना परिसरमा बिहानको खानाकाे लागि ओर्लियाैं । व्यवस्थापन टाेली खाना पकाउने तरखरमा लाग्यो । हामीले खाना पकाएको ठाउँमा भारतीय तीर्थयात्रीका दुईवटा समूह पनि खाना पकाउँदै थिए । 

खाना खानुअघि सबै भेला भएर आपसमा परिचयकाे आदानप्रदान गर्‍यौं । माेहनदाइले यात्रामा पालन गर्नुपर्ने नियम, अनुशासन र व्यवहारकाे बारेमा जानकारी गराउनु हुँदै "यात्रा अवधिभर, आफ्नो कारणले अरुलाई अप्ठ्यारो नहाेस् भन्नेमा सबैजना सचेत बन्नुपर्ने, काेठामा बस्दा ठूलो स्वरमा हल्लाखल्ला, कुराकानी गर्दा अर्को काेठामा बस्नेलाई असुविधा हुने भएकाले ध्यान पुर्‍याउनु पर्ने तथा ३० जनाको टाेलीलाई सबै सहभागीले एकै परिवार सरह व्यवहार गर्न" आग्रह गर्नुभयो । चार दशक भन्दा बढी समय यसै पेसामा बिताइसक्नु भएका माेहनदाइकाे जाेश र सक्रियता, ७० बर्ष उमेर पुगिसक्दा पनि ३० बर्षे युवाकै जस्तै देखिन्थ्यो । हाम्राे टाेलीमा ६० बर्ष माथिका १२ जना जेष्ठ सदस्य हुनुहुँदाे रहेछ । 

खानापछि पुनः यात्रा सुरु भयाे । यताको बाटोकाे अवस्था राम्रो थिएन । यत्रतत्र घुलाे र जाम छिचोल्दै अघि बढ्यौं । घाम चर्किएकोले गर्मीकाे महसुस भयाे । भाते निन्द्राले धेरैलाई गाँजेको देखिन्थ्यो । राजु बस्नेतजी र म आमनेसामने सिटमा थियौं । उहाँ पत्रकार हुनुहुँदाे रहेछ, हामी भने समसामयिक गफमा ब्यस्त भयाैं । 

बाटोमा शाैचालयकाे समुचित ब्यवस्था कतै नभएकाले शाैच लाग्दा झाडी वा कुनाकाप्चामा जानुकाे विकल्प थिएन । देश संघियताका गएको र ३ तहकाे सरकार माैजूद रहेको अवस्थामा आफ्नो क्षेत्रमा आउनु यात्रुकाे सुविधाको लागि कम्तीमा पनि ठाउँ ठाउँमा व्यवस्थित शाैचालय र पिउने पानीको व्यवस्था त स्थानीय निकायले गर्न सक्नुपर्ने हाे ! तर, आफ्नै सुविधाकाे लागि मरिहत्ते गर्ने जनप्रतिनिधिकाे दिमागमा यस्तो कुरा के आउँथ्यो र ! भर्खरै गरिएको विदेश यात्रामा, प्रत्येक एकघण्टाकाे सडक दुरिमा देखिएका सुविधा सम्पन्न रेष्टरुमकाे दृश्य झलझली आँखामा आए । मन अमिलो भयाे । 

अन्ततः बाटोकाे हण्डर खप्दै साँझ ६:१५ मा रात्री बसाइकाे लागि, गाडीले बेलहिया, भैरहवाकाे लुम्बिनी हाेटेलमा पुर्‍यायो । आआफ्ना कुम्लो कुटुराे बाेकेर हामी हाेटेलभित्र छिर्‍याैं ।

भाेलिपल्ट सुनाैली नाका हुँदै अयाेध्यातर्फ जाने कार्यक्रम थियाे । "बिहान ५:३० बजे चिया खाएर हिंड्नुपर्छ । सिमाना छिर्दा भारतीय प्रहरीले चेक गर्छन्, सबैजनाले नागरिकता साथमा राख्नुहाेला" भन्ने माेहनदाइकाे पूर्व सूचना अनुसार हामी तैयार भयाैं । सिमा चेकपोस्टमा पुगेर बसबाट ओर्लेर लाइन लाग्यौं । भारतीय प्रहरीले नागरिकता चेक गरेपछि ६:३० मा हाम्रो गाडी भारत प्रवेश गर्‍यो ।

यताकाे बाताबरण धुम्मिएकाेले चिसो थियोे । तुवाँलोका कारण सूर्यले धर्तीकाे स्पर्श गर्न सकेका थिएनन् । बाटो भने सामान्यतया राम्रो थियोे, तर शाैचादिका लागि झाडी र कुनाकाप्चा छिर्नुकाे विकल्प भने यहाँ पनि भेटिएन ! बिचमा चियापान र शाैचादिका लागि राेकिनु बाहेक हामी बढ्दै गयाैं । 

अपरान्ह ११:३० बजे अयाेध्या प्रवेश गरेर गाडीले हाेटेल पुर्‍यायाे । काेठामा सामान राखेर हामी लगत्तै सरयू नदीमा स्नानकाे लागि जान तैयार भयाैं । हाम्रो गाडी सरयू नदीसम्म लैजान नपाइने  भएकोले ३ वटा मयूरी (टेम्पो) रिजर्भ गरेर सरयूमा पुग्यौं । नदी आसपास निकै भीडभाड थियोे । जबर्जस्ती हातमा जाै, तिल, कुश थमाएर गाैदान गराउने पण्डित (?) हरू छ्यापछ्याप्ती भेटिन्थे । निश्चित रकम तिरेर नाैका विहारकाे पनि व्यवस्था देखिन्थ्यो यहाँ ।

मथुरा नगरकाे विकासमा विशेष योगदान भएको  सरयू नदी हिमालयबाट उत्पत्ति भएर उत्तर प्रदेश र उत्तराखण्ड राज्य भएर बग्छ । यो नदीलाई श्रापीत नदी मानिन्छ । त्यसैले यहाँ स्नान गर्दा मानिसको पाप मेटिने तर संचित पुण्य भने मिल्दैन भन्ने मान्यता रहेछ ।

पौराणिक कथा अनुसार, भगवान श्रीरामले सरयू नदीमा जलसमाधी लिएर जीवनको अन्त्य गरेका  कारण निकै क्राेधित भएका भगवान भोलेनाथले सरयुलाई "यस नदीकाे पानी मन्दिरमा चढाउन र अन्य पूजामा पनि प्रयोग हुनेछैैन" भन्ने श्राप दिएछन् ।

यसपछि माता सरयूले भगवान भोलेनाथको पाउ परेर भनिछन्, “प्रभु, यसमा मेरो के दोष ? यो त पूर्वनिर्धारित विधिको विधान थियो । ईश्वरकाे इच्छा अगाडि म के गर्न सक्थें र ?"

माता सरयूको अनुरोधपछि भगवान भोलेनाथले  भन्नुभएछ "मैले दिइसकेको श्राप फिर्ता लिन मिल्दैन तर याे पानीमा नुहाउँदा थप पुण्य नमिलेपनि तीर्थालुहरूकाे सम्पूर्ण पापहरू भने नाश हुनेछन्।" त्यस यता सरयू नदीको पानी पूजापाठ लगायतका धार्मिक कार्यमा प्रयाेग गर्ने प्रचलन बन्द भएको मान्यता रहेछ ।

आज एकादशी तिथिका दिन भएकाले हामी सरयू नदीमा स्नानदान गरेर आउँदा, गहुँको च्याख्ला, दही, राेटी सहितकाे खाना तैयार थियोे । खाना खाएर केहीबेर आराम पश्चात् ३ बजे पहिलेकै टेम्पोमा राम मन्दिरतर्फ प्रस्थान गरियो ।

गाइडले सर्वप्रथम राममन्दिरकाे निर्माण सामाग्री तैयारी स्थल पुर्‍याए जहाँ राजस्थानी मार्वलका खम्बा, प्लेट आदि मन्दिर निर्माण सामान तयार हुँदै थियोे । त्यसपछि रामकाे पुरानाे दरबार र सीताको भान्सा घरकाे अवलोकन गरि राम मन्दिर तर्फ लाग्यौं ।

यहाँ अवलोकनकाे क्रममा श्रीरामकाे मूर्ति बनाउन भनेर नेपालबाट ल्याइएको विशाल शिलाकाे बारेमा जान्न मन लाग्यो । मैले गाइडसंग जिज्ञासा राखें । गाइडले `नेपालबाट ल्याइएको शिला शालिग्राम हाे, यसलाई फाेड्न मिल्दैन भन्ने विभिन्न पीठाधिशहरूकाे राय आएकोले त्यसलाई नचलाइएकाे´बताए । उनले अब त्याे पत्थरलाई मन्दिर परिसरमा सबैले देख्नेगरी स्थापित गर्ने कुरा आफूले सुनेको समेत जानकारी दिए ।

बाटोमा निकै भिडभाड थियोे । पाइला पाइलामा सुरक्षाकर्मी तैनाथ थिए । हुन त, कतैबाट सुरक्षा खतरा महसूस भएरै यति विधि सुरक्षाकर्मी राख्नुपरेको हाेला ! तैपनि मन्दिर परिसरमा बन्दुक बाेकेका वर्दिधारी सुरक्षाकर्मी राखेको दृश्य चाहिँ पटक्कै नसुहाउने ! सबैकाे रक्षा गर्ने भगवान्‌ले आफ्नै सुरक्षा गर्न नसकेको भन्ने नराम्रो सन्देश जनमानसमा पर्ला कि भने जस्तो लाग्ने क्या !

यता हाम्रै पशुपतिनाथकाे मन्दिरभित्र पनि यति लामाे `सेल्फ लाेडिङ राइफल (एसएलआर) बाेकेका प्रहरीहरु यत्रतत्र देखिन्छन् । सुरक्षा सतर्कता आवश्यक छ तर वर्दि र हतियार नदेखाएरै उचित सुरक्षा गर्न नसकिने र देखाउँदैमा पूर्ण सुरक्षा हुने हाे र ? प्रविधिको प्रयाेगबाट पनि त सुरक्षा हुन सक्ला नि ! भन्ने कुरा पनि मनमा आए ।

जसाेतसाे कडा सुरक्षा र जाँच पार गर्दै आफूसँग भएका माेवाइल, घडी, ब्याग आदि लकरमा राख्ने काम भयाे । जुत्ता राख्ने लकर बेग्लै थियोे । लकर सेवा भने निशुल्क रहेछ । त्यहाँबाट पुुन: शरीर चेकजाँच, स्क्यान हुँदै मन्दिर तर्फ लाग्यौं । पुरुष र महिलाको लागि बेग्लाबेग्लै लाइन थियोे । भीडभाड भएपनि लाइन निकै व्यवस्थित देखिन्थ्यो । लामो लाइन पार गरि एकदमै विशाल परिसरमा अवस्थित नवनिर्मित भव्य मन्दिरमा श्रीराम भगवान्‌काे दर्शन पाइयाे । जीवन धन्य भएको महसुुस भयाे । मनमनै रामकाे श्लोक स्मरण गरें ।

“राम रामेति रामेति रमे रामे मनोरमे ।

सह्स्रनाम तत्तुल्यं राम नाम वरानने ।।”

राम, रामचन्द्र, रघुनाथ, जानकीवल्लभ, राजीवलोचन, रामभद्र आदि नामले समेत चिनिने भगवान् श्रीराम, त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेष्ठ पुत्रका रुपमा जन्मेका थिए । उनलाई भगवान् श्रीबिष्णुका साताैं अवतारकाे रूपमा लिइन्छ । रामको विवाह नेपाली चेली सीता माता (जसलाई लक्ष्मीको अवतार मानिन्छ) संग भएकाे थियो ।

पिताकाे आज्ञापालन गर्दै राजकीय सुखभाेग छाेडेर सीता र भाइ लक्ष्मण सहित १४ बर्ष वनवास गएका श्रीरामले, मनुष्य अवतारमा रावण लगायतका कैयन राक्षसकाे नास गरि पृथ्वीकाे भार हरेका थिए । रामकाे जीवन कथासँग हिन्दू धर्मका कैयन चाडपर्वहरु जाेडिएका छन् । नेपाल र भारतका हिन्दू धर्मावलम्बीले श्रीरामलाई आदर्श र मर्यादापुरुषकाे रुपमा पूज्दै आएका छन् । रामकाे जन्म, पराक्रम र जीवनकथा रामायण नामक धर्म ग्रन्थमा उल्लेख छ ।

आदौ रामतपोवनादि गमनं हत्वा मृगं कांचनम्। 

वैदेही हरणं जटायु मरणं सुग्रीवसम्भाषणम्॥

बालीनिर्दलनं समुद्रतरणं लंकापुरीदाहनम्।

पश्चाद्रावण कुम्भकर्णहननं एतद्घि रामायणम्॥ 

मन्दिरको निर्माणकार्य रातिको समयमा पनि चालू थियोे । सम्पूर्ण निर्माण पूरा हुन अझै करिव ६-७ बर्ष लाग्ने निर्माणकार्यमा सम्वद्ध एक ब्यक्तिबाट जानकारी पाइयाे । मन्दिर परिसर भिखारी मुक्त थियोे भने दान भेटी चढाउन पनि कतै कुनै करकाप भएन । 


दर्शनपछि बाहिर आएर पसलमा चियापान गरि ७:३० बजे टेम्पो चढेर हाेटेल पुग्याैं । भाेलि लामो यात्रा गर्नुपर्ने भएकोले बिहान चारैबजे नै तैयार हुनुपर्ने थियोे । राति १० बजे सुतियाे । अगाडिको घरमा विवाहको कार्यक्रम रहेछ । पट्का पड्काएकाे र बाजाको आवाजले रातभर निन्द्रा डिस्टर्ब भयाे ।

बिहान चाँडै नित्यकर्म सकेर तयार भयाैं । चिया पिएर सामान सहित बसमा चढेपछि हाम्राे गाडी  ४:३० बजे वृन्दावनतर्फ हुँइकियाे । बाहिर निष्पट्ट अन्धकार थियोे । सुनसान सडकमा सवारी फाट्टफुट्ट देखिन्थे । आगरा हाइवे एकदम राम्रो विविध लेनयुक्त भएकोले अरुणभाइले पनि पुरा स्पीडमा गाडी कुदाइरहेका थिए । बिचमा चिया र शाैचका लागि राेकिएर ९:३० बजेतिर हाइवेकाे रेष्ट एरियामा खानाको लागि ओर्लियाैं । खाना तैयार हुँदै गर्दा यताउता टहलिने काम भयाे । खाना खाएर ११ बजे पुनः जारी भएको यात्रा, मथुरा एक्सप्रेस हाइवेमा चिया नास्ता पश्चात् साँझ ५ बजे गाेकुलमा हाेटेलकाे पुगेर राेकियाे । 

भाेलिबाट वृन्दावनकाे चाैरासी काेस परिक्रमा सुरु गर्नु थियोे हामीले । त्यसको लागि सर्वप्रथम यमुना नदीमा भ्रमणको संकल्प गर्ने प्रचलन रहेछ । माेहनदाइले यसका लागि परिचित पण्डा बाेलाउनु भएको थियोे । हामीले बिहानै यमुनामा पुगेर स्नान, संकल्प र पूजा गर्‍यौं ।

गंगे च यमुने चैव गोदावरी सरस्वती ।

नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु ।।

कालिंदीजमुना समेत भनिने यमुना नदीकाे नाम हिन्दू धर्ममा निकै सम्मानका साथ लिइन्छ । पाैराणिक मान्यता अनुसार सूर्यपुत्री र यमराजका बहिनी यमीकाे रुपमा पनि चिनिने यमुनालाई स्वर्गकाे नदी पनि भन्ने गरिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विश्वास रहेको छ । यमुनाको पानीको श्रोत उत्तराखण्डकाे यमुनोत्री हाे ।

यमुना नदीको पानी पहिले केही नीलो र हल्का कालाे रंगकाे थियो रे ! त्यसैले यसलाई काली गंगा पनि भनिन्छ । यस्तै, सर्वप्रथम असित ऋषिले यमुना नदीकाे पत्ता लगाएकाले  यमुनालाई असित समेत भनिंदै आइएको रहेछ ।

ब्रज संस्कृतिमा यमुनाकाे निकै महत्त्वपूर्ण स्थान छ । श्रीकृष्णकाे बाल लीलाकाे लागि प्रसिद्ध स्थानहरू मथुरा, वृंदावन, गोकुल, बरसाना, गोवर्धन लगायत यमुना नदीकाे किनारामा रहेका छन् । श्रीकृष्णकाे आठ पत्निहरू मध्ये एक समेत मानिने यमुनालाई गंगा नदी भन्दा पनि प्राचीन नदी मानिन्छ । पौराणिक कथा अनुसार, यमुनामा स्नान गर्नाले शारीरिक, मानसिक र आध्यात्मिक शुद्धता प्राप्ति हुन्छ भन्ने सुन्दै आएकोेले हाेला हामीलाई पनि स्नान पश्चात् मानसिक शान्तिकाे अनुभूति भयाे ।

यमुना स्नान र चाैरासी काेस परिक्रमाकाे संकल्प पछि हामी कुञ्ज गली र नन्दबाबाकाे घर गयाैं । बालगाेपाल मन्दिरमा दर्शन, भाेगकाे लागि दान र झूला झुलायाैं । परिक्रमाकाे सुरुवातमै हामीलाई, बालगाेपाल मन्दिरमा देवताकाे मूर्तिलाई पर्दाले छाेपेर रकम ताेकेरै दानकाे लागि कर गर्ने, रकम नदिएसम्म पर्दा खाेलेर दर्शन नगराउने र झूला झुलाउन नदिने अचम्मको प्रवृत्ति देखेर नमज्जा लाग्यो । 

हामीले अचम्म मानेकाे देखेर माेहनदाइले "यहाँका मन्दिर दर्शनमा जाँदा पाइला पाइलामा ठग्ने र माग्ने प्रवृत्ति निकै भएकाले बाँड्न थाल्ने हाे भने त बाेराका बाेरा नाेट ल्याएपनि पुग्दैन, त्यसैले दशवटा केरा र एउटा नरिवल चढाउने (अर्थात् दस ओैँला जाेड्ने र शिर झुकाउने) गर्नु नै उचित हुन्छ है ।" भन्ने जानकारी दिनु भयाे । साथै, काैवाले राेटी लैजाला है (अर्थात् पाकेट मार्ला है) भनेर त्यहाँकाले नबुझ्ने गरि बेलाबेलामा उहाँ हामीलाई सचेत गराइरहनु हुन्थ्यो ।

याे दृश्य देखेपछि मलाई पनि "इच्छा भए दुईचार रुपैयाँ दानपात्रमा छाेडाैं, नभए श्रद्धापूर्वक दुईहात हात जाेडाैं ।" भन्ने बिचार आयाे । त्यहाँबाट गएर हामीले दाउकाे मन्दिर दर्शन गर्‍यौं र हाेटेल फर्केर खाना खायौं । 


हामीलाई चाैरासी परिक्रमा गराउन माेहनदाइले नेपालीसंग नाता सम्बन्ध जाेडिएका वृन्दावन निवासी युवा साेनु पण्डालाई जिम्मेवारी दिनुभएको थियोे । हामी उनीसंगै अपरान्हतिर टेम्पो चढेर द्वारकाधिश मन्दिर गयाैं । त्यहाँबाट कृष्ण जन्मस्थल गएर कारागार लगायतका स्थानकाे अवलोकन गर्‍यौं । त्यहाँको प्रसाद खिचडी, खिर र राेटी खायौं । याे मन्दिरमा सुरक्षा ब्यवस्था निकै कडा थियोे भने चेकिङ्‌मा बसेका सुरक्षाकर्मीकाे ब्यवहार निकै क्षुद्र लाग्याे । 

हामीले त्यसैदिन ध्रुव वन, मधुवन, तालवन, कुमुदवन, गंगासागर लगायत तीर्थस्थलकाे दर्शन गर्‍यौं । साँझ साेनुभाइले हामी सबैलाई आफ्नो घरमा चियापानकाे निम्तो दिएका थिए । उनको घरमा पुगेर चिया, समाेसा र मिठाइ खायौं । त्यहाँबाट काेही किनमेल गर्न नजिकैको बजारतिर लागे भने काेही हाेटेल फर्कियाैं । 

पाँचौ दिन गाेवर्धन पर्वतकाे निकै लामाे पैदल परिक्रमा गर्नु पर्ने थियाे । बिहान ७ बजे चिया र चनाकाे नास्ता गरि सामान सहित हाेटेलबाट निस्कियाैं । यहाँको सतवा ग्राम (गाउँ) मा गएर श्रीमतीजी कल्पना मिश्रले सखी पूजा गर्नुपर्ने पूर्वनिर्धारित याेजना भएकोले माेहनदाइले सतवामा पुगेपछि साेधखाेज गर्दै वीरवती सखीकाे घरमा पुर्‍याउनु भयाे ।

हामीले घरबाटै सखीपूजाका सामानहरु लिएर गएका थियौं ।सखी वीरवती काे घरमा उनकाे परिवारजनकाे उपस्थितिमा केही बेर सखी पूजा (शान्ति निकुञ्ज/घेरा पूजा) काे कार्यक्रम भयाे । पूजा सकिएपछि सखीलाई काठमाडौं आउने निम्ताे दिई उनकाे सम्पर्क नम्बर लिएर हामी त्यहाँबाट चन्द्र सराेवर पुग्यौं । 
सराेवरकाे परिक्रमा र अवलोकन पछि आजको बास बस्ने स्थान समर्पण धर्मशालामा पुगि सामान राख्ने काम भयाे । भीमभाइ खाना पकाउने तरखरमा लागे । महिला सदस्यहरुले  तरकारी केलाएर सहयोग गरे । 

बिहानको खानापछि बसले हामीलाई गाेवर्धन पर्वतको परिक्रमा मार्ग नजिकैको बसपार्कमा पुर्‍यायाे । बसबाट ओर्लेर साेनुभाइ अघि लागे, हामी नाङ्गै खुट्टा उनको पछिपछि लाग्यौं । बाटोमा पर्ने दानघाटी मन्दिरकाे दर्शन गरेर हामी अघि बढ्दै गयाैं । बाटोमा पर्ने स्थान, सराेवर र मन्दिरको बारेमा साेनुले जानकारी दिंदै गए । ७ काेष अर्थात् करिव २१ किलोमिटर दुरीकाे गाेवर्धन पर्वतको परिक्रमा र वरिपरिका पुंछरीका लाैठा, मुखारविंद मन्दिर, लुक लुक दाउजी लगायतका विभिन्न मन्दिरको दर्शन गर्न हामीलाई करिव ६ घण्टा लाग्यो । परिक्रमाकै क्रममा त्यहाँ (गाेवर्धनमा) मात्रै पाइने आलुकाे जेरीकाे समेत स्वाद लिइयो ।

बाल श्रीकृष्णले लीला गर्नुभएको गोवर्धन पर्वतलाई गिरिराज, गिरिराजधरा, श्रीगिरि, श्रीनिवास, श्रीशैल, गोवर्धनाचल पर्वत, आदि नामले पनि चिनिन्छ । पौराणिक हिन्दु धर्मशास्त्रहरुले यसलाई एक महत्वपूर्ण, प्राचीन र पवित्र धार्मिक स्थलकाे रूपमा उल्लेख गरेका छन् । 

मथुरा जिल्लाको वृन्दावनमा अवस्थित गाेवर्धन पर्वतको बारेमा एउटा किम्वदन्ती यस्तो छ - यस पर्वतको सौन्दर्यबाट धेरै प्रभावित भएका पुलस्त्य ऋषि, यसलाई द्रोणाचल पर्वतबाट उठाएर आफूसँगै लैजान चाहन्थे । तब गोवर्धनले भने "यदि मलाई साथमा लैजान चाहनुहुन्छ भने ठीकै छ तर याद राख्नुस्, तपाँईले मलाई पहिलो पटक राखेको ठाउँमा नै म स्थापित हुनेछु ।" ऋषिले पर्वत लिएर गए । बाटोमा जब उनको ध्यानको समय भयो, ऋषिले पर्वतलाई भूइंमा राखे । तल राखेपछि गाेवर्धन त्यही ठाउँमा स्थापित भयो । त्यसपछि ऋषिले यसलाई उठाउन सकेनन् । यसबाट क्रोधित भएर उनलेे पर्वतलाई दिनदिनै संकुचित हुने श्राप दिए । त्यसयता यो पर्वत दिनप्रतिदिन मुठीभर सानो हुँदै गइरहेको छ भन्ने भनाइ छ । करिब पाँच हजार वर्षअघि गोवर्धनको आकार ३० हजार मिटर अग्लो भएकोमा अहिले ३० मिटर मात्रै भएको मानिन्छ ।

परिक्रमाकाे क्रममा साँझ परेतापनि यतातिरकाे केही मुख्य ठाउँकाे दर्शन अझै बाँकी नै रहेको र भाेलि अर्को ठाउँमा जानुपर्ने भएकाले बाँकी  दर्शन आजै गरिसक्नुपर्ने बाध्यता थियोे । त्यसैले अब बाँकी ठाउँमा टेम्पो चढेर जाने सल्लाह भयाे । माेलताेल गरेर टेम्पो चढ्याैं । त्यसपछि राधाकु्ण्ड, श्याम कुण्ड, कुसुम सराेवर, चक्रेश्वर महादेव र मानसी गंगाकाे दर्शन भयाे । उत्तर प्रदेशराजस्थान राज्यमा आधा आधा भाग पर्ने गाेवर्धन परिक्रमा मार्गमा पर्ने यी सबै स्थान घुमेर  धर्मशाला पुग्दा रातको ८ बजेको थियोे । धर्मशाला भएपनि यहाँकाे बसाइ हाेटेलकाे भन्दा कम सुविधाजनक थिएन ।

दिनभरकाे परिक्रमाकाे थकाइकाे कारण शरीरले उठ्न गाह्रो मान्दामान्दै पनि, अघिल्लो दिन रातिको खानाको समयमा भाेलि पाँचबजे यहाँबाट निस्कनु पर्ने माेहनदाइकाे सूचना अनुसार बिहान ३:३० बजे उठियाे । नित्यकर्म सकि सामान बाेकेर तल ओर्लियाैं । चियानास्ता बद्रीनाथ मन्दिरमा पुगेर गर्ने सल्लाह थियोे । डेढघण्टा जतिमा बद्रीनाथ मन्दिर पुगियो । तप्त कुण्ड र आदि बद्रीनाथकाे दर्शन सकेर ओर्लंदा चिया र चना तैयार थियोे । नास्ता पछि आधाघण्टाकाे दुरीमा रहेको निलकण्ठ महादेव, गंगाेत्री र यमुनाेत्रीकाे दर्शन गर्‍यौं । हामी त्यहाँबाट केदारनाथ तर्फ लाग्यौं । फेदीमा पुगेपछि माेहनदाइले "खाना पाक्दै गर्छ माथि गएर केदारनाथकाे दर्शन गरेर आउनुस्" भन्नुभयो । करिव ४०० सिंढी चढेर केदारनाथ बाबाको दर्शन गरियो । 

गाेकुल, वृन्दावनमा रहेका धामहरु बद्रीनाथ, केदारनाथ, गंगाेत्री, यमुनाेत्री, मानसरोवर, गंगासागर, रामेश्वर लगायतका तीर्थहरुकाे बारेमा यस्तो धार्मिक मान्यता रहेछ - "श्रीकृष्णका आमाबुबाले तीर्थयात्रामा जाने इच्छा गर्दा, गाेकुलबासीले बृद्धावस्थाका कारणले हिंड्न सक्नुहुन्न भनेर जान नदिएकाले उहाँहरुकाे शारीरिक अवस्थालाई दृष्टिगत गरि कृष्णले सबै तीर्थहरुलाई वृन्दावनमा बाेलाएर यतै स्थापित गरि आमाबुबा र गाेकुलबासीकाे इच्छा पूरा गरिदिनु भएकोले यहाँ रहेका ती स्थानहरूमा दर्शन गर्दा तत् तत् स्थानमा पुगेकाे फल मिल्छ ।"

केदारनाथकाे दर्शन गरि तल आएर खाना खायौं । त्यसपछि चरण पहाडी, कृष्ण फिसलनी शीला (चिप्लेटी), भाेजन थाली, काम वन, कामेश्वर महादेव, विमल कुण्ड, रामेश्वर, देहकुण्ड, उँचा गाउँ, तुलादान स्थल र देह कुण्डकाे दर्शन गरि बास बस्न राधा मन्दिर नजिकै रहेको एक आश्रममा पुग्यौं । यहाँ हामीले २ दिन बस्नु थियोे ।


साताैं दिन बिहान उठेर चियानास्ता पछि ७ बजे राधा रानी मन्दिर जान निस्कियाैं । मन्दिर परिसरमा एकदमै अव्यवस्था थियोे । लाइनको व्यवस्था थिएन । ८ बजे बाहिरी ढाेका खुल्नासाथ तँछाडमछाड गर्दै हजारौंको हुल भित्र छिर्‍याे । यहाँ हिँड्नै परेन, भीडले लतारेरै भित्र पुर्‍याउने रहेछ ! भित्र त झन् सकस, च्यापिएर मरिएला झैं ! यदि, त्यहाँ  लडियाे भने बाँच्ने संभावना नै थिएन, भीडले कुल्चेरै मार्ने स्थिति रहेछ । भित्र छिरिसकेकाले ज्यान जाेखिममै पारेर दर्शन गरियाे । यस्तो भीड हुने प्रसिद्ध मन्दिरकाे बेहाल अवस्थाले खिन्न बनायो । यहाँपछि कुशल ठाकुरजी, दान विहारीजी, ब्रह्माञ्चल पर्वत, माेर कुटी, कुञ्ज विहारी, गहवर वन, गहवर कुण्ड, मान गढ, राधा मान बिहारी लालजी, राधा सराेवर, सकरी गली र प्रीया कुण्ड (राधाले मेहंदी लगाएको स्थान) गरि करिब १३ किमि भ्रमण गरियो ।

बिहानको खाना दिउसो १ बजे खाइयाे । खाना खाएर १ घण्टा आराम गरेपछि २:३० मा प्रेम सराेवर तर्फ लाग्यौं । त्यहाँबाट सुदामा कुटी, शनिदेव मन्दिर, काेकिला वन, नवग्रह मन्दिर, वृन्दा कुण्ड, वृन्दा देवी, नन्द गाउँ, नन्द महल गयौं । यहाँका सबै जसाे मन्दिरमा मगन्ते पारा देखियो । देवतालाई पर्दाले छाेपेर पैसा दान गर्न कर लगाउने । दान नदिए झर्किने, गाली गर्ने । पण्डा मात्रै हाेइन बाटाेमा भेटिने जति स्थानीय समेत पछिपछि लाग्दै रकम माग्ने गरेकोे देख्दा पवित्र तीर्थस्थलकै बदनाम भए झैँ लाग्याे । साँझमा कृपालुजी महाराजकाे कीर्ति मन्दिर पुगेर आश्रममा पुग्दा ७ बजेको थियोे ।

भाेलिपल्ट बिहानको चियानास्तापछि सामान बसमा हाली आश्रमबाट बिदा भएर अञ्जन वन, कजराेटी शीला, कृष्ण कुण्ड र चिरहरण घाट (चीर घाट) पुग्यौं । यस घाट नजिकैको गाउँमा मञ्जु भट्टराई बहिनीले सखी पूजा गर्नुभयो । सखी पूजा सकेर कात्यायनी मन्दिर, अक्षय वट धाम, नाैका विहार कुण्ड, दक्षिण विहार वन र गाेरे (ऐंचा) दाउजी (यमुनालाई हलाेले तानेको स्थान) गयौं । विहानकाे खाना यतै पकाएर खाइयाे । खानापछि भाण्डीर वन (राधा-कृष्ण विवाहस्थल) गयाैं । ब्रह्मवैवर्त पुराण र गर्ग संहिताका अनुसार स्वयं ब्रह्माजीले पिताको रुपकाे अग्नि साक्षी राखि यसै स्थानमा श्रीकृष्णसंग राधाकाे विवाह गराउनु भएकाे थियोे । यहाँबाट फेरेवाला वृक्ष, मत्स्यावतार कुण्ड, वंशी वटबृक्ष, बेल वन, मानसरोवर र मान बिहारीकाे दर्शन सकेर साँझ त्यहाँको प्रसिद्ध प्रेम मन्दिरकाे अवलोकन गरि नजिकैको हाेटेलमा गएर बस्याैं ।


आज नवाैं दिन अर्थात् चाैरासी काेस परिक्रमाकाे अन्तिम दिन थियोे । चियानास्ता सकेर हाेटेलबाट सामान सहित बिहान ७:१५ बजे हामीले प्रस्थान गर्‍यौं । पैदल परिक्रमा गर्दै काली नागदह, कदम वृक्ष, राधा मदनमाेहन मन्दिर, केशी घाट (यमुना), राधा गाेपिनाथ, राधारमणजी मन्दिर र निधि वन पुग्यौं ।

निधिवन दिनभर खुला रहने तर साँझमा भने यसलाई खाली गरिने रहेछ । यहाँ तुलसी, मेहन्दी र कदम्बका रुख रहेका छन् । यस वनमा रहेका तुलसीका रूखहरू जोडीमा देखिन्छन् । रातमा यी सबै रूखहरू गोपीको रूपमा परिणत हुने जनविश्वास छ । यहाँ रंगमहल र राधारानीको मन्दिर पनि छ । सूर्यास्तपछि यस वनको रंगमहलमा कृष्णका लागि भेटी र जल तथा राधाकाे लागि चुरा लगायतका मेकअपका सामान र पान राखिने रहेछ । विहान मन्दिरको ढोका खोल्दा पानीको भाँडो रित्तिएकाे, मेकअपका सामान लत्पतिएकाे, चुरा फुटेको तथा पान खाएर थुकेको देखिने भएकोले यहाँ हरेक दिन राधा र कृष्ण लीला गर्न आउँछन् भन्ने जनविश्वास छ।

निधिवनपछि आधाघण्टाकाे दुरीमा रहेकोे बाँके बिहारीकाे दर्शन गरियो । बाँके बिहारीमा पनि राधा मन्दिरमा झैँ भीड देखिन्थ्यो । तर यहाँ भने सुरक्षाकर्मीले भीडकाे व्यवस्थापन गरेका कारणले अलि सहज थियोे । झण्डै ६ घण्टाकाे पैदल यात्रापछि फर्किएर दिउसो १:१५ बजे हामीले खाना खायौं । 

खाना खाएर केहीबेर विश्राम गरेपछि पुनः भ्रमणमा निस्कियाैं । दाउजी मन्दिर, क्षीर सागर, चिन्ता हरण महादेव, ब्रम्हाण्ड घाट (कृष्णले माटो खाएको स्थान) र नन्द भवन (चाैरासी खम्बा) काे दर्शन सकेर कृष्णले लडिबुडी खेलेको स्थान चरण रेतीमा पुगेर माटोमा लडिबुडी गर्‍यौं । त्यहाँको माटो प्रसादकाे रुपमा ल्याउने चलन रहेछ । 

चाैरासी परिक्रमाकाे क्रममा यहाँ लडिबुडी गर्दा धुलाे लागेकाे लुगालाई फुकालेर सुरक्षित राखि आफ्नो घर पुगेपछि घरभित्रै टक्टक्याउनु पर्ने धार्मिक मान्यता रहेकाे कुरा माेहनदाइबाट जानकारी भयाे । हामीले त्यहाँका महन्तबाट चरण रेती परिसरमा भाेलि बिहान सवालाख बत्ती बाल्ने र हवन गर्ने अनुमति लिई चाैरासीकाेस परिक्रमा समापन गरेर गाेकुलस्थित पहिले बसेकै हाेटेलमा पुग्यौं । 

चाैरासी काेस अर्थात् २५२ किलोमिटर दुरिकाे परिक्रमा, हामीले गाडी जाने ठाउँमा गाडीबाट र नजाने ठाउँमा टेम्पो चढेर तथा पैदल गर्‍यौं । परिक्रमा मार्गका नजिकै रहेका, परिक्रमा अन्तर्गत नपर्ने कतिपय मन्दिरमा समेत हामी पुग्यौं । यसै क्रममा एकतिहाइ भन्दा बढी दुरि हामीले पैदलै (नाङ्गै खुट्टाले) पुरा गरेका थियौं ।

भाेलि बिहान सवा लाखबत्ती प्रज्वलन गर्ने कार्यक्रम भएकाले, हामीसँगै यात्रामा सहभागी राजु बस्नेत तथा उहाँका समूहलाई लक्ष्मी दिदी र परमेश्वरी दिदीले गएर पूजामा आउने निमन्त्रणा दिनुभयाे । भाेलि बिहानै आगरा घुम्न जाने उहाँहरुकाे याेजना रहेछ । तैपनि, सकभर चाँडै आएर पूजामा सहभागी हुने उहाँहरुले बताउनुभयो ।

हाेम र पूजाका लागि आश्रमबाट नेपालीभाषी दुईजना पण्डित बाेलाउनु भएको थियोे माेहनदाइले । बत्ती, चरु लगायत सबै पूजा सामाग्रीहरु काठमाडौंबाटै लगेका थियौं । फूल, समिधा, मिठाई र फलफूल त्यहाँ किनियाे । बसबाट रमन रेती पुगेर हाेमादि सुरु भयाे । काठमाडौंमा र त्यहाँ गराउने पूजाविधिमा अलिक फरक पाइयो । करिव १२ बजेतिर सवालाख दीप प्रज्वलन र हाेमादि कार्य सम्पन्न भयाे । आफ्नो संकल्प पूरा भएकोमा श्रीमतीजी र महिला सहभागि प्रफुल्ल देखिए । हामीले पनि सन्तुष्टिकाे महसुस गर्‍यौं । पूजापछि साेनु भाइले नजिकैको आश्रममा लगेर महाप्रसाद खुवाए ।

खाना पछि हाेटेलमा आएर विश्राम गर्न थाल्यौं । वृन्दावन बसाइकाे आज अन्तिम दिन थियोे । यस अघि भ्रमणको व्यस्तताले भेट्न जान नसकेकोले, हामीले वृन्दावन निवासी परिचित जानुका दिदीलाई भेटेर दुई घण्टा जतिमा आउने कुरा माेहनदाइ संग गर्‍यौं । उहाँले टेम्पो बाेलाएर माेलमाेलाई गरिदिनु भयाे । टेम्पो चढेर अगाडि जाँदै गर्दा जानुका दिदिसंग फाेन सम्पर्क भयाे । उहाँले आफू वृन्दावन बाहिर रहेको जानकारी दिनुभयो, हामी फर्कियाैं ।

आगरा जानुभएका सहयात्रीहरु आइपुग्नु हुन्छ कि भनेर दिउसो अबेरसम्म कुर्दा पनि नआउनु  भएपछि, अब ढिला हुन्छ भनेर माेहनदाइले हामीलाई रावल गाउँ लगेर राधाजीकाे जन्मस्थल, राधा सराेवर र युगल वृक्ष (राधाकृष्ण) काे दर्शन गराउनु भयाे । 

वृन्दावनलाई एक प्राचीन ऐतिहासिक शहर मानिन्छ । हिन्दु धार्मिक मान्यता अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले वाल्यकाल बिताउनु भएको याे नगर ब्रज भूमि क्षेत्रको मुख्य स्थान हो । हेर्दा अचम्म लाग्छ, वृन्दावन क्षेत्रका सबै रुखहरु निहुरिएका देखिन्छन् । कृष्ण लीला हेर्न रुख निहुरिएका हुन् भन्ने लाेकमान्यता छ । 

दृश्यं गम्यं च संसेव्य ध्येयं वृंदावनं सदा।

नास्ति लोके समं तस्य भुवि कीर्ति विवर्द्धनम् ॥

धार्मिक दृष्टिले अति महत्त्वपूर्ण स्थान भएतापनि गाेकुल, वृन्दावन भने ज्यादै फाेहाेर देखिन्छ । जताततै नाली बगेका र फाेहाेर थुप्रिएका छन् । मानिस हिंड्ने  साँघुरो गल्लीमा दाेहाेराे सवारी चाप, सवारी अनुशासन शून्य चालकहरूकाे छुद्र बाेलि व्यवहार, हरेक पाइलामा भेटिने मगन्तेहरु र मन्दिरका पण्डाहरुकाे लाेभी प्रवृत्ति, प्राचीन मथुरा नगरीलाई बदनाम गराउन अग्रसर रहेको भान भयाे । यस ऐतिहासिक नगरकाे मर्यादा अभिवृद्धि र पर्यटक मैत्री बाताबरण बनाउनका लागि त्यहाँको सरकारले छिटोभन्दा छिटो प्रयास गर्नुपर्ने महसुुस गरियो । हुन त, यमुना मिसन अन्तर्गत ठाउँ ठाउँमा बिकास निर्माणका काम हुँदै गरेका पनि देखिन्थे । आशा गराैं, आगामी केही बर्षपछि मथुरा शहरको कायापलट हुनेछ ।

वृन्दावनकाे भ्रमण सकेर भाेलिपल्ट विहान ४:३० नै सरसामान लिएर नैमिषारण्य तीर्थ जान हाेटेलबाट निस्कियाैं । बाटोमा चियापान र शाैचादीकाे लागि राेकिनु बाहेक हामी निरन्तर अघि बढ्दै गयाैं । ११ बजे नैमिषारण्य नजिकै खाना खाने उपयुुक्त ठाउँ हेरेर बस राेकियाे । खाना पकाउने तैयारी हुँदै गर्दा हामी माेहनदाइसंग नैमिषारण्य तर्फ लाग्यौं । 

प्रययुस्तस्य चक्रस्य यत्र नेमिर्व्यशीर्यत।

तद् वनं तेन विख्यातं नैमिषं मुनिपूजितम्॥

वराह पुराणका अनुसार भगवानले आँखाको झिम्काइभरकाे समय (निमेष) मा दानवहरूको विनाश गरेको स्थल भएकाे कारण 'नैमिषारण्य' भनिएको यस क्षेत्रमा भगवानको मनोमय चक्रको घेरा खण्डित (पतन) भएको मानिने पवित्र चक्र कुण्ड रहेको छ । यहाँकाे प्रचलन अनुसार हामीले ३ पटक परिक्रमास्नान गर्‍यौं । साथै प्राचीन व्यास गद्दी र यज्ञशालाकाे पनि दर्शन गर्ने काम भयो । 

करिव १२:३० बजे नैमिषारण्यबाट फर्केर खाना खायौं । रातिको  बसाइको लागि अयाेध्या पुग्ने कार्यक्रम भएकोले ढिलो नगरि दिउसो २ बजे हामी त्यसतर्फ हिड्याैं । बाटोमा एकपटक चियापान र शाैचादिकाे लागि राेकिएर साँझ ६:३० मा अयाेध्याकाे हाेटेलमा पुगि काेठामा सामान थन्क्यायाैं । राममन्दिर दर्शन गरेकाे दिन अत्यधिक भीडका कारण हामीले हनुमान मन्दिर दर्शन गर्न पाएका थिएनौं । त्यसैले केही बेर फ्रेस भएर टेम्पोमा मन्दिर जान निस्कियाैं । फर्किंदा अलि ढिलो भयाे । हतार हतार खाना खाएर सुत्दा घडीले १० बजेकाे समय देखाइरहेकाे थियोे ।

अर्को दिन चाँडै नेपाल छिरेर सुनाैली बजारमा सरसामान किन्ने सबैकाे चाहना अनुसार, यात्राको १२ ओैं दिन बिहान ४:३० मा चियापान सकेर झिटिझ्याम्टा सहित नेपालतर्फ प्रस्थान गर्न गाडीमा चढियाे । ५ बजे अरुणभाइले गाडी अघि बढाए । भारतीय र नेपाली नाकामा कर्मकाण्डी चेकिङ् सम्पन्न गरि पहिलो दिन बसेकै लुम्बिनी हाेटेलमा करिव ११:३० बजे हामी चढेको गाडी भित्रियाे । व्यवस्थापन टाेली खाना पकाउने तरखरमा लाग्यो, हामी सामान बाेकेर आआफ्नो काेठामा पस्याैं । खाना खाएपछि काेही सुनाैली बजारमा खरिदारीका लागि निस्किए भने काेही काेठामै आराम गर्न लागे ।

भ्रमणको अन्तिम दिन मंसिर २२ गते, देवघाटमा स्नान गरि खाना खाने तय भए अनुसार चियापान सकेर बिहान ४ बजे हामी देवघाट तर्फ प्रस्थान गर्‍यौं । बाटाेमा चिया र शाैचका लागि केहीबेर राेकिएर १० बजे १०:०० देवघाट पुगियो । खाना पाक्दै गर्दा हामी डुंगा चढेर पारि गई स्नानादि सकेर फर्कियाैं । 

प्रयागे शतवारञ्च कुरुक्षेत्रेऽथ नैमिषे।

कृष्णानद्यां सकृत् स्नात्वा तस्य पुण्यफलं समम् ।


शालिग्राम गर्भमा लिएर बग्ने कालीगण्डकी र त्रिशुली नदीको संगम स्थलमा पर्ने देवघाट धामलाई हिन्दू धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल मानिने प्रयागहरुमध्येको आदिप्रयाग पनि भनिन्छ । यहाँ परापूर्वकालमा देवताहरुको बसोवास रहेकाले यस क्षेत्रको नाम देवघाट रहन गएको हो भनि धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । चारधाम तीर्थयात्रा सकेर आएपछि यस तीर्थमा स्नान् गरिएको छैन भने तीर्थफल प्राप्त नहुने शास्त्रीय मत पनि छ । अन्यत्र तीर्थ जान नसके यस तीर्थमा मात्र स्नान गरेपनि चारधाम तीर्थ गए बराबरको पूण्य प्राप्त हुन्छ भनि बिभिन्न पुराण शास्त्रमा उल्लेख गरिएको भेटिन्छ । साँच्चै नै, पवित्र तीर्थस्थल देवघाटधाममा बेग्लै अलौकिक शक्ति छ । त्यसैले त यहाँ जति पटक आएपनि कहिल्यै धीत मर्दैन ।

हामी फर्कंदा खाना तैयार भइसकेको थियोे । भीमभाइले पकाएको यसपटकको यात्राको अन्तिम खाना स्वाद मानेर खायौं । खाना पश्चात् प्रस्थान गर्नु अघि सदा झैँ चालक र सहयोगीहरुलाई खादा र केही रकम सहित सम्मान गर्‍यौं । यसैगरी यात्राकाे सफल व्यवस्थापनका लागि माेहनदाइलाई पनि धन्यवाद दियाैं । 


दिनको १२:१५ मा हाम्राे गाडी देवघाटबाट काठमाडौंतर्फ हिंड्याे । नाैविसे पुगेर चियापान भयाे । उसै त सडककाे हालत खराब त्यसैमाथि सवारी जामकाे अवस्था थियोे । कलंकी, बल्खु, धाेविधाट, सातदोबाटो र गाैशालामा यात्रु र सामान झार्दै राति ७:३० बजे कुमारीगाल पुगेर १३ दिने यात्राकाे बिट मारियो । 

===========

यात्रा अवधि : 

२०८१।०८।१० देखि २२ सम्म, १३ दिन ।

भ्रमण टाेली:

सरस्वती रिसाल, परमेश्वरी पाैडेल, लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, दीर्घलक्ष्मी त्रिपाठी, बसन्त पाण्डे, सरिता पाण्डे, गीता बिष्ट, अञ्जन कट्टेल, मीना कट्टेल, विमला बस्नेत, कमला गाैतम, कल्पना मिश्र, मुरारीराज मिश्र

राजु बस्नेत, रमिता बस्नेत, भीमसेन थापा क्षेत्री, मायादेवी थापा, सीतादेवी रानाभाट, मानकुमारी रानाभाट, थीरकुमारी थापा, कृष्ण श्रेष्ठ, रत्नलाल श्रेष्ठ, श्रीया श्रेष्ठ, राममणि भट्टराई र मञ्जु भट्टराई 

व्यवस्थापन टाेली :

व्यवस्थापक माेहनप्रसाद अधिकारी, चालक अरुण पाैडेल, सहयोगी भीम थापा तथा देवराज बुढाथोकी













Comments

  1. सटीक रुपमा व्यक्त भएको यात्राबृत्तान्त राम्रो लाग्यो।पछि जानेहरुको लागि पनि शिक्षा मुलक देखियो।धन्यवाद ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …