लघुकथा: मञ्चासिन ✔️
✍️ मुरारीराज मिश्र
"कार्यक्रम सकिएछ कि क्या हाे ?"
स्कुटर पार्क गर्दै गर्दा, साहित्यकार मित्रद्वयलाई कार्यक्रम स्थलबाट निस्कँदै गरेको देखेर उसले मनमनै साेच्याे ।
आज उसको साथीकाे पुस्तक विमाेचन थियोे यहाँ । जसरी भएपनि आइज है भनेको थियोे साथीले उसलाई । कार्यक्रम ढिलै हाेला भन्ने साेचेर उ आउँदा, निर्धारित समयभन्दा झण्डै एकघण्टा बितिसकेको थियोे अहिले ।
फटाफट स्कुटर पार्क गरेर उसले मित्रद्वय नजिकै पुगेर साेध्याे "तिमीहरू फर्कियाै त, के कार्यक्रम सकियो ?"
दुबैले अमिलो मुख पारे । एउटा साथीले जवाफ दियो "सकिएको छैन, कार्यक्रम भर्खरै सुरु भयाे ।"
"अनि किन हिँडेको त !" उसले प्रतिप्रश्न गर्यो ।
"वक्ता धेरै श्राेता कम भएका कारण कार्यक्रम लम्बिने डरले ।" जवाफ आयो ।
"अर्थात् ...!" उसले नबुझेको भावले साथीकाे मुखमा हेर्यो ।
"उपस्थित एकाउन्न जनामध्ये सबैजसाे मञ्चासिन । दर्शकदीर्घामा हामी पाँचजना मात्र बाँकी भयौं, त्यसैले बस्न मन लागेन ।" साथीले जवाफ फर्कायाे ।
~~~~~
संसार न्यूजमा प्रकाशित
Comments
Post a Comment