भाग्यले ठगेको ताल लेक सुपेरियर निहार्न पुग्दा ….

 नियात्रा :

                  ✍️ मुरारीराज मिश्र

लगभग हरेक मिनेटकाे अन्तराल जस्ताेमा देखिने सानाठूला तालहरूलाई पछाडि छाेड्दै प्रतिघन्टा ७०-८० माइलकाे रफ्तारले हाइवेमा वेताेडले कुदिरहेकाे थियोे, हामी चढेको गाडी । 

हामी अर्थात् पत्नी कल्पना, छाेरी डा. सम्पदा, छाेरा इ. काैशल र ज्वाईं डा. टेलर ज्याकाेव सुलेरुड अनि म समेत पाँचजना । छाेरी गाडी चलाउँदै थिइन्, ज्वाईं अगाडिको सिटमा हुनुहुन्थ्यो भने हामी आमाबाबु र छाेरा पछिल्लो सिटमा थियौं । 

हाम्रो भ्रमणको उद्देश्य विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर (Lake Superior) काे अवलोकन र डुलुथ शहरमा बस्ने सम्धी सम्धिनीकाे निमन्त्रणामा वहाँहरूसंग भेटघाट थियोे । 

काठमाडौंबाट ३ वटा प्लेनकाे झण्डै २४ घण्टाकाे उडानपछि ३ अक्टोबर २०२४ काे राति, श्रीमतीजी र म पारिवारिक भेटघाटको क्रममा छाेरी सम्पदाकाे कर्मथलाे अमेरिकी राज्य मिनिसोटा आइपुगेका थियौं । छाेरा काैशल पनि एक महिनाकाे बिदा मिलाएर बेलायतबाट यतै आएको थियोे । यसै मेसाेमा छाेरी-ज्वाईं मिलेर हामीले घुम्ने ठाउँकाे रूपमा छनाैट गरेका ठाउँमध्येकाे एक स्थान लेक सुपेरियरमा जाने साइत, हामी यता आएको १३ दिनपछि १६ अक्टोबर २०२४ मा जुरेकाे थियो ।

मिनिसाेटालाई तालै तालकाे राज्य भनिंदाे रहेछ । यहाँ सानाठूला गरेेर दसहजार भन्दा बढी स्व-निर्मित तालहरू रहेछन् । प्राकृतिक सौन्दर्यको लागि प्रसिद्ध मिनिसाेटा संसारकाे चाैथाे ठूलो नदी मिसिसिपीकाे उद्‌गम स्थल पनि हाे । 

बिहानको खाना खाएर हामी घरबाट निस्कियाैं । मिनिसाेटाकाे राजधानी सेन्ट पाओलकाे ब्यस्त शहर मिनियापोलिसबाट केही बेरकाे यात्रा पछि हामी शहरभन्दा बाहिरकाे तीब्र गतिको हाइवेमा प्रवेश गर्‍यौं । हाइवेका दुबैतिर हरिया रुखहरु र तीनका बिच-बिचमा राता पात भएका रुखले गर्दा बाताबरण लाेभलाग्दाे थियाे । यतातिरका जग्गामा मकै खेती मात्रै हुनेरहेछ । अहिले मकै टिपिसकेकाले बारीमा जताततै मकैका ढाेड र कतै ढाेडलाई मेसिनको सहायताले पेलेर गाेलाे पाङ्ग्राजस्ताे बनाएर राखेका दृश्य देखिन्थे । ठाउँ ठाउँमा हावाबाट बिजुली उत्पादन गर्ने पंखा (विन्ड मिल) घुमिरहेका थिए । सररर चलिरहेको चिसो हावाका कारण बाहिरी बाताबरण भने चिसाे थियोे ।

समथर बाटो र लेन अनुशासनले गर्दा अत्याधिक  स्पीडमा पनि सवारीसाधन व्यवस्थितरूपमा चलिरहेका थिए । हर्न बजाएकाे कतै सुनिँदैन थियोे । भ्रमण अवधिभर यताका ट्राफिक प्रहरी कस्ता हुन्छन् भनी हेर्न समेत पाइएन । काठमाडौंमा सवारीका कर्कस हर्न सुन्दै र ट्राफिक प्रहरीकाे उपस्थितिकाे बाबजुद अनियन्त्रित र अव्यवस्थित ट्राफिक व्यवस्थापन देख्दै आएको मलाई, यता भने हर्न बजाएकाे पटक्कै नसुन्दा र कतैपनि ट्राफिक प्रहरी नहुँदा पनि संयमित र नियन्त्रित रूपमा चलेको यातायात व्यवस्थापन प्रणाली देख्दा मलाई कस्तो-कस्तो लाग्याे । सबैले इमानदारीपूर्वक नियम पालना गर्ने हाे भने सबै समस्या स्वत समाधान हुने रहेछन् नि भन्ने बिचार पनि मनमा खेले ।

बाटोमा मानिस हिडेकाे देख्न शहरी क्षेत्रमा समेत मुस्किल हुने यहाँ, हाइवेमा त झन् मानिस हिडेकाे देख्नु स्यालकाे सिङ भेटेझैं हुने नै भयो । बाटोका दुबै तर्फ करिव प्रत्येक एकघण्टाकाे दुरिमा पिउने पानी, शाैचालय, आराम कक्ष र पेय पदार्थ तथा खाजा स्वचालितरुपमा किन्न मिल्ने फराकिलो क्षेत्रफलमा बनेको सफा र सुविधा सम्पन्न रेष्ट एरिया बनाइएका रहेछन् । सवारी चालक फ्रेस हुँदै राेकिंदै यात्रा गरून् र दुर्घटना नहाेस् भन्ने कुरालाई ध्यानमा राखेर यस्ता रेष्ट एरियाहरु स्थानीय निकायबाट बनाएर सञ्चालन गरिएकाे रहेछ । 

याे देखेर, काठमाडौ बाहिर यात्रा गर्दा बाटोमा शाैच लाग्दा झाडी वा कुनाकाप्चामा जानुकाे विकल्प नभेटेकाे मलाई अचम्म लाग्याे । देश संघियताका गएको र ३ तहकाे सरकार माैजूद रहेको अवस्थामा आफ्नो क्षेत्रमा आउनेजाने  यात्रुकाे सुविधाको लागि कम्तीमा पनि ठाउँ ठाउँमा व्यवस्थित शाैचालय र पिउने पानीको व्यवस्था त स्थानीय निकायले गर्न सक्नुपर्ने नै हाे कुराहरु साेचाइमा आए । फेरि, आफ्नै सुविधाकाे लागि मरिहत्ते गर्ने हाम्रा जनप्रतिनिधिकाे दिमागमा यस्तो जनसुविधाकाे कुरा के आउँथ्यो हाेला र ! भन्ने साेचाइ आएपछि मन अमिलाे भयाे ।  

गाडी भित्र छाेरा, छाेरी र ज्वाईं आफ्नै तालमा गफिंदै थिए । हामी बुढाबुढी भने दुई बेग्लाबेग्लै देशमा रहेका छाेेेराछाेरी सहित विदेशी भूमिमा यसरी एकैपल्ट सपरिवार यात्रा गर्ने अकल्पनीय माैका जुरेकाेमा मनमनै पशुपतिनाथलाई धन्यवाद दिँदै थियौं ।

विश्राम सहित करिव ३ घण्टाकाे यात्रा पछि छाेरीले मिनिसाेटाकाे डुलुथ स्थित र्‍याडिसन हाेटेलकाे “हार्वर भ्यू ३६०” रेष्टुरेन्ट पुर्‍याइन् । गाडी पार्किङमा राखेर हामी लिफ्टबाट रेष्टुरेन्टकाे सबैभन्दा माथिल्लो तल्लामा गयौं । याे घुम्ने रेष्टुरेन्ट रहेछ । एक ठाउँमा बसेपछि थाहै नपाउने गरि ३६० डिग्री घुमेर चारैतिरकाे दृष्य देख्न सकिने । यहाँबाट हेर्दा जताततै लमतन्न परेको लेक सुपेरियर ताल मात्रै देखिन्थ्योे । गाढा नीलाे पानीयुक्त, विशाल र सिमाना विहीन ताल ! 

यता आउने अघिल्लो दिन टेक्सास राज्यमा रहेका भाइ प्रदीप अर्यालसंगकाे फाेनवार्तामा लेक सुपेरियरकाे कुरा चल्दा उनले “ दादा, लेक सुपेरियर त नामले मात्रै ताल हाे, याे यति ठूलो छ कि वास्तवमा यसलाई ताल हैन समुन्द्र नै भन्नुपर्छ” भनेका थिए । झन् आफ्नै आँखाले देखेपछि त प्रदीपभाइको कुरामा लालमाेहर लगाउन करै लाग्याे मलाई । उसैपनि भूपरिवेष्टित देशकाे वासिन्दा भएकोले यत्रो ठूलाे ताल देख्दा समुन्द्रकाे आभाष भयो मलाई । मन राेमाञ्चित भयो ।

म एकटकले नीलो विशालकाय ताल निहार्न थालें । भाग्यले मानिसलाई ठगेको भन्ने कुरा त सुनिदै आएकाे हाे तर भाग्यले प्रकृति र स्थानलाई पनि ठग्दाे रहेछ भन्ने कुरा यहाँ आएपछि देखियो ! यदि यसाे नहुँदाे हाे त, समुद्र हुन चाहिने सबै गुण भएतापनि यसको पहिचान तालकाे रुपमा मात्रै सिमित हुँँदैनथ्याे हाेला शायद ! 

“हैन बाबा, ताल यहाँबाट मात्रै हेर्ने कि त्यसलाई छुन पनि जाने ?” छाेरी सम्पदाको प्रश्नले मलाई यथार्थकाे धरातलमा ल्याइ पुर्‍यायाे । म बाहेक सबैले खाजा खाइसकेछन् । मैले पनि हतारहतार खाएँ । बिल भुक्तानी गरेर हामी ओर्लयाैं । यहाँबाट ताल नजिकै पर्ने भएकालेे गाडीलाई पार्किङमै छाेडेर लेक सुपेरियर छुन पैदलै अघि बढ्यौं । करिव ५-७ मिनेटकाे दुरिमा हामीले तालकाे नीलाे पानी छाेएर, समुन्द्रकाे उपाधि पाउन नसकेको याे तालकाे मनभित्र गुम्सिएकाे पीडा र चिसाेपनकाे राम्रैसँग अनुभूत गर्‍यौं । 

क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल लेक सुपेरियर क्यानाडाको ओन्टारियो सम्म फैलिएको र समुद्रजस्तै विशाल छ । यसकाे आकार १ लाख २८ हजार वर्ग किलोमिटर रहेको छ । समुद्र सतहभन्दा माथि रहेकाे एउटै कारणले मात्र यसलाई ताल भनिएको रहेछ ! याे तालको उत्तरमा क्यानाडा र अमेरिकाको मिनिसोटा तथा दक्षिणमा विस्कान्सिन र मिचिगन राज्य पर्दछन् । याे एक हिमनदी हाे । यसले विश्वको सतहको ताजा पानीको १०% ओगटेको छ । यसको नीलो पानी र बलौटे किनाराहरूले समुद्र बिर्साउँछन् ।

केही बेर हामीले लेक सुपेरियरसंग बितायाैं । तस्बिर खिच्याैं । तालमा रमाउँदै पाैडिरहेका बकुल्ला प्रजातिका चराका बथानका गतिविधि निहार्‍याैं । तैरिंदै गन्तव्यतिर जानलागेका जहाज हेर्‍यों । जति हेरेपनि आँखा र मनलाई दृश्यकाे रसास्वादन गर्न पुगेकाे थिएन । तर, सम्धी लियाेन सुलेरुड हामीलाई कुरिरहनु भएकोले फर्कनुपर्ने बाध्यता थियोे । मनले नमान्दा नमान्दै लेक सुपेरियरलाई बाइबाइ गर्‍यौं । 

त्यहाँबाट फर्केर सम्धी लियाेनकाे घर गयाैं । उहाँले हार्दिकताका साथ स्वागत गर्नुभयो । लेक सुपेरियरभन्दा अलिक हाइटमा रहेको उहाँको घरबाट फेरि पनि नीलाे ताल निहार्ने माैका मिल्याे हामीलाई । मनभरी लेक सुपेरियरकाे साैन्दर्य र आफन्तजनकाे न्यानाे आतिथ्यता संगाल्दै माैका मिले फेरि पनि भेट्ने बाचा गरेर, डुलुथबाट हामी आफ्नो बासस्थान रहेको मिनियापोलिस ग्लेसन लेक राेड तर्फ हुँइकियाैं ।

email : mrmishra@live.com

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …