लघुकथा: कट्टरता
✍️ मुरारीराज मिश्र,
“पख्नुस् ! तपाईंलाई मन्दिरभित्र जान दिन मिल्दैन ।” ढाेकामा सुरक्षार्थ खटिएको प्रहरीले विदेशीमूलकी जस्ती देखिने एक महिलालाई राेक्दै भने ।
प्रहरीकाे कुरा सुनेर मन्दिरकाे ढाेकाबाट भित्र पसिसकेकी एक महिलाले फर्केर प्रहरीलाई भनिन् “किन नमिल्ने ? उनी मेरी बुहारी हुन् ।”
“उहाँ विदेशीमूलकाे ब्यक्ति भएको र मन्दिरमा हिन्दू धर्मावलम्बीले मात्रै प्रवेश पाउने भएकोले जान मिल्दैन” प्रहरीबाट जवाफ आयो ।
“तीन बर्ष पहिले उनी मेराे छाेरासंग जापानबाट आएकी हुन् । नेपाली हिन्दू परम्परा अनुसार बिहे भएपछि उनी नेपालमा हामीसँगै बस्दै आएकी छिन् । हामीले गर्दै आएको हरेक ब्रत, तीर्थ र कर्म गर्छिन् । छाेराले गर्ने मेरा दिवंगत पतिकाे श्राद्धमा पिण्ड पकाउँछिन् । यसरी हिन्दू धर्म परम्परा पूर्णरूपमा अपनाएपछि पनि मन्दिर जान नमिल्ने भन्ने हुन्छ र !” ती महिलाले बताइन् ।
याे घटना नियालिरहेका एक बृद्धले अघि सरेर प्रहरीलाई भने “बाबु ! हामीले जानी नजानी गर्ने यस्तै क्रियाकलापबाट धर्म व्यर्थै बदनाम हुन्छ । धर्म अपनाएपछि त उनले पनि मन्दिरमा जान पाउनुपर्यो नि ! नराेक्नुस् । समानता हुनुपर्ने मन्दिरमा यस्तो पक्षपात गरिन्छ भने समानता खाेज्न कहाँ जाने ?”
संगै आएका अरू महिलाहरूले पनि हातमा पूजा सामाग्री बाेकेकी उनलाई भित्र जान दिन अनुरोध गरे, तर प्रहरी र मन्दिरका हर्ताकर्ताहरू आफ्नो कुराबाट टसमस भएनन् । सबैकाे तर्क र आग्रह उनीहरूका अगाडि `बगरेका सामु बाेकाकाे रुवाइ´ जस्तै भयो !
आखिरमा केही नलागेपछि, “धर्म अपनाएर तदनुरुप आचरण गरिसकेपछि पनि मानिसको छालाको रंग र अनुहारको बनावट हेरेर व्यवहार गर्ने यस्तो ठाउँमा हामीलाई पनि जानु छैन” भन्दै उनीसगैं आएका अरू सबैजना महिला लाइनबाट निस्किए ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
उद्यान त्रैमासिक २०८१ चैत अङ्कमा प्रकाशित
Comments
Post a Comment