लघुकथा: पर्स ✔️
✍️ मुरारीराज मिश्र
“मैले भनेको सामान आज पनि ल्याउनु भएन है तपाईंले ?” बिहानी भ्रमणबाट फर्केका पतिको हात खाली देखेर पत्नीले भनिन् ।
“हत्तेरीका ! साथीहरूसंग गफ गर्दै आएकाे थिएँ, त्यै धुनमा भुसुक्कै बिर्सेछु, भाेलि चाहिँ पक्कै सम्झेर ल्याउँछु है !” पतिले आश्वासन दिए ।
“पहिले-पहिले त बाेली मुखबाट भूइंमा खस्न नपाउँदै सामान आइपुग्थ्याे घरमा, अहिले भने हजार पटक भनेको भन्यै गर्दा पनि अत्तोपत्तो हुन्न । खै, कति भुलक्कड भएको हाे हँ याे मान्छे पनि !” पत्नी भुत्भुताउँदै भान्सामा पसिन् ।
भरेङ ओर्लदैं गरेकाे छाेराे आमाबाबुको कुरा सुनेर राेकियाे । केही साेचेर माथि उक्लियाे । बाथरुम छिरेको बाबुकाे खल्ती छामछुम पार्यो । उनको पर्स खाेल्याे अनि मनमनै हाँस्दै हतारहतार निस्कियाे ।
“भाेलि सामान ल्याउँछु त भनेको छु उनलाई !” यही कुरा मनमा खेलाउँदै पति काेठामा छिरे । उनले पर्स छामे, केही फरकपन महसूस भयाे । खाेलेर हेरे, पर्सभित्रकाे अवस्था देखेपछि अचम्म मान्दै भान्सामा पुगेर पत्नीलाई साेधे “मेरो पर्स तिमिले खाेलेकी थियौ ?”
“के भन्नुहुन्छ ! म किन खाेल्थें र तपाईंको पर्स ?” पत्नीबाट प्रत्युत्तर आयो ।
“उसाे भए, पर्सभित्र रहेका बीस-पचासका नाेटमा, अहिले हजार-हजारका यतिका नाेटहरू कहाँबाट थपिए त !!” उसले पत्नीको मुख हेर्दै भन्याे ।
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं
संसारन्यूजमा प्रकाशित / २०८२-०१-१३ मा
Comments
Post a Comment