यात्रा संस्मरण : विकास पर्खिरहेको पाँचपाेखरी

   ✍️ मुरारीराज मिश्र

भ्रमण केवल एक कर्मकाण्डीय घुमाइ मात्र होइन, अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भाैतिक समृद्धिको अनुभव समेत हो । 

भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै  स्थानीय बाताबरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको वास्तविकता, स्थानीय जीवनशैलीकाे अविस्मरणीय अनुभव संगाल्न पनि मद्दत गर्दछ । भ्रमणलाई जीवन जगत बुझ्ने उपयुक्त पाठशाला पनि मान्न सकिन्छ ।

पाँचपाेखरीकाे बिहान सबेरैकाे दृश्य 

करिव तीनहप्ता अघि दाेलखास्थित शैलुङ्काे दुईदिने यात्राबाट फर्के लगत्तै पाँचपोखरीकाे यात्रामा जाने निधाे गरेका भएतापनि हाम्रो भ्रमणको टुंगो भने पाँचदिन अघिमात्रै लागेको थियो । नारायणटार, शिवचाेकमा रहेको आमा याङ्ग्री ह्योल्मो यातायातकाे टिकट काउण्टरबाट सिन्धुपाल्चोककाे भाेताङ, छिम्तीसम्मकाे बस टिकट बुक गरेर हामी भ्रमणको तैयारीमा लाग्यौं ।

निर्धारित मिति २०८२ जेठ १४ गतेकाे बिहान ६ बजे लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, कल्पना मिश्र र याे पंक्तिकार कुमारीगालबाट टैक्सी लिएर नारायणटार बसपार्क पुग्यौं । गीता बिष्ट हामीभन्दा अगाडि नै पुगिसक्नु भएको रहेछ । लगत्तै विमला बस्नेत, श्रीकृष्ण पाैडेल, अम्बिका पाैडेल र भैरवी पाैडेल तथा रमेशप्रसाद लामिछाने, पद्मा लामिछाने, रहिमा लामिछाने र श्रद्धा अर्याल बेग्लाबेग्लै टैक्सीमा आइपुग्नुभयाे । केही बेरमै सरिता पाण्डे चढेको पठाओ पनि मैतीदेवीबाट बसपार्क आइपुग्यो ।

भ्रमण टाेली

काठमाडौंको भीडभाडबाट बाहिर निस्केर, गाडीमा चढ्दा मनमा एक किसिमको शान्ति र काैतुहलता मिश्रित उत्साह थियो । बसमा उभिएर यात्रा गर्नेहरू पनि निकै थिए । यात्रुका पाेका पन्तराले बसकाे प्यासेज टनाटन देखिन्थ्यो । मौसम सफा भएतापनि बिहानको समय भएकाले बाताबरण भने केही चिसो नै थियो ।

ताेकिएकाे समय ०६:२० मा साँखु, नाङ्लेभारे, मेलम्ची हुँदै हाम्रो यात्रा अघि बढ्याे । बिहानकाे समय भएर हाेला सवारीसाधनकाे सडकमा खासै चाप थिएन । मेलम्ची पुगेपछि विगतमा बाढी पहिरोले मच्चाएको वितण्डाकाे अवशेष जताततै देखिए । याे दृश्य देख्दा प्रकृतिको सामु मानिस कति निरीह हुँदाे रहेछ भन्ने महसुस भयाे । हुन त, जथाभावी प्राकृतिक दाेहन र अव्यवस्थित निर्माण पनि यस विनाशलीलाकाे कारण थिए भन्ने पनि प्रष्ट देखिन्थ्याे । 

बसबाट बाटोका दुबैतर्फ देखिने हरियाली, पहाड, खुला आकाश लगायतका रमणीय दृश्यले मनलाई आनन्दित पार्न थाल्यो । मेलम्ची कटेर अघि गएपछि बाटो साँघुरो र कच्ची थियोे । दुइटा गाडी मुस्किलले पार हुन्थे । कच्ची बाटोमा खड्याङमड्याङ गर्दै गाडी गुड्दै थियोे । सम्म परेकाे खुला भूभागमा बाटो बनाउँदा पनि सुरुमै अलिक चाैडा किन नबनाएकाे हाेला भन्ने कुरा मनमा आए । एक्सप्रेस बससेवा भनिएको भएतापनि जताततै राेकेर मानिस चढाइन्थ्याे । ग्रामीण इलाका प्रवेश गरेपछि त झन् प्रत्येक घरघरमा जस्तो मानिस चढाउने र सामान उतार्दै बिहान साँढे एघार बजे बसले हामीलाई छिम्ती पुर्‍यायाे ।

बस चढे लगत्तै सहचालक मार्फत फाेन गरेर छिम्तीकाे भीम अर्जुन हाेटेलमा खानाको अर्डर गरेका थियौं हामीले । त्यसैले पुगेपछि खानाको लागि धेरै बेर कुर्नु परेन । खाना खाएर एकैछिनकाे विश्राम र हाेटेल सञ्चालक भीम तामाङबाट यात्रा अघि बढाउन आवश्यक थप जानकारी बटुलेर दिउसो एक बजे हामीले पाँचपाेखरीकाे पैदलयात्रा सुरु गर्‍यौं ।

यात्राकाे क्रममा बाटोमा देखिएको झरना

छिम्तीबाट हिडे लगत्तै देखिएको झरनाले काठमाडौंमा पानीको अभावले काकाकुलकाे नियति भाेगिरहेका हामीलाई नराम्ररी लाेभ्यायाे । नजिकैको  लामो झाेलुङ्गे पुल पार गरि देउरालीतर्फकाे उकालो चढ्दै गर्दा बाटाेका दुबैतर्फ फुलेका लालीगुराँसका बाेटहरूले हाम्रो स्वागत गरिरहेकाे भान भयो । चुत्राे र ऐसेलुका बाेटमा लाेभलाग्दाे गरि फल लागेका भएतापनि भीरमा रहेका कारण हाम्रालागि ती आकाशको फलसरी थिए । ढाडमा झाेली तुम्वा बाेकेर सूर्यनारायणकाे रापतापकाे पर्वाह नगरी लक्ष भेट्न अघि बढेको हाम्रो टाेली झण्डै अढाई घण्टा उकालो चढेर देउराली पुग्यो ।

यता खासै बस्ती देखिएन । मुस्किलले ५-७ वटा घर थिए । खाना र बासका लागि हाेमस्टे टाइपका केही हाेटेल बनेका रहेछन् यहाँ । बाेतलमा पानी भरेर हामी बढ्दै गयौं । एकैछिन अघिसम्म प्रचण्ड गर्मीएकाे माैसम, आकाशमा कालो बादल मडारिन थाले संगै शीतल हुँदै थियो । केही अगाडि मात्रै पुगेका के थियौं पानी दर्किन थाल्यो । हिड्नुकाे विकल्प थिएन हामीसँग, त्यसैले रेनकाेट भिरेर यात्रा जारी राख्यौं । बाटोमा थाेरै यात्रु, भारी बाेकेका मान्छे, केही चाैरी र खच्चर देखिन्थे । 

भारी बाेकेका चाैरीगाई

पानी अलि मत्थर हुँदा दुखाङचाैर भन्ने ठाउँमा चियापानकाे लागि राेकियाैं । माईली तामाङ बहिनीले बनाएकाे मसालेदार कालाे चियाले शरीरमा स्फुर्ति बढाएको महसुस भयाे । बाटोमा विविध वनस्पति र जडिबुटीयुक्त हरियाली नियाल्दै टुप्पी डाँडा पुग्दा भने पानी राेकिइ सकेकाे थियोे । अगाडिको बाटो केही छाेट्याउने सल्लाह बमोजिम  टुप्पी डाँडाबाट हिडेका हामी साँझ ६:३० मा टुप्पी डाँडाभन्दा आधाघण्टा दुरि अगाडि २८७८ मिटर उचाइमा रहेको ताँगु खर्क पुग्यौं । साँझ पर्ने तरखरमा रहेकोले यहीँकाे ताँगु खर्क यारु हाेटेलमा राति बास बस्ने निधाे गरियाे । 

खर्क खुल्ला ठाउँमा रहेकाे थियोे ।  अचम्म लाग्यो राजधानीसंग जाेडिएकाे जिल्ला भएर पनि यहाँ बिजुली बत्तीकाे सुविधा रहेनछ ! टुप्पी डाँडासम्म जेनतेन लागेको माेवाइल नेटवर्क पनि यहाँ आएपछि चकमन्न भयो । खानाको समयमा जेनेरेटरबाट २ घण्टा बत्ती बालिने रहेछ, त्यै बेला माेवाइल चार्ज गरियो । नत्र फाेटाे खिच्न पनि नपाइने अवस्था ! देशमा यति विकास गर्‍यौं, उति विकास गर्‍यौं भनेर खाेक्ने नेताहरूकाे विकासे धाेती खुस्केकाे यहाँ प्रत्यक्ष देखियो । 

पर्यटन प्रवर्द्धनकाे माध्यमबाट देशको कायापलट गर्नुपर्ने बेलामा बिजुलीजस्तो आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने राज्यसंयन्त्र देखेर दिक्क लाग्याे । स्थानीयकाे भनाइ अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकाे अवरोधका कारण यस क्षेत्रमा बिजुली बत्ती आउन नसकेको रहेछ ! 

ताँगु खर्कबाट बिहान देखिएका हिमश्रृङ्खला

बसाइ भने ताताे न्यानो नै थियो । खानलाई मूलबाट पानी ल्याउने र अन्य प्रयाेजनमा आकाशे पानी संकलन गरिने भएकाले पानी र शाैचालयकाे थाेरै असुविधा भाेगियाे । “चिसो लाग्ला है तातोपानी खानुस्” भन्ने हाेटेल सञ्चालककाे स्नेहपूर्ण भनाइले भने आफ्नोपनकाे अनुभूति गराउँथ्याे । रातिको खाना र बसाइकाे दर प्रतिव्यक्ति रू. ६००।- रहेछ ।  यही रकममा एक-एक कप चाैरीगाईकाे दुध पनि खान पाइयो । दुर्गम स्थानकाे बसाइ र खाना खर्च हामीलाई  सस्तो लाग्यो । कालो चिया भने कपको ३०।- पर्ने रहेछ ।

रातभरि परेको मुसलधारे पानी बिहानीपख राेकिएपछि माैसम खुलेको थियोे । बाहिर निस्केर हेर्दा आँखै अगाडि हिमाल ठाेक्कियाे । वरिपरिका अनुपम प्राकृतिक सौन्दर्य, जुगल हिमशृंखला, आमायाङ्ग्री, दोर्जे लाक्पा र गन्छेपो हिमाल तथा तलतिर डाँडाहरूको हरियाली मनोरम दृश्यले मनमा नसाेचेकाे खुशी दिलायाे । 

गन्तव्य टाढै भएकोले कालोचिया र सातु खाएर बिहान ६ बजे हामीले त्यहाँबाट प्रस्थान गर्‍यौं । घना जङ्गल बिचकाे साँघुरो भिरालो बाटोमा पाइलैपिच्छे भेटिने जुगाकाे आक्रमण झेल्दै झाेलुङ्गेपुल तरेर रातामाटे पुग्यौं । घामकाे पहुँच नपुगेकाले बाटोमा केही चिसाे अनुभव गरियो । करिव ११ बजे नाेस्याम पाटीमा खानाको लागि राेकियाैं । यहाँ अर्डर गरेपछि मात्रै खाना पकाइने रहेछ । खानाको प्रतिक्षामा रहँदा थकान भने केही कम भयो । यहाँ एकछाक खानाको प्रतिव्यक्ति ५००।- पर्ने रहेछ ।


सूर्य कुण्ड 

खाना खाएर १ बजे नाेस्याम पाटीबाट पाँचपाेखरी तर्फ लाग्यौं । अगाडिको बाटो झन् अनकण्टार थियो । नाङ्गा ढुङ्गे डाँडा, पहरा काटेर बनाइएको साँघुरो उकालो ओरालो, तलतिर हेर्दा आङ् सिरिङ्ग हुने जाेखिमयुक्त बाटोमा हाम्रो पाइला बढ्दै गयाे । कतै पसल थिएन । मूलकाे पानी पनि नपाइने अत्यासलाग्दाे अवस्था थियोे । 

बाटोमा भेटिने पाँचपाेखरीबाट फर्केका यात्रुहरू संग अगाडिको जानकारी लिंदै अगाडि लागेका हामीलाई माैसमले भने गजबको साथ दिएको थियो । अन्ततः  लाैरीविनाकाे उकालो भनिने १६४ वटा  नाक ठाेक्किने ठाडो सिंढीहरू र अपठ्यारा बाटाहरू पार गर्दै साँझ ५:३० मा पाँचपाेखरी पुगियो । पुग्नेबित्तिकै यहाँको पाँचपाेखरी हाेटेलमा काेठा बुक गरेर मन्दिर मुनिबाट निस्केकाे जल कुण्डमा स्नान गरियो । पानी अत्यधिक चिसो थियोे । पाँचपाेखरीमा भने नुहाउन नपाइने रहेछ ।

पाँच पाेखरी

सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक तीर्थस्थल एवम् प्रसिद्ध पर्यटकीय स्थल हो  । समुद्री सतहबाट ४१०० मिटरको उचाइमा रहेको याे स्थान प्राकृतिक सम्पदाले भरिपूर्ण छ । वरिपरि ठूलाठूला चट्टाने पहराले घेरिएको र झट्ट हेर्दा गाेसाइकुण्डकाे झझल्को दिने पाँचपाेखरी ताल हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । सूर्य कुण्ड (सबैभन्दा ठूलो) नाग कुण्ड, गणेश कुण्ड, भैरव कुण्ड र सरस्वती कुण्ड नामक पाँचवटा पोखरीलाई नै पाँचपाेखरी भनिन्छ । याे इन्द्रावती नदीको उद्गमस्थल पनि हो । 

भक्तजनहरू आ-आफ्नो धार्मिक मान्यता, संस्कृति र विश्वासअनुरुप पूजा तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्छन् । यहाँ स्नान र पूजाआजा गर्नाले पापबाट मुक्ति मिल्ने, कामना पूर्ण हुने, सन्तानप्राप्ती हुने र पितृमाेक्ष हुने जनविश्वास रहेको छ । यस स्थानलाई वशिष्ठ ऋषिले तपस्या गरेको तपोभूमिको रुपमा पनि मानिन्छ । वशिष्ठले पाँचपोखरीमा नै ज्ञान र तपोवल हासिल गरेको किम्बदन्ती छ । 

यसैगरी अर्को किम्बदन्ती अनुसार, आजभन्दा २३२५ वर्ष अघि सिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुगेछन् । यस्तो हिउँ पर्ने ठाउँमा धान खेती भइरहेको देखि अचम्म मानी हेर्न जाँदा धान खेती गर्ने सबै अलप भएछन् । यस्ताे दृश्य देखेपछि उनलाई याे पक्कै पनि भगवान महादेवकाे लीला हुनुपर्छ भन्ने लागेछ र आफ्नो सिकारी कुकुरलाई लगाएको घण्टि फुकालेर रोपाई गर्दागर्दै अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्किएछन् । यसै कारण मन्दिर क्षेत्रमा हरेक बर्ष धानको बाला खोज्ने चलन हालसम्म पनि चलि आएको रहेछ । 


पाँच पाेखरीका कुण्डहरू

दशहरा र जनैपूर्णिमा विशेष मेला लाग्ने पाँचपोखरीमा एक जोडी हाँस रहेको र त्यो हाँसलाई भाग्यमानीले मात्र देख्न सक्छन् भन्ने मान्यता पनि जनमानसमा रहेछ । हामीले चाहिँ पाेखरीमा मात्रै हाेइन वरिपरि कतैपनि हाँस देखेनाै !

पाँचपाेखरीमा करिब १३ जनाको हाेटेल रहेछ । तर एकजनाकाे हाेटेलमा ५० जना पुगेपछि मात्रै अर्को हाेटेलवालाकाे पालाे आउने भएकोले हाेटेल छानेर बस्न पाइएन । ६०० जना यात्रु पुगेपछि फेरि  पहिलेको हाेटेलकाे पालाे आउने  पाँचपाेखरी हाेटेलका अर्जुन तामाङले बताए ।

हामी १४ जनाको रात्रि बसाइ एउटा हलमा सामुहिक रुपमा भयो । रातिको बसाइ र खाना खर्च प्रतिव्यक्ति १०००।- तथा चिया कपको ३०।- रहेछ । सबै गरि त्यसदिन लगभग ६०-६५ यात्रु पाँचपाेखरीमा बास बसेका थिए । यात्रुको भीडभाड र शाैचालयकाे सिमितताले भाेलिपल्ट बिहान मुस्किलले नित्यकर्म सम्पन्न गरियो । लगत्तै नजिकैको भ्यूटावरबाट पाँचपाेखरी,  हिमश्रृङ्खला लगायत वरिपरिबाट देखिने दृश्यावलाेकन र तस्बिर खिच्ने काम भयो । मन्दिर दर्शन र चियापान पछि पाँचपाेखरी भनिने सूर्य कुण्ड (सबैभन्दा ठूलो) नाग कुण्ड, गणेश कुण्ड, भैरव कुण्ड र सरस्वती कुण्डकाे ३० मिनेट लगाएर परिक्रमा गरियो ।

बिहान ०७:३० बजे पाँचपाेखरीबाट प्रस्थान गरेका हामीले ११ बजे नाेस्याम पाटी पुगेर खाना अर्डर गर्‍यौं । दिउसो  रातामाटेमा पुगेर चियापान भयाे । फाट्टफुट्ट पानी छिट्याएपनि दिनभर ठूलो पानी परेन । जाँदा झण्डै १२ घण्टा लागेको बाटो फर्कंदा ९ घण्टामा काटियाे । दिउँसो ४:३० मा ताँगु खर्क आइपुग्दा थकाइले लखतरान बनाएको थियोे । मेराे र भैरवी भाउजूको गाेडाकाे नसा सड्किएर दुखाइ बढेका कारण पहिलेकै यारु हाेटेलका बास बस्ने तय भयाे ।

यहाँ बसेकाे एउटा फाइदा भयाे । यातायात व्यवसायीहरूले साेमबारबाट  अनिश्चितकालीन बन्दकाे कार्यक्रम राखेकाले हामीलाई आइतबारसम्म काठमाडौं फर्किसक्नुपर्ने दवाव थियोे । हाम्रो कुरा सुनेपछि हाेटेल साहु यारु तामाङ भाइले टिकटको लागि पहल गर्ने आश्वासन दिए । अन्ततः उनैकाे सम्पर्कबाट शनिबार दिउँसो १ बजेको काठमाडौं जाने बसमा टिकट बुकिङ भयाे ।


यात्राको क्रममा देखिएका दृश्यहरू 

हामी बसेकाे हाेटेलमा साँझपख अर्को ३५ जनाको ग्रुपको आगमन भयाे । रातभरी उनीहरूकाे हल्लाखल्लाले सबैको निन्द्रा डिष्टर्व हुनपुग्याे । यात्रीहरूमा यात्रु अनुशासनकाे अभाव, आफ्नो कारणले अरूलाई असुविधा नहाेस् भन्ने साेचाइकाे कमी भएपछि कस्काे के लाग्छ र ? उनीहरू मदिरापानमा लठ्ठ देखेपछि हामीले पनि अनावश्यक विवाद लम्ब्याउन चाहेनाैं ।

आज पनि रातभर पानी परिरह्याे । बिहान पानी राेकिएपछि चियापान गरेर हाेटेलबाट बिदा लियाैं । यारुभाइले चियाको पैसा लिन मानेनन् । हामी यारुभाइलाई धन्यवाद दिंदै ६ बजे छिम्ती तर्फ हिड्याैं । माैसम खुलेको भएतापनि रातिको पानीले यताको बाटो केही चिप्लो थियोे । ३ घण्टाकाे हिंडाइपछि देउराली पुग्दा  खुट्टाकाे दुखाइ बढेकोले भैरवी भाउजू र म, देउरालीकाे पाँच पाेखरी डाेमा शेर्पा हाेटेलका दोर्जे तामाङभाइको माेटरसाइकलमा लिफ्ट लिएर र अरू हिडेर क्रमशः छिम्ती पुग्यौं । 

छिम्ती पुग्नासाथ रकम तिरेर बसकाे टिकट लियाैं । यारूभाइले अग्रिम बुकिङ नगरिदिएकाे भए टिकट नपाइने अवस्था रहेछ । खाना अर्डर गरेर वरिपरिकाे अवलोकन गरियो । अन्ततः खाना खाएर दिउसो १ बजेकाे बसबाट करिव ६:३० मा घर पुगि ४ दिने अविस्मरणीय यात्राको बिट मारियो ।

धार्मिक तीर्थाटन र साहसिक पदयात्राकाे लागि पनि प्रसिद्ध, उच्च हिमाली क्षेत्रमा पर्ने पाँचपाेखरी यात्रा साेचेजस्ताे सहज भने पक्कै छैन । तर यहाँ पुग्दा प्रकृतिको हरेक पक्षकाे नजिकबाट अनुभव बटुल्न सकिने भएकोले स्वर्गीय आनन्दकाे अनुभूति हुन्छ । यात्राको क्रममा यहाँ बिजुली, फाेन, स्वास्थ्य केन्द्र र प्रहरी चाैकिकाे अभाव खट्कियाे । काठमाडौंबाट खासै टाढा नरहेको याे क्षेत्रकाे समुचित प्रचारप्रसार र सम्बन्धित निकायबाट यात्रा प्याकेज समेतकाे व्यवस्था हुन सके आन्तरिक पर्यटनबाट नै यस क्षेत्रकाे कायापलट हुन सक्ने संभावना भने टड्कारो देखिन्छ ।

अस्तु ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fsahityapost.com%2Fgair-aakhyan%2Fgair-aakhyan-travelog%2F172164%2F&h=AT27Gk61IyFFNuidqAPnCv-we8Kbtx8VxSjvCrrchBu4NlajSlTWweL7D8AuAgbWhf5B1pRa6w3NyMhTUF0rQbhMSaVMXsbD1r5EVew55pEClDQnWBshYDBJrQ0XSEPhijETWxxBraCp7YupgqsiUln9U4Cun19O&__tn__=-UK-R&c[0]=AT0s8TIfF6k903fVXzCKWx9oDzwO4CWoVLRmMywvTLnUQ381_DPFMVVJ2OlRbaa7AZF24JRnhHDQ_xy6Ag-7OznWvbMK2fZk9SGmvItcYPAtnxqHC6RYh7zu2PnBOTKqKnrmNT7M50fSxsIkwHdLqG7KDrbt2gukhUEk9kbjo6x55_jsaQBQTx2bL_HdSWsdV2U

https://www.facebook.com/share/p/1C7wXmbwUp/

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …