लघुकथा : नाटक

              ✍️ मुरारीराज मिश्र,

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)

फेसबुक चलाउँदै गर्दा उनका आँखा समवेदना लेखिएको एउटा तस्बिरमा ठाेक्किए !

मृतककी देवरानीले लेखेको तस्बिर सहितकाे उक्त समवेदना पढदै जाँदा उनका मानसपटलमा अतितका केही दृश्यहरू झल्झली आए ।

तिनै देवरानीले दुई-तीन महिना अघि बाटोमा भेट्दा उनीसंग भनेकी थिइन् “हेर्नुस् त नानी ! याे घाेरमुखी, कर्कसा, दुच्छर र दुर्मुखाले जथाभावी चुक्ली लगाएर मलाई घरमा टिक्नै नदिने भई । याे मरेपछि घाेर नर्कमा पराेस् । कालले पनि किन लाँदैन हाेला खै यसलाई !”

यति मात्र हाेइन, उनीसंग जहाँ भेट्दा पनि हरेक पटक जेठानीकाे बदख्वाईं र बेइज्जत गर्ने गर्थिन् । उनको भनाइलाई आधार मानेर भन्नुपर्दा, याे संसारमा उनको सबैभन्दा ठूलो शत्रु काेही छ भने त्याे उनकाे जेठानी नै थिइन् ।

समवेदना पढेर सिध्याउँदै गर्दा उनी फिस्स हाँसिन् ।लेखिएको थियोे “… मेरो अत्यन्तै प्रीय, मृदुभाषी, सज्जन, सहयोगी र आमा समान मायालु दिदीकाे निधनले मलाई टुहुराेपनाकाे आभाष भएकाे छ…उहाँको बैकुण्ठबास हाेस्…हार्दिक श्रद्धाञ्जली।”

              ~~~~~×××~~~

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …