लघुकथा: नसाेचेकाे कुरा

         ✍️ मुरारीराज मिश्र

"परेको बेलामा यसाे सघाइपघाइ हाेला कि भनेर पाे कामगर्ने मान्छे राखेकाे त, काम पर्दा उसैलाई बिदा दिने हाे भने मान्छे राखेको के फाइदा भयाे ?" कमलाले आफ्नो घरमा काम गर्ने मालतीसँग झर्कंदै भनिन् ।

"के गर्ने दिदी, भएकी एउटी छाेरी मुख हेर्न भनेर आउँछे, फेरि डाँडा माथिकाे घामजस्ती उमेरकी आमालाई पनि भेट्न जानुपर्छ । त्यसैले पाे छिटो जान खाेजेकी मैले ।" मालतीले नम्र भएर जवाफ दिइन् ।

"विवाहपछि पहिलोपटक आमाको मुख हेर्न माइती आएकी छ छाेरी । उसले यसपाली नयाँ ढंगले आमाको मुख हेर्ने पर्व मनाउने तैयारी गरेकी छ । त्यसैले आजको सबै काम नसिध्याई तिमिले घर जान पाउन्नाै है ! जाऊ, गएर भान्साकाे सबै काम सक ।" कमलाले अह्राईन् ।

"धिक्कार छ, कस्ताे कर्म पाएछु मैले ! बरु, याे चाडपर्व पनि धनी र गरीबकाे बेग्लाबेग्लै दिनमा हुने भैदिएकाे भए हामीजस्तालाई कति सुविस्ता हुन्थ्यो !" यिनै कुरा मनभित्र खेलाउँदै मालती भान्सा तर्फ लागिन् ।

"मालती...ए मालती, यहाँ आऊ त !" केही समयपछि बैठक काेठाबाट कमलाकाे बाेलाहट आउँछ ।

"घर जान हतार भैसक्याे, फेरि के काम थपियो... !" धाेतीकाे सप्काेले निधारकाे पसिना पुछ्दै, भुतभुताउँदै मालती बैठकतर्फ लाग्छिन् । तर, ढाेका नजिकै पुग्दा काेठाभित्रकाे दृश्यले उनी चकित पर्छिन् !

काेठाभित्र मालतीकी बृद्धआमा र छाेरी साेफामाथि बसेर कमला र उनकी नवविवाहिता छाेरीसँग गफिंदै थिए । 

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

संसार न्यूजमा पप्रकाशित २०८१-०२-०५ गते ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: