Posts

Showing posts from June 16, 2024

लघुकथा: विडम्बना

          ✍️ मुरारीराज मिश्र, देशमा सबैभन्दा बढी बिक्ने महंगो पत्रिकामा पृष्ठ भरिकाे रंगीन समवेदना छापिएकाे थियो । पत्रिका पढ्दै गरेका रमेशलेे त्याे देखेर साेचे "पचास-साठी हजारभन्दा कममा त पक्कै छापिएन हाेला याे समवेदना !" "हैन, के साेच्दै हुनुहुन्छ मित्र ?" उनका साथीले काेठामा पस्दै साेधे । रमेशले समवेदनाकाे बारेमा आफ्नो मनमा आएको कुरा साथीलाई बताए । "कुन जमानामा हुनुहुन्छ मित्र ? म पनि पत्रिकासंग सम्बन्धित भएकाले जान्दछु कि यस्ताे विज्ञापनकाे पत्रिका अनुसार पच्चीस-तीस लाखसम्म पर्न सक्छ !" "ओहो ! यति रकमले त, दाताको चन्दा र आफ्नो पेन्सनबाट जेनतेन चल्दै आएका हाम्राजस्ता आधा दर्जन बृद्धाश्रम र अनाथालयलाई बर्षभरीकाे रासनपानी पुग्ने रहेछ !" रमेशले सुस्केरा हाल्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

लघुकथा : प्रतिक्रिया

                ✍️ मुरारीराज मिश्र उसले माेवाइल खाेल्ना साथ "संयुक्त राष्ट्र संघले नेपालकाे फलानो नेतालाई विश्व प्रसिद्ध सम्मान दिने घाेषणा गर्‍यो" भन्ने शीर्षकमा अनलाइनमा समाचार देख्यो । उक्त समाचार आएको आधा घण्टाभित्रै दसौं हजारद्वारा सेयर गरिनुका साथै साे समाचारमाथि उत्तिकै संख्यामा प्रतिक्रिया प्रकट भइसकेको रहेछ ! प्रतिक्रियाहरु हेर्दा, नेता र साे पार्टीका पक्षधरबाट साह्रै सकारात्मक र बिपक्षका बाट अति नै नकारात्मक बिचार व्यक्त भएका देखिन्थे । उसलाई ज्यादै खुल्दुली लाग्याे, आखिर नेताले सम्मान पाउनु र यस्ता प्रतिक्रिया आउनुको कारण के रहेछ ! उसले समाचार पढ्न दिइएको लिङ्कमा थिच्याे । "मानिसमा पढ्दै नपढी प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको भन्ने बारेमा अध्ययन गर्न हामीले यस्तो काम गरेका हाैं । याे पूर्णत: गलत समाचार हाे ।" भित्र लेखिएको थियोे ।  * (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)