अक्षयतृतीया र वायुदेवताकाे कुलपूजा
✍️ मुरारीराज मिश्र कुलपूजा एउटा धार्मिक संस्कार हो । मानवले व्यवस्थित बसोबास सुरु गरेपछि आफ्ना पुर्खाहरूले मान्दै आएका देवीदेवतालाई नै कुलदेवता मानेर पूजाआजा गर्दै आएको मान्न सकिन्छ । पहिले व्यक्तिसंग प्रशस्त जग्गा जमिन हुन्थ्यो । त्यही अनुपातमा अन्नपातकाे उब्जनी हुने भएकालेे जीवनयापन सहज थियोे । बिस्तारै बिस्तारै उ बसिरहेको ठाउँमा जल-जङ्गल, जमिन र कृषि उत्पादनकाे कमी हुँदै गयाे । मानिसहरूले नयाँ अवसरको खोजीमा बसाइँसराइ गर्न थाले । मूल थलाेबाट टाढा भएको कारण कतिपय अवस्थामा संधै आफ्नो मूल थलाेमा हुने कुलपूजामा सरिक हुन व्यक्तिलाई अनुकूलता मिलेन । त्यसैले मानिसले जहाँ घर बनाएर बस्याे, जहाँ श्राद्ध लगायत विविध धार्मिक कर्म गर्दै आयाे त्यसै ठाउँमा सम्भव भएसम्मका आफ्ना वंशज (कुलभित्रका जूठाे-सुत्केराे लाग्ने) दाजुभाइ जुटेर कुलपूजा गर्ने चलन चलाउँदै गयाे । यसरी एउटै वंशमा पनि विविध स्थान र देवतालाई मानेर कुलपूजा गर्ने चलन चल्दै आएको हाे । कुल भनेको वंश हो र पूजा भनेको श्रद्धा हो । यस अर्थमा, सकेसम्म एकै ठाउँमा जम्मा भए...