अनुभूति:: म किन लेख्छु ?
✍️ मुरारीराज मिश्र ‘म किन लेख्छु ?’ यस प्रश्नको ठ्याक्कै उत्तर छैन मसंग । त्यसैले हाेला, यस प्रश्नको जवाफ दिंदा संधै अलमलिन्छु । साँच्चै, “म किन लेख्छु” हाेला ? कतै, आफूलाई नबुझी संसारलाई कसरी बुझ्ने भनेर आफैंलाई बुझ्न लेख्छु कि ? या, आफ्नै अनुभूति, प्रश्न र पीडासँग साक्षात्कार र आत्मसंवाद गर्न पाे लेख्छु ! अथवा, देखेका, भोगेका अनुभव र भेटिएका पात्रहरू, यी सबै आफ्नै स्मृतिमा मात्र सीमित नरहुन् भन्ने चाहनाले पाे भावनाहरूलाई शब्दाकार दिन्छु कि ? लेखन, मानिस र समाजसंग सम्बन्ध गाँस्ने प्रभावकारी माैन शब्दसम्वाद हाे । लेखाइ, निजी अनुभूति भए पनि सार्वजनिक अभिव्यक्ति हो । लेख्नु भनेको उत्तर दिनु मात्र होइन, प्रश्न जन्माउनु पनि हो । शब्दहरू सशक्त भए तिनले समाजमा चेतना जगाउन र परिवर्तनको बीउ रोप्न सक्छन् भन्ने मेराे धारणा छ । जब लेखक लेख्छ, ऊ समाज र समयसँग बहस गरिरहेको हुन्छ । जीवनको भीडभाडमा देखिने हर्ष, विषाद, अन्याय, करुणा, आशा र निराशाका अनगिन्ती दृश्यहरू लगायतका सबै क्षणहरू क्षणिक हुन्छन; तर शब्दले तिनलाई दीर्घायू बनाउँछ। लघुकथामा म समाजको सानो घटना भित्र लुकेको ठूलो संकेत खोज्छु...