यात्रा : एक अनुभूति
✍️ मुरारीराज मिश्र यात्रामा जाने तानाबाना बुनिदै थियोे । अनायास मनले प्रश्न गर्याे “तँ यात्रा किन गर्छस् ? प्रकृतिलाई नजिकैबाट नियाल्न ? ईश्वर भेट्न ? कि आफूलाई आफूले नियाल्न ?” यात्रालाई कहिल्यै यसरी गहिरिएर नसाेचेकाे म, आफ्नै मनले साेधेकाे प्रश्न सुनेर झस्किएँ ! साेच्न लागें “साँच्चै, म किन घर छाेडेर समयसमयमा यात्रामा निस्कन्छु ? मेराे यात्राको उद्देश्य के हाे ? यात्राले मलाई बोलाउँछ कि म नै यात्रामा गइरहेको हुन्छु ? यात्राबाट मैले के पाउँछु ? के गुमाउँछु ? मनमा यस्तै-यस्तै प्रश्नहरूको लाइन लाग्छ । यसअघिका यात्रा अगाडि, मनमा यस्ता भावनाहरूकाे कम्पन आएका थिएनन् तर आज भने स्पष्टै महसुस गरिरहेको थिएँ । यात्राको प्रत्येक पाइला, मनको एउटा तह खोलिँदै जाने प्रक्रिया जस्तै लाग्छ मलाई ! “जीवन पनि यस्तै हैन र ? कहिले अघि बढ्छ कहिले रोकिन्छ, फेरि बढ्छ । कहिले उफ्रिन्छ कहिले शान्त हुन्छ ।” मनले फेरि प्रश्न गर्छ । यात्रा संधै नयाँ ठाउँकाे मात्रै हुँदैन । कहिले रहरले त कहिले करले पनि यात्रामा जानुपर्ने हुन्छ । पहिले पुगेका स्थानमा पनि पटकपटक गइन्छ । न...