कविता: कुर्सीको ऋतु
✍️ मुरारीराज मिश्र जसरी एउटा रुख हरेक ऋतुमा हरियो हुँदैन, त्यसैगरी यहाँ हरेक ऋतुमा कुर्सीको रङ फेरिन्छ । सिद्धान्तको भारी बोकेर हिँड्नेहरू कुर्सीको उचाइ नाप्दै भन्छन्- "देश उकालो लाग्दै छ !" सायद, त्याे उचाइबाट तलकाे जमिन देखिँदैन । हिजो चिच्याएर उठाएका प्रश्नहरू आज त्यही जिब्रोले चपाउँदैछन् । लाग्छ- वाचा पनि चुइङ्गमजस्तै रहेछ, सत्ता फेरिँदा स्वाद होइन, खोल मात्रै फेरिने । चारैतिर भद्रगोल छ । कमजोर पात मात्र होइन, बलिया जरा पनि शक्तिको हावामा उन्मत्त भएर उडिरहेछन् । बाटोछेउको ढुङ्गाजस्तै हामी जनता- सबैले टेकेर उक्लिन्छन्, शिखर पुगेपछि हामी नै "बाटो छेक्ने ढुङ्गा" ठहरिन्छाैं । फेरि चुनाव आउँछ, त्यही ढुङ्गामाथि उभिन्छन् भाषण गर्छन्, भन्छन्- "जनताभन्दा ठूलो हाम्रो लागि को छ र !" अनि हामी- फेरि पनि पत्याइदिन्छौँ । (कुमारीगाल, उमामहेश्वर मार्ग काठमाडौं- ७