भोजनको थालदेखि बालबालिकाको सपनासम्म
संस्मरण :
कहिलेकाहीँ यात्रा नक्साको एउटा बिन्दुसम्म पुग्नु मात्र हुँदैन; त्यो आफ्नै सोचको कुनै बन्द ढोका खोल्ने अवसर पनि हुँदो रहेछ । धादिङको थाक्रे-५, दामेचौरस्थित प्रेमसागर फाउण्डेशनसम्मको मेरो यात्रा यस्तै एउटा संयोग थियो ।
शैक्षिक प्रेरणा समूहका तर्फबाट आदर्श माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, जर्सी तथा खेलकुद सामग्री हस्तान्तरण गर्ने कार्यक्रमका लागि भान्दाइ किरण शर्माको खबर आयो । खबर सुनेपछि मनले भन्यो - एउटा जानैपर्ने यात्राको साइत जुरेकाे छ ।
२०८३ साल साउन ४ गते बिहान श्रीमती कल्पना मिश्र र म कोटेश्वर पुग्यौँ । त्यहाँ किरण भान्दाइ र भोला राउतसँग भेट भयो । ढिला नगरि हामी कलंकीतिर लाग्यौँ । केहीबेरको प्रतीक्षापछि विजय बस्नेतजी आफ्नो गाडी लिएर आइपुग्नुभयो । अब पाँच जनाको हाम्रो टोली धादिङतिर लाग्यो ।
काठमाडौंको कोलाहल पछाडि छुट्दै गयो, तर जामले शहरलाई सजिलै बिदा गर्न दिएन । सडकमा सवारीको लाम, मोटरसाइकलको हतार र छाता ओढेर हिँडिरहेका मानिसबीच आकाशमा बादल बाक्लिँदै थिए । केहीबेरमै पानी पर्यो । वर्षाले सडकको धुलो पखाल्दै थियो । पहाडतिरको बाटो हरियो हुँदै गयो । भित्ताबाट झरेका पानीका मसिना धाराहरू, पानीले भरिएका खेतका गह्रा र खोल्सामा वेग लिँदै गरेको बर्खे पानीले यात्रालाई आफ्नै लय दिए ।
बाटोमा चियाको विश्राम भयो। बाहिर झरी, भित्र तातो चियाको बाफ । केहीबेरपछि फेरि गाडी गुड्यो । शहर पातलिँदै गयो, घरहरूबीचको दूरी बढ्दै गयो र हरिया डाँडाहरू नजिकिँदै गए । लाग्यो- हामी धादिङतिर मात्र होइन, जीवनको एउटा फरक पाटोतिर प्रवेश गर्दैछौँ ।
यात्राकै क्रममा भोला राउतले भन्नुभयो, “आज बिहानको खाना प्रेमसागरमै खाने व्यवस्था मिलाएको छु ।” मलाई खानाभन्दा बढी जिज्ञासा भयो- प्रेमसागर कस्तो रहेछ ? दामेचौर पुगेपछि पहिलोपटक प्रेमसागर फाउण्डेशनलाई आफ्नै आँखाले देखेँ । प्रकृतिको काखमा करिब २७ रोपनीमा फैलिएको परिसर बाहिरबाट शान्त देखिन्थ्यो, तर भित्रकाे गतिविधि चलायमान थियो । भान्सामा चहलपहल, व्यवस्थापनमा व्यस्त मानिस र सेवामा तल्लीन कर्मचारी । स्थानीय बोलिचालीमा ‘आश्रम’ पनि भनिने त्यो ठाउँमा सेवा भाषण होइन, दैनिक व्यवहार बनेको अनुभूति भयो ।
भोला राउतले संस्थाको इतिहास सुनाउनुभयो । २०६५ साल चैत २८ गतेदेखि सेवा सुरु भएको र करिब २८ जना कर्मचारी सेवाभावका साथ काम गरिरहेको जानकारी पाएँ । मनमा प्रश्न उठ्यो- यति लामो समयसम्म यस्तो काम कसरी टिक्छ ? उत्तर भवनमा होइन, सेवाको निरन्तरतामा रहेछ । प्रेमसागरको वास्तविक कथा भने भान्सामा रहेछ । भात, दाल र तरकारीको सामान्य थालभित्र एउटा असामान्य सपना पाकिरहेको रहेछ- कुनै बालबालिकाको पेट भोकै नरहोस् र भोककै कारण उसको पढाइ नछुटोस् । भोक लागेको पेटले पढाइमा ध्यान दिन सक्दैन । परिवारमा अभाव हुँदा किताबभन्दा कामको बोझ ठूलो हुन सक्छ । यही अदृश्य सम्बन्धलाई प्रेमसागरले समातेको रहेछ- पहिले पेट भरौँ, अनि किताब खोलौँ ।
‘मानिसका लागि खाना’ को अवधारणासँग जोडिएको जनभोजन कार्यक्रमका कारण त्यस क्षेत्रमा विद्यालयको भर्ना र उपस्थितिमा वृद्धि हुँदै थप कक्षा सञ्चालन हुन थालेको जानकारीले मलाई गहिरोसँग छोयो । कहिलेकाहीँ एउटा विद्यालयको विस्तारको सुरुवात एउटा भान्साबाट पनि हुँदो रहेछ । यहाँबाट धादिङको थाक्रे र मकवानपुरको थाहा नगरपालिकाका विभिन्न विद्यालयमा दैनिक दुई हजारभन्दा बढी विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइन्छ ।
संख्या ठूलो छ। तर संख्याभन्दा ती अनुहार सम्झन मन लाग्यो । कतिका लागि त्यो भोजन साँच्चिकै आवश्यक होला ? कति बालबालिका भोकसँगै विद्यालय आउँछन् ? कतिका लागि यही एउटा थाल विद्यालयमा टिकिरहने आधार बनेको होला ? मनले भन्यो- यसलाई ‘दिवा खाजा’ मात्र भन्नु यसको अर्थ सानो बनाउनु हो । यो त भविष्यका लागि गरिएको लगानी हो । आजको भोजन भोलिको शिक्षा बन्न सक्छ; शिक्षा सीप, सीप रोजगारी र रोजगारी आत्मनिर्भरता । आत्मनिर्भरता पुस्तौँदेखिको अभावको चक्र तोड्ने शक्ति बन्न सक्छ ।
त्यहाँ अर्को प्रश्न पनि मनमा उठ्यो- यदि एउटा संस्थाले सीमित स्रोतमा यति धेरै बालबालिकाको भोक मेटाउन सक्छ भने राज्यले आफ्ना स्रोत र प्राथमिकता अझ प्रभावकारी बनाउन सके कति जीवन बदलिन सक्लान् ? हाम्रा धार्मिक तथा सामाजिक संस्थाहरूले पनि शिक्षा, स्वास्थ्य र भोकविरुद्धका यस्ता अभियानलाई प्राथमिकता दिए समाज कति बदलिन्थ्यो होला !
प्रेमसागरको नामसँग प्रेम रावत जोडिनु स्वाभाविक रहेछ । तर धादिङको प्रेमसागर फाउण्डेशन नेपाल प्रेम रावतले स्वयं स्थापना गरेको संस्था होइन । नेपालमा दर्ता भएको यस संस्थाले प्रेम रावतको परिकल्पनामा विकसित जनभोजन अवधारणासँग जोडिएर प्रेम रावत फाउण्डेशनसँगको साझेदारीमा यो कार्यक्रम अघि बढाएको हो । प्रेरणा बाहिरबाट आउन सक्छ; त्यसलाई माटोमा रोपेर हुर्काउने काम भने स्थानीय संस्था, कर्मचारी, विद्यालय, अभिभावक र समुदायले गर्छन् । यही पक्ष मलाई सुन्दर लाग्यो ।
हामीले त्यहीँ बिहानको खाना खायौँ । थालमा सामान्य भोजन थियो, तर त्यस दिन त्यो सामान्य लागेन । बाहिर वर्षा भइरहेको थियो । मनले सोध्यो- “हामीले त पेट भर्यौँ; यहाँबाट कति बालबालिकाको पेट भरिन्छ होला ? र भरिएको त्यो पेटले कति किताब खोल्छ होला ?” उत्तर त्यही भान्साले दिइरहेको थियो ।
त्यसपछि हामी विद्यालयतिर लाग्यौँ । आदर्श मा.वि. का प्रधानाध्यापक विष्णुप्रसाद गाैतम र कालिका मा.वि. का प्रधानाध्यापक रश्मि तामाङकाे उपस्थितिमा सामाग्री हस्तान्तरण गरियाे । ट्र्याकसुट, जर्सी र खेल सामग्री पाएपछि विद्यार्थीका आँखामा देखिएको चमकले हाम्रो यात्रा सार्थक बनाइदियो । कसैले जर्सी लगाएर हेरे, कसैले साथीलाई देखाए । एउटा जर्सी कसैका लागि सामान्य कपडा होला; एउटा बालकका लागि भने आफू पनि खेल-टोलीको हिस्सा हुँ भन्ने आत्मविश्वास हुन सक्छ । एउटा खेल सामग्रीले कसैको प्रतिभालाई मैदानसम्म पुर्याउन सक्छ । हामी केही दिन गएका थियौँ, तर फर्किँदा आफैँले केही लिएर फर्कियौँ- सन्तुष्टि र हौसला ।
फर्किने बाटोमा पहाडमाथि बादल थिए । बाटो भिजेको थियो । गाडी काठमाडौं फर्किँदै थियो, तर मेरो मन दामेचौरमै रोकिएको थियो- भान्सामा पकिरहेको भोजन, सेवामा खटिएका मानिस, विद्यालयतिर लागिरहेका बालबालिका र हातमा नयाँ जर्सी बोकेर मुस्कुराइरहेका अनुहार । मनले भन्यो- “तिमी कार्यक्रमका लागि मात्र गएका थिएनौ; केही बुझ्न पनि पुगेका रहेछौ ।” हो, बुझेँ- समाज परिवर्तनका लागि सधैँ ठूलो भाषण चाहिँदैन । एउटा निरन्तर चलिरहेको भान्सा पनि ठूलो सामाजिक हस्तक्षेप हुन सक्छ ।
सहयोग गर्ने इच्छा राम्रो हो; त्यसलाई निरन्तरता दिने प्रतिबद्धता अझ ठूलो कुरा हो । अब असोजमा फेरि धादिङ र मकवानपुरका विद्यालयमा जाने कार्यक्रम छ- दशैँका लुगा र न्यानो कपडा लिएर । यसपटक पनि सायद हामी सामग्री मात्र लिएर जानेछैनौँ; कसैको अनुहारमा एउटा सानो खुसी लिएर जानेछौँ ।
दामेचौरबाट फर्किंदा मनमा एउटा चित्र स्थायी भयो- भान्साबाट निस्किरहेको तातो भोजन, विद्यालयतिर लागिरहेको बालक र उसको आँखामा टल्किरहेको भविष्य । भोक मेटिएपछि किताब खुल्छ । किताब खुलेपछि सपना देखिन्छ । सपना देखेपछि बाटो खोजिन्छ र बाटो भेटिएपछि जीवन बदलिन सक्छ ।
प्रेमसागरले मलाई यही सिकायो- सेवा भनेको कसैको हातमा केही थमाइदिनु मात्र होइन; उसले भोलि आफ्नै भविष्य समात्न सक्ने बनाउनु पनि हो । त्यसैले दामेचौरको त्यो दिन मेरो लागि यात्रा मात्र रहेन- भोजनकाे एउटा थालबाट सुरु भएर बालबालिकाको सपनासम्म पुगेको अविस्मरणीय यात्रा बन्यो ।
✍️ मुरारीराज मिश्र,
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७
(बिराटनगरबाट प्रकाशित हुने पत्रिका न्यूसृष्टि दैनिकमा मिति २०८३ साउन २९ गते प्रकाशित भएको लेख)






Comments
Post a Comment