संस्मरण:

"वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश"

                                 ✍️ मुरारीराज मिश्र

बाल्यकालका केही दृश्यहरू यस्ता हुन्छन्, जसलाई स्मृतिले समयसँगै झिनो पार्दैन, बरु अझ प्रखर तुल्याउँछ । गुहेश्वरी मन्दिर र वरिपरिको परिवेशसँग जोडिएका मेरा केही स्मृतिहरू पनि यस्तै छन् । हरेक पटक सम्झिँदा तिनले हरियाली दृश्य, माटोको सुगन्ध, निर्मल पानीको चिसोपन र विश्वासको पवित्रता समेटेर ल्याइदिन्छन् ।

पचास-बाउन्न वर्ष अघिको समय । गुहेश्वरी मन्दिरको उत्तरी र पूर्वी किनार, आज जहाँ घर, बाटो र पसलले भरिएको छ, त्यो बेला हरियालीले ढाकिएको थियो । वागमती पारि फैलिएका खेतहरू मानौँ आकाशबाट झरेका हरिया ओछ्यानजस्तै देखिन्थे । धान, गहुँ, आलु र अन्य तरकारीका बालीहरू ऋतु अनुसार खेतमा लहराइरहेका हुन्थे । फाट्टफुट्ट रहेका माटोले बनेका झुपडी र परालका छाना प्रकृतिको विशाल काखमा बास बसेका शिशुजस्तै लाग्थे ।

त्यो समय वागमती शुद्ध र पारदर्शी थियो । हामी त्यही पानी पिउन्थ्यौं, नुहाउँथ्यौं, कपडा धुन्थ्यौं । असला, सिङ्गे, हिले जातका माछा र गंगटा पानीको पारदर्शी सतहमुनि खेलिरहेका देखिन्थे । वर्षा लाग्दा नदी उर्लन्थ्यो, खेतहरू जलमग्न हुन्थे र माछाहरू खेतैभरि आइपुग्थे । हामी केटाकेटीका लागि त्यो दृष्य एउटा पर्वजस्तै हुन्थ्यो । काेही झट्पट् हिलोमैलोमा खुट्टा धस्दै माछा मार्न लागिपर्थ्याैं त काेही बल्छी थाप्न लाग्थे । अहिले याे कुरा आफ्नै लागि समेत दन्त्यकथा सरह भएको छ ।

गुहेश्वरीकाे पूर्वी-दक्षिण र पश्चिम तर्फकाे घना जङ्गलमा फलेका लप्सी, अमला, ऐसेलु, चुत्राे, काप्राे, कटुस आदि फलहरू खान हामीलाई कुनै राेकटाेक थिएन । त्यसाे त, त्यतिबेला आफ्नो बारीमा फलेका त आफ्नै भै हाल्यो, त्यसबाहेक गाउँका जाे कसैका बारीमा फलेका आरु, आलुबखडा, काँक्राे, अम्बा, सुन्तला, भाेगटे, दाखजस्ता फलफूलहरू पनि हाम्रा बालटाेलीलाई आफ्नै बारीमा फले सरह लाग्थ्यो ! घरधनीकाे आँखा यताउता पर्नासाथ ती फलफूलहरू बाेटबाट गायब भएर हाम्रो टाेलीकाे खाजाका लागि तैयार भइसकेका हुन्थे । 

विश्वरुप मन्दिर नजिकैको रुखमा फलेका लप्सी झार्न घुएँत्राेले झटाराे हान्दा रुखमा ठाेकिएर फर्केको ढुंगाले लागेर टाउकोमा लप्सी जत्रै टुटुल्काे उठेकाे कुरा हाेस् या चावहिल स्कुलबाट हाफटाइममा बागमतीमा पाैडी खेलेर फर्कंदा कपालमा टल्केकाे बालुवा देखेर सरले गालामा चड्काएका घटना, ती यदाकदा अझै सम्झनामा आइ नै रहन्छन् । 

वागमती किनारदेखि करिब पाँच सय मिटर पर उत्तरतर्फ पर्ने कुमारीगालकाे अग्लो कान्ला नजिकै रहेकाे खेतकाे कुनामा एउटा सानो कुण्ड थियो । त्यसबाट बुलबुल आवाज गर्दै निरन्तर सफा र चिसो पानी निस्किरहन्थ्यो, मानौँ पृथ्वीले आफ्नो गुप्त श्वास त्यहीँ फेरेको होस् । कहिलेकाहीँ हामीले त्यस कुण्डमा फूलका पत्ता, नैवेद्यका टुक्रा, जाै-तील, अबिर देख्थ्यौं । कौतुहल जाग्थ्यो र आमासँग सोध्थ्यौं । आमा भन्नुहुन्थ्यो “यो कुण्डमा गुहेश्वरीकै जल निस्कन्छ रे ! परापूर्वकालमा गुहेश्वरी देवी रजस्वला हुँदा उहाँ यहीँ स्नान गर्न आउनुहुन्थ्यो रे !” आमाले श्रद्धा र विश्वासले बताउनु भएको कुण्ड बारेको त्याे किम्बदन्ती हाम्रा लागि आश्चर्यका बिषय बन्थे । त्यहाँकाे पानी स्पर्श गर्दा, साधारण पानी नभएर देवीकै पवित्र जल छाेएको जस्तो लाग्थ्यो ।

स्कन्दपुराणका अनुसार गुहेश्वरीलाई सतीदेवीको गुह्य पतन भएको स्थल मानिन्छ । सतीदेवी पार्वतीकै स्वरूप भएकी हुँदा यस स्थानको धार्मिक महत्त्व अपार छ । आजकाे दिनमा त्यो कुण्ड वरिपरि घरहरू उम्रिएका छन् । समयकाे गति संगै साे कुण्डकाे अस्तित्व पनि मासिएकाे छ । तर संयोगै मान्नुपर्छ, कुनै समयमा कुण्ड रहेको साे ठाउँ नजिकैको डाँडामा अहिले शिवजीको मन्दिर उभिएको छ । मानौँ, हराएको आफ्नी अर्धाङ्गिनीरुपी चमत्कारिक कुण्डलाई नजिकैबाट नियाल्न त्रिगजुर शिवालय बनाएर शिवजी स्वयं मूर्ति स्वरूपमा त्यहाँ अवतरित हुनुभएको छ ! निकै घनाबस्ती रहेकाे यस स्थानमा विशाल वसाहारुपी शिवालय र शिवजीकाे मन्दिर बन्नु एउटा अदभूत घटना हाे, जाे दैवी इच्छा बिना असम्भव लाग्छ !

यहाँ निर्मित त्रिगजुर शिवालयकाे ढाँचा  अलौकिक र विशिष्ट स्वरूपकाे देखिन्छ । यसको बाहिरी भाग नन्दी (वसाहा) आकृतिको छ । स्वर्णिम रङ्गको शिवालयकाे टुप्पोमा तीनवटा स्वर्णिम गजुर सुशाेभित छन् । यस किसिमको मन्दिर विश्वमै दुर्लभ ढाँचाको मानिन्छ । नन्दीको उदरभागमा मन्दिरकक्ष र नाभिकेन्द्रमा शिवको चतुर्मुखी ज्योतिर्मय लिङ्ग स्थापित गरिएको छ । विभिन्न देवीदेवताका मूर्ति, अखण्ड यज्ञमण्डप, महामृत्युञ्जय स्तम्भ सहितको याे शिवालय परिसर अहिले यस क्षेत्रकाे महत्त्वपूर्ण सम्पदास्थल बनेकाे छ । केटाकेटीमा लुकामारी खेल्ने, चङ्गा उडाउने, माछा पाेलेर खाने र दाैडादाैड् गर्ने याे ठाउँमा भविष्यमा मन्दिर बन्नेछ र बुढ्याैलीले छुने बेलामा साँझ बिहान यसै स्थानमा आएर भजन आरतीमा रम्न पाइएला भन्ने कुरा त कल्पनाभन्दा परको कुरा थियोे । बाँचीरहे सपनामा समेत नसाेचेकाे कुरा पनि प्रत्यक्ष देख्न पाइन्छ भन्थे साँच्चै हाे रहेछ !

वास्तवमा, मन्दिर भनेको केवल ढुङ्गा, माटो, काठ, पाता आदिबाट बनेको संरचना मात्र होइन, त्यो मानिसको श्रद्धा, विश्वास र आस्थाले उभ्याएको आध्यात्मिक स्तम्भ पनि हो । त्यहाँ पुग्दा आत्मा शान्त हुन्छ, मन हलुका बन्छ र एउटा अवर्णनीय आनन्दले भरिन्छ । वागमती, गुहेश्वरी र यस वरिपरिको सेरोफेरोसँग बाँधिएका ती स्मृतिहरू आज पनि मलाई सम्झाउँछन् - “मन्दिर भनेको भक्त र भगवानलाई जोड्ने सबैभन्दा सरल सेतु हो, जहाँ विश्वास समयसँगै अझ गहिरो भएर बाँचिरहन्छ ।” 

साँच्चै नै, बाल्यकालका पुराना स्मृतिहरू कसै गरेपनि भुल्न सकिन्न रहेछ ! उसबेला नुहाउने, पानी खाने बागमती नदी अहिले ढलमा परिणत भएको देख्दा भने पीडावाेध हुन्छ । हामीले आफ्नो जीवनकालमा त देख्न पाउँला नपाउँला ! तर हाम्रा पछिल्ला पुस्ताले फेरि पहिलेकै जसरी सफा वागमती बगेको देख्न पाउन् र त्याे बेला हामी नरहे पनि, आफ्ना अंशरुपी छाेरा-नातीका आँखाले वागमती निहार्न पाउँला भन्ने झिनाे आशा भने अझै मरेको छैन । 

अस्तु ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

















(न्यूसृष्टि दैनिकमा २०८२-०५-२९ गते प्रकाशित )

Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता