यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

 ✍️ मुरारीराज मिश्र


मृत्यु जीवनको अन्तिम सत्य हो जसलाई कसैले टार्न सक्दैन । गीतामा भनिएकाे छ- जन्म लिनेको मृत्यु निश्चित छ र मृत्यु हुनेको जन्म पनि निश्चित छ । 

यस कथनबाट बुझ्न सकिन्छ कि, जीवन-मृत्यु एक चक्र हो जसबाट सबै प्राणीहरूले गुज्रिनु पर्छ । र, मृत्युसँगै जीवनको नयाँ सुरुवात पनि हुन्छ।

बाँचुञ्जेल जीवन सफल हाेस्, मृत्युु पश्चात् आत्माको परलाेक यात्रा सहज रहोस् तथा अर्को जन्ममा राम्रो शरीर प्राप्त मिलाेस् भन्ने कामनाका साथ विभिन्न धार्मिक संस्कार, जप-तप, पूजा-पाठ, धर्म-कर्म, तीर्थ-व्रत ध्यान आदि गर्न, हाम्रा पाैराणिक धार्मिक ग्रन्थ र परम्पराले हामीलाई सिकाएका छन् । 

आफ्ना लागि गरिने कर्मका साथसाथै हामीले दिवंगत पुर्खाहरूका उद्धार र शान्तिका लागि विविध धार्मिक कर्म पनि गर्दै आएका छाैं । शास्त्रमा भनिएको छ-

“पुत्रस्य परमो धर्म: पित्र्यूद्धारसमो नहि ।”

अर्थात् पितृहरूकाे उद्धार गर्नु नै पुत्रकाे परम कर्तव्य र धर्म हाे । उसका लागि याे भन्दा ठूलो धर्म अरू केही छैन ।

यही कुरालाई मनन गरि हाम्रो परम्परागत सामाजिक मान्यता अनुसार हरिहरक्षेत्र, पुनपुन, गया, वैतरनी र काशीमा दिवंगत पितृका नाममा श्राद्द, तर्पण गर्न जाने बर्षाैंअघिकाे दमित चाहनालाई यसपटक भने मूर्त रूप दिने अठोट गरियो । यसै मेसाेमा त्यतातिरका तीर्थस्थलहरू वाेध गया, बाबा (वैजनाथ) धाम, वाशुकीनाग, तपाेवन, कलकत्ते काली, गंगासागर, भुवनेश्वर, साक्षीगाेपाल, जगन्नाथ धाम, विन्ध्यबासिनी, बाबा विश्वनाथ, अयाेध्या राममन्दिर लगायतको समेत दर्शन गरेर आउने निचोड निस्कियाे ।

भगवानले नबाेलाएसम्म वा समय नआइकन कुनै पनि तीर्थस्थल नपुगिने रहेछ । प्रस्थानका लागि ताेकिएकाे मिति पटकपटक सार्दै र विविध कारणवश जन्मिएका अनेक अवरोधलाई चिर्दै तीर्थयात्रामा निस्कने पक्का भयाे । यात्रा व्यवस्थापक हरिशरणम् तीर्थयात्राका प्राेप्राइटर माेहन अधिकारी दाइले काठमाडौंस्थित भारतीय दुतावासबाट यात्राको परमिट लिनुभयाे । हामी आवश्यक तैयारीमा लाग्यौं ।

२०८१ साल चैत ७ गते बिहीबार बिहानको पाँच बजे । काठमाडौँ उपत्यकाको आकाश अझै पनि हल्का अँध्यारोमै थियो । यात्राको उत्साहले हाम्रो मनमा भने सूर्योदय भइसकेको थियो । हामी अठारजना आज हजारौँ वर्ष पुरानो इतिहाससँग भेटघाट गर्न यात्री बनेर घरबाट निस्केका थियौं ।

चैत महिना भएतापनि बिहानकाे माैसम हल्का चिसाे नै थियोे । बाटोमा सवारीसाधनकाे चहलपहल निकै न्यून देखिन्थ्याे । मैले भजन भएको पेनड्राइभ चालक अरुणभाइलाई दिएँ । अब बसमा सुमधुर भजन गुञ्जन थाल्याे । भजनले पनि यात्राको क्रममा एकप्रकारकाे उर्जा थप्ने काम गर्छ ।

यात्रा एउटा रमाइलो क्रिया हाे । जसले केही सिक्ने, केही बुझ्ने र केही अनुभव बटुल्ने माैका दिन्छ । विद्वानहरूले जिन्दगीलाई जन्मेदेखि नमरेसम्मकाे अविराम यात्रा पनि भनेका छन् । वास्तवमा यात्रा भनेको गन्तव्य प्राप्तिकाे सुरुवात हाे । गन्तव्य बिना यात्रा यात्रा हुँदैन र गन्तव्य प्राप्त गर्न यात्राको पूर्वनिर्धारित तालिका हुनैपर्छ । हामी पनि निश्चित गन्तव्य र उद्देश्य प्राप्तिका लागि १७ दिने कार्यतालिका बाेकेर यात्रामा निस्केका थियौं ।

सातदोबाटो, चापागाउँ हुँदै सडकले हामीलाई भीमफेदीतर्फ डाेर्‍याउँदै थियो । बिहानको हुस्सु छिचोल्दै जाँदा कतै हरिया पाखा, कतै पहाडी घुम्ती, कतै सडकछेउमा टिनले छाएका चिया पसल लगायतका दृश्यले यात्रामा राेमाञ्चकता थपिरहेका थिए । हेटौंडामा बिहानको खाना खाएर उखरमाउलाे गर्मी छिचोल्दै दिउसो २:३० मा बिरगंज पुगियाे । 

यहाँ आएपछि तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ गढीमाईकाे पनि दर्शन गर्ने सल्लाह भयाे । उसैपनि आजको बास यहीँ हुने कार्यक्रम भएकोले हामीलाई खासै हतारो थिएन । त्यसैले पूर्वनिर्धारित हाेटेलमा सामान राखेर केहीबेरकाे विश्राम तथा चियाखाजा पछि साँझ ४ बजे हामी गढीमाईतर्फ लाग्यौं ।

यसअघि पटकपटक आउँदा गढीमाईकाे पाउ छाेएरै ढाेगिएकाे थियो । अब भने देवीको मूर्तिलाई छुन नपाइने गरिएको रहेछ । ‘भीड नियन्त्रण र मूर्ति सुरक्षा लागि यो नियम बनाइएको हो ।’ पुजारीले हामीलाई बताए । ‘देवीकाे मूर्तिलाई हातले स्पर्श गर्नुभन्दा पनि श्रद्धा, आस्था र पवित्र भावनाले भरिएको हृदयले छुनु ठूलो पूजा हो, बुझिस् !’ आफ्नै मनले मलाई सम्झायाे । दर्शन पश्चात् साँझ सात बजेतिर हामी बिरगञ्ज फर्क्यौं र पहिलो रात त्यहीँ बितायौं ।

दोस्रो दिन बिहानै सीमामा चेकजाँचका लागि हामी पनि आफ्नाे परिचय खुल्ने कागज हातमा लिंदै यात्रुको हुल संगै अघि बढ्यौं । चेकजाँचकाे कर्मकाण्डी काम सकेर गाडीले हामीलाई हरिहर क्षेत्रतर्फ बढाइरहेको थियो । मुजफ्फरपुरको जाममा एक घण्टाभन्दा बढी अड्किँदा, समयले हामी  यात्रुहरूको धैर्यताकाे परीक्षा लिएको भान भयो ।

दिउँसोको तातो घाम सहंदै हामी हरिहर क्षेत्रमा पुग्यौं । नदीकिनारको चिसो हावाले शीतलताकाे महसुुस गरायाे । साँझपख, भगवान् हरिहरकाे मन्दिरमा घण्ट-शंखको आवाज र आरतीको उज्यालो मिसिँदा मनमा अपूर्व आनन्दकाे लहर उठ्यो । त्याे रात हामी नदीको छेउमै रहेको एक हाेटेलमा बास बस्यौं । नजिकै नदीकाे पानीको छालले निःशब्द भएर पनि अनन्तकथा सुनाइरहेको थियो । थकाइले हाेला हामी मस्त निदायाैं ।

बिहारको राजधानी पटनादेखि पाँच किलोमिटर उत्तरमा गंगा र गण्डकी नदीको संगम रहेको ‘सोनपुर’ नगरलाई  हरिहर क्षेत्र भनिन्छ । हिन्दु धर्मावलम्बीहरूकाे एक प्रसिद्ध धार्मिक र सांस्कृतिक स्थल भएकाले स्नान, दान र तर्पणका लागि यहाँ निकै मानिसहरू आउने गर्छन् । भगवान् हरिहरकाे प्राचीन  मन्दिरले यस क्षेत्रकाे आकर्षण बढाएको छ । 

किंवदन्ती अनुसार, भगवान् शिवका भक्त जय र विष्णुका भक्त विजय नामक दुई दाजुभाइका बीच झगडा हुँदा भगवानकाे श्रापले दुबै गज र ग्रह बने । श्राप माेचनपछि दुवैको मित्रता भएर त्यहाँ शिव र विष्णुको मन्दिर संगसँगै बनाइयो जसका कारण यसको नाम हरिहरक्षेत्र रहेकाे भन्ने भनाइ पनि प्रचलित छ । 

तेस्रो दिनको बिहानै उठेर गंगा र गण्डकी नदीकाे संगममा स्नान गरि गौदान र तर्पण कर्म सम्पन्न गरियो पण्डाहरूको माेलमाेलाइ अनाैठाे लाग्दाे देखिन्थ्यो । उनीहरू तीर्थयात्रीहरूकाे आस्था र भावनालाई पैसामा जाेख्दै थिए । लाग्यो, धार्मिक पवित्रता किनमेलको बजारमा हराइरहेको छ !

पटनाकाे लामो सडकजाम, चेकजाँच र भीआइपी सुरक्षाको बहानामा रोकिएका बाटो, धुलो, धूवाँ र गर्मीले यात्रालाई केही कठीन बनायो । बाटोका विभिन्न अवरोध छिचोल्दै अन्ततः हामीले पुनपुनको पवित्र भूमिमा पाद टेक्यौं । नेपाली लालमाेहरिया पण्डाद्वारा श्राद्धादि कर्म गरियाे । 

पुनपुनबाट खाना खाएर हाम्रो यात्रा बाेधगयातर्फ बढ्यो। नेपालका महामानव गाैतम बुद्धले बुद्धत्व प्राप्त गरेकाे स्थान बाेधगया पुग्दा गौतम बुद्धका दिब्य उपदेशका प्रतिध्वनिहरू अझै त्यहाँका गगनमा गुञ्जिरहेका जस्ता लागे । सरसफाइ, शान्तिपूर्ण बाताबरण, शाैचालय लगायतका व्यवस्थापन निकै राम्रो थियो । 

हामीले निकैबेर लगाएर अवलोकन गर्‍यौं । देशविदेशका भिक्षुहरू ध्यान गरिरहेका देखिन्थे । बातावरण शान्त र चकमन्न थियो । भाेलिपल्ट गयामा श्राद्ध गर्ने कार्यक्रम थियोे त्यसैले हामी साँझपख गया पुग्यौं । त्यहाँ, नेपाली पण्डाकाे गेष्टहाउसमा रात्रि विश्रामको व्यवस्थापन भयो । 

बिहान सबेरै गया नदीमा श्राद्ध, सीता पिण्डदान स्थलमा प्रार्थना, दशरथ हात, वटबृक्ष र विष्णुपादुकाको दर्शन गरियो । 

“गयागमन मात्रेण पितृणामऋणं भवेत् ।”

“गयातीर्थ जादाँ मात्रै पनि व्यक्ति पितृऋणबाट मुक्त हुन्छ” भन्ने भनाइ सुनेका हामी, गया पुगेर पितृमुक्तिहेतु श्राद्ध गर्ने बर्षाैंदेखिकाे मनाेकामना पूरा भएकोमा निकै प्रसन्न भयाैं ।

अबको हाम्रो गन्तव्य बाबाधाम थियोे । हामी झारखण्डतर्फ लाग्यौं । बेलुकी बाबाधामको आरतीमा सहभागी हुन पाउँदा मन हर्षित बन्यो । द्वादश ज्याेतिर्लिङ्गमध्येका एक बाबाधाममा धुपको गन्ध, घण्टाको आवाज र दीपको उज्यालोमा नुहाउँदै हामीले आत्मिक तृप्ति प्राप्त गर्‍यौं ।

भाेलिपल्ट बिहान, तीन घण्टा लामो लाइनमा उभिएर बाबाधामको दर्शन गर्ने अनुभव कठिन तर स्मरणीय रह्यो । मन्दिरभित्रको अव्यवस्थित भीडले आस्था र संयमलाई उछाल्दै पछार्दै गरेको थियो । त्यहाँ भगवानलाई चढाउन इनारको जल समेत पैसा नदिई लिन नपाइने देख्दा भने मनमा प्रश्न उठ्यो - धर्मको नाममा किन यस्तो व्यापार ?

यहाँ पछि रावणले तपस्या गरेको स्थान तपाेवनकाे अवलोकन र वाशुकीनाथकाे दर्शन गरि पश्चिम बङ्गालकाे पानागढमा गएर बास बस्यौं । छैठाैं दिन कलकत्ते कालीकाे दर्शनार्थ काेलकाता तर्फ लागियाे । मन्दिरमा जताततै पण्डाकाे बिगबिगी देखियो । उनीहरू पैसाको माेलमाेलाइ गरि दर्शन गर्न लैजान्थे र पाठकाे नाममा रकम असुल्न खाेज्थे । धार्मिक क्षेत्रमा दर्शनार्थीसंग पैसाकाे खुलेआम बार्गेनिङ गरि लाइन मिचेर दर्शन गराउँदा पनि मन्दिरका पण्डाहरूका अगाडि प्रहरी माैन र निरीह देखिन्थे । हामीले केही समय लाइनमा बसेर दर्शन गर्‍यौं । 

राति काकद्विपमा बास बसेर बिहान सबेरै गंगासागरतर्फकाे यात्रा सुरु भयो । १० मिनेट पैदल, ४५ मिनेट पानीजहाज, त्यसपछि ३० मिनेट गाडी र पुन: १० मिनेटजति टेम्पो चढेर अन्ततः गंगासागर किनारमा पुगियाे । विशाल समुद्रका छालसँग पहिलो भेटमा मन रमायाे । आँखाले देखेसम्म जताततै पानी मात्रै देखिन्थे । गंगासागरमा स्नान, दान र तर्पण गरिसक्दा आत्मा नजिकैको अनन्तसँग संवाद गरिरहेको महसुस भयो । 

गंगासागर, पश्चिम बंगालको दक्षिणतर्फ परगना जिल्लामा अवस्थित एउटा टापुमा पर्ने सागर, गंगा नदी र बंगालको खाडी मिल्ने ठाउँ हाे । कोलकाताबाट लगभग १५० किलोमिटर दक्षिणमा अवस्थित गंगासागर भारतकाे सबैभन्दा पवित्र प्रसिद्ध हिन्दू तीर्थस्थल हो । यसलाई महातीर्थ मानिन्छ । पटकपटक जप, तपस्या, तीर्थयात्रा, धार्मिक कर्म आदि गरेमा जति पुण्य प्राप्त हुन्छ, त्याे बराबरको फल एकपटक मात्र गंगासागरको स्नान गरेमा प्राप्त हुने जनविश्वास छ । यसकारण भनिन्छ, ‘सबै तीर्थ बारम्बार, गंगासागर एकबार’।

पाैराणिक राजा सागरका ६० हजार पुत्रले मोक्ष प्राप्त गरेकाे स्थान भनिने यहाँ स्नान गर्दा, १०० अश्वमेध यज्ञ र १००० गाई दान गरे बराबर पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । गंगासागर किनारकाे केही पर कपिल मुनि, गंगा देवी र भगीरथका मूर्तिहरू रहेको मन्दिर छ । भगवान् बिष्णुले कर्दम ऋषिकाे छाेरा कपिलदेवकाे रुपमा जन्म लिएका थिए । प्रत्येक बर्षकाे मकर संक्रान्तिका दिन गंगा नदी कपिलदेवलाई स्नान गराउन मन्दिरसम्म पुग्छिन् भन्ने धार्मिक मान्यता छ । यस दिन यहाँ ठूलो मेला लाग्छ ।

फर्कने बेला पानीजहाजमा यति धेरै भीड थियो कि मानिसहरूको हुलमा मिसिएर हामीलाई आफैं पनि समुद्रकै छालझैँ बगिरहेकाे भान भयाे । जहाजबाट पानीहाँस चरालाई दाना खुवाउँदा भने यात्रामा रमाइलोपन थपियो ।

गंगासागरबाट फर्केर डायमण्ड हार्वरकाे घुमघाम र राति बसाइ पछि बैतरनी तर्फ प्रस्थान गरियो । नवाैं दिन बिहान बैतरनीमा श्राद्ध र तर्पण सकेर 

उडिसा राज्यमा पुगियाे । यहाँ भुवनेश्वर र साक्षी गाेपालकाे दर्शन पश्चात् अपरान्हतिर भारतका प्रसिद्ध चारधाम मध्येकाे एक जगन्नाथ धाममा पाइला टेक्याैं । जगन्नाथ मन्दिर अगाडिको हाेटेलमा बसाइकाे बन्दाेबस्त थियोे ।

साँझ समुद्रीतट अवलोकनमा गइयाे । मन्दिर नजिकैको यस समुद्रलाई नीलाचल सागर पनि भनिने रहेछ । याे समुद्र बंगालकाे खाडीकाे एक भाग हाे । भाेलिपल्ट बिहान समुद्रमा स्नान गरि धरतीकाे बैकुन्ठ मानिने जगन्नाथ मन्दिरमा भगवान श्रीकृष्ण सहित बलराम र सुभद्राकाे दर्शन र जगन्नाथपुरीको अद्भुत परम्पराकाे अवलोकन गरियाे ।

मन्दिर परिसरमा अत्याधिक भीड थियोे । जब ३-४ सय भक्तजन एकैपटक धकेलिँदै भित्र पस्थे तब लाग्थ्याे, यहाँ दर्शन होइन, संघर्ष भइरहेको छ । साँझमा जगन्नाथको झण्डा फेरेको दुर्लभ दृश्य देख्दा, मन हर्षविभाेर भयो । झण्डा परिवर्तनको त्यो अपूर्व क्षण जीवनकै सुखद स्मृति बन्यो ।

चैत १५ र १६ जगन्नाथपुरीमा बित्यो । साताैं शताब्दीमा निर्मित यो स्थान केवल मन्दिर मात्र थिएन, हजारौँ वर्षको विश्वास र संस्कृतिको संगम पनि थियोे । यहाँ भगवान्‌काे भाेजन (नैवेद्य) पकाउनेहरूले पहिले आफूले भोजन गरेर मात्र पकाउने चलन देख्दा, भोक र धर्मबीचको गहिरो सम्बन्धलाई अनुभव गरियो । नेपाली लालमाेहरिया पण्डाले खुवाएकाे स्वादिष्ट महाप्रसाद ग्रहण गरियो । प्रत्येक १२ बर्षमा यस मन्दिरभित्रकाे मूर्ति फेरिने र हरेक बर्ष जगन्नाथकाे विशाल रथयात्रा उत्सव हुने परम्परा रहेको छ ।

जगन्नाथमा दुईदिन बिताएर हाम्रो यात्रा प्राचीन वाराणसी नगर अर्थात् बनारस पुग्यो । यसअघि आउँदाभन्दा नदी निकै सफा देखियाे । गरे के हुने रहेनछ र ? आँखामा पशुपतिनाथ अगाडिको वागमती नदीकाे दुर्गन्धित दृश्य देखापरे, मन अमिलो भएर आयो । 

यहाँकाे मनकर्णिका घाटमा स्नान, दान तथा नेपाली लालमाेहरिया पण्डाबाट तर्पण र श्राद्द गर्‍यौं । द्वादश ज्याेतिर्लिङ्ग मध्येका भगवान् विश्वनाथकाे दर्शन भयाे । तत्पश्चात् विन्ध्याचल पुगेर विन्दवासिनी माताकाे दर्शन र प्रयागराजमा गंगा, जमुना र सरस्वती नदीकाे त्रिवेणी संगममा स्नान गर्दा तीन नदीको जलकाे स्पर्शले आत्मालाई शुद्ध बनाएकाे महसुस गरायो ।

यात्राका गन्तव्य छाेटिंदै थिए, हामी श्रीराम जन्मभूमि अयोध्या पुग्यो । अयोध्यामा सरयू नदी, हनुमान मन्दिर र राममन्दिर दर्शनले यात्रा एकाएक भावनाको शिखरमा पुग्यो । लाग्यो, यही हो यात्राको चरम गन्तव्य !

अयाेध्याबाट चैत २२ मा नेपाल प्रवेश गर्‍याैं । बुटवल-नारायणघाट सडकको जाममा अड्किँदा हाम्रो धैर्यताकाे बाँध टुट्न थालिसकेको थियोे । पटकपटक आउँदा यहाँ पर्ने सडकजामले राज्य संयन्त्रप्रति मनमा आक्राेस उठ्याे । घामले तताएको गाडीभित्रको घुटन, बाटोकाे धूवाँ-धूलो देख्दा लाग्यो “सर्वसाधारणको दुःखलाई बुझ्ने यहाँ कोही छैन ।”

अन्ततः देवघाट आइपुगियाे । चैत २३ मा देवघाटमा स्नान गर्दा यहाँको शीतल जलले सारा थकान धाेइदिएकाे महसुस भयाे । त्यहीँ तीर्थयज्ञ गरेर हामीले तीर्थयात्रालाई पूर्णविराम लगायाैं । छाेटाे धन्यवाद कार्यक्रम मार्फत चालक, सहयोगी र व्यवस्थापकलाई सम्मान गर्‍याैं र घरतर्फ फर्कियौं ।

यो १७ दिनको यात्रा केवल भौगोलिक दूरी पार गर्ने साधन थिएन । यो यात्राले हामीलाई आत्मा, विश्वास र सहनशीलताको यात्रा गरायो । कतै भीड, कतै पण्डाको मनोमानी र कतै सरकारी उदासीनताले आस्था थिचे पनि, आत्मालाई अडिग बनायो ।

यात्रा सकिँदा मनमा एउटा मात्र अनुभूति थियोे कि - “यात्रा भनेको गन्तव्यमा पुग्नु मात्र होइन, आत्मा र जीवनसँग साक्षात्कार हुनु पनि रहेछ ।”

                     >>>>> समाप्त <<<<<

तीर्थयात्राका सहभागीहरू:

श्रीराम पौडेल, परमेश्वरी पौडेल, सरस्वती रिसाल, कल्पना मिश्र, मुरारीराज मिश्र, बालकष्ण पौडेल, भगवती पौडेल, अञ्जन कट्टेल, मीना कट्टेल, विश्वनाथ पोखरेल, मिथीला पोखरेल, सुनिल पोखरेल, मीरा खनाल, अच्युतमप्रसाद आचार्य, रमिलाकुमारी खतिवडा, नविना रिसाल, बिद्या कुमारी सत्याल र शिवराजप्रसाद सत्याल ।



Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: