व्रत : आत्मसंयमको बाटो
बिचार: ✍️ मुरारीराज मिश्र बिहानैदेखि पेट भोकै छ । घडीको सुईले दिउसो पार गरिसक्यो । शरीरले खाना र मुखले पानी खोजिरहेको छ । तर मनले भन्दैछ छ - “आज व्रत हो, केही खानु हुँदैन ।” के धर्मको नाममा शरीरलाई यसरी थकित पार्दै जानु नै व्रत हो त ? यदि व्रतको अर्थ केवल दिनभरि भोकै बस्नु हो भने, त्यसको गहिरो आध्यात्मिक अर्थ कहाँ रहन्छ ? आखिर व्रत शरीरलाई कष्ट दिने अभ्यास हो कि आफूलाई अनुशासित गर्ने साधना ? पहिले यस कुरामा प्रष्ट हुनु जरुरी छ । सनातन धर्म र संस्कृतिमा ‘व्रत’ शब्दको अर्थ निकै व्यापक छ । व्रत भनेको केवल भोजन त्याग्नु होइन; सङ्कल्प, नियम, आत्मसंयम, सदाचार र आत्मशुद्धिको अभ्यास हो । शरीर, इन्द्रिय, मन र कर्मलाई निश्चित उद्देश्यमा अनुशासित गर्नु नै व्रतको मूल मर्म हो । शास्त्रीय परम्परामा व्रतलाई दृढ सङ्कल्प, नियम, प्रतिज्ञा र सदाचारयुक्त आचरणका रूपमा व्याख्या गरिएको पाइन्छ - नियमो व्रतमित्युक्तं शीलसङ्कल्प एव च । स नियमो व्रतं प्राहुः प्रतिज्ञा शीलमेव च ॥ यसको भावार्थ हो- कुनै असल कार्यका लागि मनमा...