इर्ष्याको ऐनामा समाजको अनुहार

 लेख:

                  ✍️ मुरारीराज मिश्र

हामीले बारम्बार सुन्दै आएका छौँ- “मानिस स्वभावतः इर्ष्यालु हुन्छ।” यो कथन पूर्णतः सर्वमान्य सत्य नहुन सक्छ, तर समाजका दैनिक व्यवहार, बोली र दृष्टिकोणले यसमा केही न केही यथार्थता अवश्य झल्काउँछन् । 

वास्तवमा, इर्ष्या मानव मनको गहिरो भावनात्मक अवस्था हो, जसको जरा प्रायः हीनभावना, असुरक्षा र निरन्तर तुलनामा गाडिएको हुन्छ । समयसँगै यही भावना व्यक्तिगत पीडा मात्र होइन, सामाजिक विग्रहको कारण पनि बन्न पुग्छ ।

दार्शनिक र चिन्तकहरूले इर्ष्यालाई विभिन्न कोणबाट व्याख्या गरेका छन् । एरिस्टाेलका अनुसार, इर्ष्या अरूले पाएको सुख-समृद्धि देखेर उत्पन्न हुने पीडा हो । फ्रान्सिस वेकनले यसलाई सबैभन्दा लुकेको र खतरनाक भावनाका रूपमा चित्रित गर्दै भनेका छन्- यो अरूलाई भन्दा पहिले आफैंलाई जलाउने आगो हो । त्यस्तै, आर्थर शोपेनहावरले इर्ष्यालाई मानव स्वभावको अभिन्न अंश माने पनि त्यसलाई नियन्त्रण गर्न नसक्नु नै कमजोरी भएको औंल्याएका छन् ।

बाहिरबाट सभ्य, शालीन र सन्तुलित देखिने धेरै मानिसहरू भित्रभित्रै अरूको उन्नति, सम्मान र सम्पन्नता देखेर कुण्ठित भइरहेका हुन्छन् । यो कुण्ठा सधैं खुला रूपमा प्रकट हुँदैन; कहिलेकाहीँ यसले प्रशंसाको आवरण ओढेर पनि आफूलाई लुकाइरहेको हुन्छ । तर अवसर पाउनासाथ यही भाव टिप्पणी, आलोचना र आरोपका रूपमा बाहिर निस्कन्छ ।

समाजलाई गम्भीरतापूर्वक नियाल्दा एउटा असहज तर यथार्थपरक चित्र देखापर्छ कि, हामी आफ्नै प्रगतिभन्दा बढी अरूको प्रगतिप्रति संवेदनशील छौँ । कसैले उचाइ हासिल गर्दा प्रेरणा लिनुको सट्टा, ऊ किन अगाडि बढ्यो र म किन पछि परेँ ? भन्ने प्रश्नले मन ग्रसित हुन्छ । यही सोच विस्तारै असहिष्णुता, अविश्वास र मानसिक दरिद्रतामा परिणत हुन्छ । परिणामस्वरूप, सहकार्य र सहअस्तित्वको भावना कमजोर बन्दै जान्छ ।

विशेषतः सामाजिक सञ्जालको तीव्र विस्तारसँगै आजको सामाजिक मनोविज्ञान अझ जटिल बनेको छ । डिजिटल संसारले सफलताका झलकहरू- नयाँ घर, सवारी साधन, विदेश यात्रा, सन्तानका उपलब्धि वा व्यवसायिक उन्नति आदि क्षणभरमै सार्वजनिक गरिदिन्छ । यी दृश्यहरूले केहीलाई प्रेरित गर्छन्, तर धेरैलाई तुलना र असन्तोषतर्फ धकेल्छन् । त्यसपछि टिप्पणीहरू आउँछन्- त्यो सफलता इमानदारीले सम्भव छैन, अवैध तरिकाले कमाएको हो। यस्ता अभिव्यक्तिहरू केवल अनुमान होइनन्; ती व्यक्तिको अन्तरमनमा रहेको असुरक्षा र इर्ष्याका प्रतिविम्ब हुन् ।

यहाँ प्रश्न उठ्छ- के सफल हुनु गलत हो ? पक्कै होइन । मेहनत, अनुशासन र अवसरको सदुपयोगले प्राप्त उपलब्धि सम्मानयोग्य हुन्छ । निस्सन्देह, सम्पत्तिको स्रोत पारदर्शी र कानुनी हुनुपर्छ, तर प्रमाणबिना आरोप लगाउनु चाहिँ न्यायको सिद्धान्तविपरीत मात्र होइन, नैतिक पतनको संकेत पनि हो । यसले व्यक्तिगत प्रतिष्ठामा मात्र होइन, समाजकाे आपसी विश्वासकाे आधारशिमामा समेत गहिरो चोट पुर्‍याउँछ।

आजको समाजमा अर्को प्रवृत्ति पनि देखिन्छ- आफ्ना गल्तीलाई तर्कले ढाकछोप गर्ने, तर अरूका सानातिना कमजोरीलाई ठूलो अपराधका रूपमा प्रस्तुत गर्ने । मानिस आफैंका लागि वकिल बन्छ, तर अरूका लागि कठोर न्यायाधीश । यस्तो दृष्टिकोणले आत्मसमीक्षाको संस्कार कमजोर बनाउँछ र आलोचना सधैं अरूतर्फ मात्र केन्द्रित हुन थाल्छ । यस मानसिक दरिद्रताको जडमा केही मुख्य कारणहरू छन्- असुरक्षा र हीनताबोध, मूल्यपरक शिक्षाको अभाव, निरन्तर तुलना गर्ने बानी, र तथ्यभन्दा अफवाहमा विश्वास गर्ने प्रवृत्ति । यी सबैले मिलेर समाजलाई क्रमशः विषाक्त बनाउँदै लैजान्छन् ।

अब समाधानतर्फ फर्कनु जरुरी छ । पहिलो आवश्यकता आत्मचिन्तन हो । अरूको मूल्याङ्कन गर्नु अघि आफ्नै सोच र व्यवहारको समीक्षा गर्नुपर्छ । आफूभित्र इर्ष्या छ भने त्यसलाई दबाउने होइन, स्वीकार्ने र सकारात्मक प्रेरणामा रूपान्तरण गर्न सिक्नुपर्छ । दोस्रो, मूल्यपरक शिक्षाको विकास आवश्यक छ । शिक्षा केवल ज्ञानार्जनको माध्यममात्र होइन; यो चरित्र निर्माणको आधार पनि हो । तेस्रो, प्रशंसा र प्रेरणाको संस्कृति विकास गर्नुपर्छ । अरूको सफलतालाई खतरा होइन, सिकाइको अवसरका रूपमा लिन सकियो भने इर्ष्याको स्थानमा उत्साह जन्मिन्छ ।

चौथो, तथ्यमा आधारित सोचको अभ्यास गर्नुपर्छ । कुनै निष्कर्षमा पुग्नु अघि प्रमाण र यथार्थको खोजी गर्ने बानी बसाल्नुपर्छ । साथै, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग पनि उत्तिकै महत्वपूर्ण छ । तुलना, नकारात्मक टिप्पणी र आधारहीन आरोपबाट टाढा रहनु मानसिक सन्तुलनका लागि अपरिहार्य छ ।

अन्ततः, समाज कुनै अमूर्त संरचना होइन; यो व्यक्तिहरूको समष्टिगत प्रतिबिम्ब हो । व्यक्तिको सोच उदार, न्यायपूर्ण र सकारात्मक भए मात्र समाज स्वस्थ र सुदृढ बन्न सक्छ । अरूको सफलतामा खुसी हुन सक्ने, सहानुभूति राख्ने र सत्यको पक्षमा उभिन सक्ने संस्कार विकास गर्न सक्यौँ भने मात्र हामी मानसिक दरिद्रताबाट मुक्त समाज निर्माण गर्न सक्षम हुनेछौँ । नत्र, बाह्य रूपमा सम्पन्न देखिए पनि भित्रभित्रै इर्ष्याले क्षय भएको समाजकै रूपमा हामी रहिरहनेछौँ- जहाँ प्रगति त देखिन्छ, तर प्रगतिको आत्मा भने हराएको हुन्छ ।

---अस्तु---




Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"