✍ मुरारीराज मिश्र मानिसको जीवन केवल बाँच्नुमा सीमित हुँदैन; ऊ आफ्ना कर्म, विचार र नैतिक आचरणबाट पनि चिनिन्छ । धर्म पनि त्यस्तै विषय हो, जुन केवल मन्दिर, पूजा-आराधना वा कर्मकाण्डभित्र मात्रै सीमित छैन । धर्मको वास्तविक अर्थ मानवता, करुणा, जिम्मेवारी र समभावको अभ्यास हो । कसैले पूजा-पाठ, व्रत वा तीर्थयात्राबाट धर्म आर्जन भएको ठान्छ भने कसैले दान, सेवा र परोपकारमा धर्मको अनुभूति गर्छ । आस्था व्यक्तिको निजी अधिकार भएकाले त्यसप्रति सम्मान हुनुपर्छ । तर, जुन कर्मले अर्को प्राणीलाई दुःख दिन्छ, समाजलाई असुविधा पुर्याउँछ वा प्रकृतिको सन्तुलन बिगार्छ, त्यसलाई धर्मको आवरणले ढाक्न सकिँदैन । धर्मको मूल्य कर्मको बाहिरी प्रदर्शनले होइन, त्यसले सिर्जना गर्ने कल्याणले निर्धारण गर्छ । जीवनले हामीलाई एउटा सामान्य तर गहिरो सत्य सिकाउँछ- हामीले आफूलाई जे व्यवहार उचित लाग्छ, अरूप्रति पनि त्यही व्यवहार गर्नुपर्छ । यही नै नैतिकताको आधार हो र यही नै अधिकांश धर्मदर्शनको सार पनि हो । दुर्भाग्यवश, हाम्रो समाजमा दान र धर्मको नाममा देखावटी प्रवृत्ति अझै पनि जीवित छ । घरमा प्रयोग गर्न नमिल्ने, गुणस्तरहीन वा कुहिएका...