लघुकथा: कुशको लास
✍️ मुरारीराज मिश्र, तीन महिनापछि पनि आशिषलाई त्यो घटना सपनाजस्तै लाग्थ्यो । नयाँ टहराको आँगनमा बसेर ऊ भोटेकोशीको भेलले एउटै वेगमा बगाएर उजाड बनाएको टाढाको बस्तीतिर हेरिरहेको थियो । भग्नावशेष हेर्दाहेर्दै आमाले सुनाएको त्यो दिनको वर्णन र आफ्नो भोगाइ सम्झेर उसको मन अतीततर्फ धकेलियो । अघिल्लो दिनमात्रै ऊ श्रीमतीसहित बिरामी ससुरालाई हेर्न काठमाडौँ गएको थियो । घरमा ६५ वर्षीया आमा देवीमाया एक्लै थिइन् । दुई-तीन दिनयता पानी नपरेको र आज पनि टन्टलापुर घाम लागेकोले, बाढी आउँदैछ भन्ने माइकिङलाई देवीमायाले पत्याएकी थिइनन् । फेरि आफ्नो घर पनि जमिनको सतहभन्दा केही माथि डाँडामा भएकोले बाढीले नछुनेमा उनी ढुक्क हुँदै भान्सातिर लागेकी थिइन् । एक्कासि पहाड गर्जिएझैँ आवाज आयो । लेदोसहित भोटेकोशी उर्लियो । लेदोले डाँडाको एक भाग खायो र आँखैअगाडि घरको अधिकांश भाग पुरिएर गयो । यता, आशिष काठमाडौँमै छटपटाइरह्यो । बाटो बगेको र गाउँ पुरिएको खबर पाएपछि आफन्तले तत्कालै गाउँ नफर्कन सुझाए । पाँच दिनसम्म प्रहरी र सरकारी निकायसँग हारगुहार गर्दा पनि आमाको न सास भेटियो, न त लास नै । अन्...