व्रत : आत्मसंयमको बाटो

 बिचार:

              ✍️ मुरारीराज मिश्र


बिहानैदेखि पेट भोकै छ । घडीको सुईले दिउसो पार गरिसक्यो । शरीरले खाना र मुखले पानी खोजिरहेको छ । तर मनले भन्दैछ छ - “आज व्रत हो, केही खानु हुँदैन ।” के धर्मको नाममा शरीरलाई यसरी थकित पार्दै जानु नै व्रत हो त  ?


यदि व्रतको अर्थ केवल दिनभरि भोकै बस्नु हो भने, त्यसको गहिरो आध्यात्मिक अर्थ कहाँ रहन्छ ? आखिर व्रत शरीरलाई कष्ट दिने अभ्यास हो कि आफूलाई अनुशासित गर्ने साधना ? पहिले यस कुरामा प्रष्ट हुनु जरुरी छ ।


सनातन धर्म र संस्कृतिमा ‘व्रत’ शब्दको अर्थ निकै व्यापक छ । व्रत भनेको केवल भोजन त्याग्नु होइन; सङ्कल्प, नियम, आत्मसंयम, सदाचार र आत्मशुद्धिको अभ्यास हो । शरीर, इन्द्रिय, मन र कर्मलाई निश्चित उद्देश्यमा अनुशासित गर्नु नै व्रतको मूल मर्म हो ।


शास्त्रीय परम्परामा व्रतलाई दृढ सङ्कल्प, नियम, प्रतिज्ञा र सदाचारयुक्त आचरणका रूपमा व्याख्या गरिएको पाइन्छ -

नियमो व्रतमित्युक्तं शीलसङ्कल्प एव च ।

स नियमो व्रतं प्राहुः प्रतिज्ञा शीलमेव च ॥

यसको भावार्थ हो- कुनै असल कार्यका लागि मनमा लिइने दृढ सङ्कल्प, नियम, प्रतिज्ञा र सदाचारयुक्त आचरण नै व्रत हो ।


निश्चित दिन भोजन त्याग्नु व्रतको एउटा विधि हुन सक्छ, तर व्रत त्यतिमै सीमित छैन । मनलाई संयमित राख्नु, इन्द्रियलाई नियन्त्रण गर्नु, सात्त्विक आहार लिनु, जप-ध्यान गर्नु, पूजा गर्नु, दान-सेवा गर्नु, खराब आचरणबाट टाढा रहनु र आफूले लिएको धार्मिक संकल्पमा दृढ रहनु, यी सबै व्रतका व्यापक आयाम हुन् । यस अर्थमा व्रत पेटको मात्र होइन, व्यवहारको, भोजनको र भावनाको पनि हो ।


व्रतको अझ गहिरो आध्यात्मिक अर्थ उपवास शब्दमा भेटिन्छ । उपवासलाई केवल भोजन नगर्ने अर्थमा बुझ्दा यसको मूल भाव साँघुरिन्छ ।

वाराहोपनिषद्मा भनिएको छ-

उप समीपे यो वासो जीवात्मपरमात्मनोः।

उपवासः स विज्ञेयो न तु कायस्य शोषणम् ॥

यसको भावार्थ- जीवात्मालाई परमात्माको नजिक राख्नु, उहाँकै ध्यान र चिन्तनमा लीन हुनु नै वास्तविक उपवास हो; केवल शरीरलाई भोकै राखेर वा कष्ट दिएर शरीरको शोषण गर्नु उपवास होइन । पेट खाली राखे तापनि मन क्रोध, ईर्ष्या, अहंकार र लोभले भरिएको छ भने उपवासको आध्यात्मिक उद्देश्य कहाँ पूरा हुन्छ र ? त्यसैले व्रतको दिन आफूलाई एउटा प्रश्न सोध्न सकिन्छ- आज मैले पेटलाई मात्र विश्राम दिएँ कि मनलाई पनि शुद्ध पार्ने प्रयास गरेँ ?


हाम्रा शास्त्रले अत्यन्त अर्थपूर्ण कुरा भनेका छन्- 

“शरीरमाद्यं खलु धर्मसाधनम् ।”

अर्थात् धर्मसाधना गर्ने पहिलो माध्यम नै शरीर हो ।

पूजा गर्न, तीर्थ जान, जप-तप गर्न र सेवा-दान गर्न पनि शरीरकै आवश्यकता पर्छ । शरीर नै अस्वस्थ भयो भने धर्मका अनेक कर्म गर्न कठिन हुन्छ । त्यसैले व्रत बस्दा एउटा आधारभूत कुरा बिर्सन हुँदैन- व्रत शरीरको शत्रु होइन, शरीर र मनलाई साधनाको सहयोगी बनाउने माध्यम हो । धर्मसाधना गर्न खोज्दा शरीर नै कमजोर बन्यो भने “निराहार बसेकाे छु” भन्दै गौरव गर्नु उचित हुँदैन । व्रतको उद्देश्य शरीरलाई नष्ट गर्नु होइन, शरीरलाई साधन बनाएर चेतनालाई परिष्कृत गर्नु हो ।


हाम्रो परम्परामा व्रतका विभिन्न विधि छन् । सबै व्रत एउटै किसिमका हुँदैनन् । कतिपयमा अन्न त्यागिन्छ, कतिपयमा फलाहार गरिन्छ, कतिपयमा एकपटक मात्र भोजन गरिन्छ । व्यक्ति, परम्परा, समय, स्थान र सामर्थ्यअनुसार व्रतको विधि फरक हुन सक्छ । आचार्य चाणक्यले भनेका छन्- 

इक्षुरापः पयो मूलं ताम्बूलं फलमौषधम् ।

भक्षयित्वाऽपि कर्तव्याः स्नानदानादिकाः क्रियाः ॥

अर्थात् ऊखुको रस, पानी, दूध, कन्दमूल, फलफूल तथा औषधि सेवन गरेर पनि स्नान, दान आदि धार्मिक कर्म गर्न सकिन्छ । यसको मर्म के हो भने धार्मिक कर्मको उद्देश्य शरीरलाई अनावश्यक रूपमा दुर्बल बनाउनु होइन । आवश्यकताअनुसार आहार ग्रहण गर्दै पनि धार्मिक संकल्प र कर्मलाई निरन्तरता दिन सकिन्छ ।


व्रतलाई केवल ‘भोक सहने प्रतियोगिता’ बनाउनु उचित हुँदैन । व्रतको वास्तविक मूल्य कति समयसम्म खाना खाइएन भन्नेमा भन्दा त्यो समयलाई कति संयम, साधना र आत्मचिन्तनमा प्रयोग गरियो भन्नेमा हुन्छ ।

व्रतको नाममा पानीसमेत नपिई लामो समय बस्नु सबैका लागि आवश्यक वा उपयुक्त हुन्छ भन्ने छैन । यस्तो कडा उपवासले मानिसमा निर्जलीकरण, कमजोरी, टाउको दुखाइ, चक्कर, अत्यधिक थकान वा रक्तचापमा उतारचढावजस्ता समस्या ल्याउन सक्छ । विशेषगरी उमेर, स्वास्थ्य अवस्था, औषधि सेवन, मौसम र शारीरिक गतिविधिअनुसार उपवासको प्रभाव फरक पर्न सक्छ ।


त्यसैले “जति कठोर व्रत, उति ठूलो पुण्य” भन्ने सरल समीकरण बनाउनु उचित हुँदैन । शरीरले साथ दिँदैन भने आफूलाई जबर्जस्ती कष्ट दिनु आध्यात्मिक उपलब्धि होइन । आवश्यक परे पानी, फलाहार वा स्वास्थ्यअनुकूल हल्का आहार लिनु व्रतको मूल भावनाविपरीत नै हुन्छ भन्ने मान्नु आवश्यक छैन । किनकि उपवासको शास्त्रीय अर्थ नै “न तु कायस्य शोषणम्” - शरीरको शोषण होइन भन्ने नै हाे । सामान्य दिनमा जिब्रोले भोजन रोजाउँछ तर व्रतमा संकल्प र विवेकले । सामान्य दिनमा इच्छा अगाडि हुन्छ; व्रतमा अनुशासन । त्यसैले व्रतको दिन भोजन त्यागेर बाँकी दिन क्रोध, ईर्ष्या, अहंकार, कटु वचन र लोभमा डुबिरहने हो भने व्रतको बाहिरी रूप पूरा भए पनि भित्री उद्देश्य अधुरै रहन्छ । यहीँ पुगेर व्रत भोजनको विषयबाट उठेर चरित्र निर्माणको विषय बन्छ ।


आज हामी निरन्तर उपभोगको संस्कृतिमा बाँचिरहेका छौँ । स्वाद, सुविधा, मनोरञ्जन र तत्काल सन्तुष्टिको पछि दौडिरहेका छौँ । यस्तो समयमा व्रतले हामीलाई केही समय रोकिएर आफूलाई हेर्ने अवसर दिन सक्छ । इच्छामाथि मेरो नियन्त्रण छ कि इच्छाले नै मलाई नियन्त्रण गरिरहेको छ ? यी प्रश्नतर्फ फर्काउने अभ्यास पनि व्रत हो । किनकि व्रतले हामीलाई अभावको अनुभूति मात्र गराउँदैन; आवश्यकता र इच्छाबीचको अन्तर बुझ्न पनि सिकाउँछ । त्यसैले व्रतको दिनलाई केवल “आज के खान पाइन्छ वा पाइन्न ?” भन्ने हिसाबले होइन, “आज आफूभित्र के घटाउन र के बढाउन सक्छु ?” भन्ने प्रश्नबाट पनि हेर्न सकिन्छ । व्रतको मूल्य आफूलाई कति दुःख दिइयो भन्ने कुराले होइन; आफूभित्र कति संयम, शुद्धता, करुणा, अनुशासन र आत्मबोध जाग्यो भन्ने कुराले निर्धारण हुन्छ ।


शरीर धर्मसाधनाको आधार हो । त्यसलाई कमजोर बनाएर धर्मसाधना गर्न सकिँदैन । शरीरलाई जोगाउँदै मनलाई अनुशासित गर्नु, स्वास्थ्यलाई सम्मान गर्दै श्रद्धालाई गहिरो बनाउनु र भोजनको संयमसँगै विचार र व्यवहारको पनि संयम गर्नु नै व्रतको सार हो । शरीरलाई कष्ट दिएर होइन, चेतनालाई परिष्कृत गरेर र भोजन त्यागेर मात्र होइन, विकार त्यागेर व्रत सार्थक हुन्छ ।

*****

Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता