Posts

Showing posts from July 19, 2026

लघुकथा : माेह

ढोकामा हल्का ढकढक.. भयो। ढोका खोल्दा ‘उज्यालो’ उभिएको थियो । उज्यालोभित्रबाट एउटा मधुर स्वर आयो- “हिँड, तिमीले जीवनभर खोजेको बैकुण्ठ तयार छ ।” म केहीबेर निस्तब्ध रहेँ । आँखाले एकनास उज्यालोतिर हेरिरह्यो, मन भने पछाडि- घरभित्र फर्कियो । भित्तामा अधुरा सपनाहरू झुन्डिरहेका थिए । काेठाकाे भुइँभरि जिम्मेवारीहरू असरल्ल छरिएका थिए । नाता-सम्बन्धहरू औँला समात्न खोजिरहेका थिए । बगैंचालाई छाेएर बगेको सुगन्धित हावा झ्यालभित्र पसिरहेको थियो- अझै केही क्षण बाँच्न मन लाग्ने गरी । मैले संकोचपूर्वक भनेँ- “यदि अनुमति दिनुहुन्छ भने... केही दिनपछि आउँछु ।” उज्यालो मुस्कुरायो । केही नभनी फर्कियो । ढोका बिस्तारै बन्द भयो । त्यही क्षण मनले भन्यो - देखिस् ! स्वर्ग प्राप्त गर्नुभन्दा पृथ्वी छोड्न सक्नु पाे कठिन छ त । ✍️ मुरारीराज मिश्र मधुपर्कमा प्रेषित २०८३-०४-१० मा

लघुकथा: खसेको कागज

समृद्ध घरको आँगनमा केही अभाव थिएन । तर नेतृत्व सधैं विवादकै छायाँमा रह्यो ।  बाबुको पालो सकिँदा जेठो कलहमै हरायो । माइलो पत्याइएन । साहिँलो ओझेल पर्‍यो । अन्ततः घरको साँचो कान्छोको हातमा पुग्यो । सबैले उसैमा नयाँ बिहानी देखे । तर बिहानी चाँडै धमिलिन थाल्यो । ऊ बोल्नभन्दा मौन बस्न रुचाउन थाल्यो । केही सीमित अनुहारमै मुस्कुरायो । परम्पराभन्दा अहं अग्लियो । घरभित्रका ढोका बन्द हुँदै गए, सँधियारतिरका झ्याल खुल्दै गए । यही फाटोमा छट्टु सँधियारले पुर्ख्यौली सिमानामै दाबी ठोक्यो । पर्खालको डोरी तन्कियो । घरभरि प्रतिवाद उठ्यो । सम्झाइका स्वर बढ्दै गए, तर कान्छोको मौनता भने अझ बाक्लिँदै गयो । एक दिन कान्छोबाहेक तीन दाजुभाइ आँगनमा चिन्ता साटासाट गर्दै थिए । घर्‍याक्क ! आवाज सुनियो । “को हो त्यहाँ ?” साहिँलोको स्वरले माथिका दुई छायाँ झस्किए । झ्याल-झ्यालबीच थमाइँदै गरेको रातो खोलको कागज हातबाट चिप्लियो । माइलाले उठायो । जेठोले खोल्यो । रातो खोल । भित्र- लालपुर्जा । ✍️ मुरारीराज मिश्र समष्टिमा प्रेषित २०८३-०४-१० मा

कविता : मौनता र मन

Image
कति शान्त छ- आकाश ! तर उस्तै अशान्त छ- मान्छे । तारा टाँगेर  घाउ सिउँछ आकाश । मान्छे भने मुस्कान भित्र चर्किन्छ । माथि- मौन आकाश । तल- कोलाहल मन ।      ✍️ मुरारीराज मिश्र