लघुकथा: खसेको कागज

समृद्ध घरको आँगनमा केही अभाव थिएन । तर नेतृत्व सधैं विवादकै छायाँमा रह्यो । 

बाबुको पालो सकिँदा जेठो कलहमै हरायो । माइलो पत्याइएन । साहिँलो ओझेल पर्‍यो । अन्ततः घरको साँचो कान्छोको हातमा पुग्यो । सबैले उसैमा नयाँ बिहानी देखे ।


तर बिहानी चाँडै धमिलिन थाल्यो ।


ऊ बोल्नभन्दा मौन बस्न रुचाउन थाल्यो । केही सीमित अनुहारमै मुस्कुरायो । परम्पराभन्दा अहं अग्लियो । घरभित्रका ढोका बन्द हुँदै गए, सँधियारतिरका झ्याल खुल्दै गए ।


यही फाटोमा छट्टु सँधियारले पुर्ख्यौली सिमानामै दाबी ठोक्यो । पर्खालको डोरी तन्कियो । घरभरि प्रतिवाद उठ्यो । सम्झाइका स्वर बढ्दै गए, तर कान्छोको मौनता भने अझ बाक्लिँदै गयो ।


एक दिन कान्छोबाहेक तीन दाजुभाइ आँगनमा चिन्ता साटासाट गर्दै थिए ।


घर्‍याक्क !


“को हो त्यहाँ ?”


साहिँलोको स्वरले माथिका दुई छायाँ झस्किए । झ्याल-झ्यालबीच थमाइँदै गरेको रातो खोलको कागज हातबाट चिप्लियो ।


माइलाले उठायो ।

जेठोले खोल्यो ।


रातो खोल ।

भित्र- लालपुर्जा ।


✍️ मुरारीराज मिश्र

Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"