मनोवाद: स्वर्गको खोज
✍️ मुरारीराज मिश्र स्वर्ग… यो शब्द सुन्नासाथ मन किन उज्यालोतिर दौडिन्छ ? र नर्क… यो शब्द उच्चारण गर्नेबित्तिकै मनभित्र किन एउटा अदृश्य भय जन्मिन्छ ? सानैदेखि सुन्दै आएको छु- असल कर्म गर, स्वर्ग पाइन्छ । पाप नगर, नर्क भोग्नुपर्छ । त्यसैले मानिस धर्म गर्छ, पूजा गर्छ, व्रत बस्छ, दान गर्छ, तीर्थ धाउँछ । सबैको कामना एउटै हुन्छ- “हे ईश्वर! अन्त्यमा स्वर्ग प्राप्त होस् ।” तर आज एउटा प्रश्नले मलाई छोड्न मानेको छैन । यदि भगवान् स्वयं मेरो अगाडि उभिनुभयो र मुस्कुराउँदै भन्नुभयो- “ल, तिमीले जीवनभर खोजेको बैकुण्ठ तयार छ । अब मेरो साथ लाग ।” के म तुरुन्तै उहाँसँग जान सकूँला ? सायद सक्दिनँ । म कुनै न कुनै बहाना बनाउँछु । भन्छु- अझ केही जिम्मेवारी बाँकी छन् । केही सपना अधुरा छन् । केही सम्बन्ध अधुरा छन् । अझ केही दिन... केवल केही दिन पृथ्वीमै बाँच्न पाए हुन्थ्यो । त्यसपछि म आफैँसँग अर्को प्रश्न गर्छु- यदि म स्वर्ग जान तयार नै छैन भने, म जीवनभर स्वर्ग किन खोजिरहेको छु ? सायद मानिसको सबैभन्दा ठूलो चाहना स्वर्ग होइन, जीवन हो । ऊ अमरताको सपना देख्छ, बाँच्न चाहन्छ । आफ्न...