Posts

Showing posts from February 26, 2023

लघुकथा : एक्ली छाेरी

Image
   ✍️ मुरारीराज मिश्र, भदाको विहेको लागि केटीको प्रस्ताव आएकोले त्यस प्रस्ताव माथि छलफल गर्न विजयाको माइतीमा आज पारिवारिक जमघट थियो । छलफलको क्रममा लमीबाट केटीको घरपरिवार, पढाइ, उमेर, रुपरंग, जागिर लगायतका बारेमा सबै कुरा सुनिसकेपछि केटा लगायत केटापक्षका प्रायःजसो सदस्यहरु विवाहका लागि सहमत भए । तर विजयाले अरुभन्दा नितान्त फरक धारणा राखिन् । उनले भनिन् "केटी बाबुआमाको एक्लो सन्तान रहिछन् । उनका बाबुआमाको शेषपछि माइती, मावली र ससुराली जाने बाटो नै रहन्न । त्यसैले यो प्रस्ताव त्यति उचित लागेन मलाई त !" उनको यस भनाइले बातावरण एकाएक गम्भीर बन्यो । एकछिन सबै चुपचाप भए ! के भन्ने के, नभन्ने कसैले मेसै पाएनन् । त्यो मौनतालाई तोड्दै विजयाकी छोरी सुलक्षणाले आमातर्फ हेर्दै भनिन् "कम्तीमा तपाईंले त यस्तो सोच राख्न नपर्ने हो नि आमा ! मेरो र बहिनीको घरपरिवारले पनि त्यतिबेला यस्तै सोच राखेको भए हाम्रो विवाह कसरी हुन्थ्यो ! हाम्रो पनि त सहोदर दाजुभाइ छैनन् नि !" अब चुप लाग्ने पालो विजयाको थियो । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७ ) दाेभान, २०८२ कार्तिक-पाैषमा प्रकाशित