लघुकथा : एक्ली छाेरी

   ✍️ मुरारीराज मिश्र,

भदाको विहेको लागि केटीको प्रस्ताव आएकोले त्यस प्रस्ताव माथि छलफल गर्न विजयाको माइतीमा आज पारिवारिक जमघट थियो ।

छलफलको क्रममा लमीबाट केटीको घरपरिवार, पढाइ, उमेर, रुपरंग, जागिर लगायतका बारेमा सबै कुरा सुनिसकेपछि केटा लगायत केटापक्षका प्रायःजसो सदस्यहरु विवाहका लागि सहमत भए । तर विजयाले अरुभन्दा नितान्त फरक धारणा राखिन् । उनले भनिन् "केटी बाबुआमाको एक्लो सन्तान रहिछन् । उनका बाबुआमाको शेषपछि माइती, मावली र ससुराली जाने बाटो नै रहन्न । त्यसैले यो प्रस्ताव त्यति उचित लागेन मलाई त !"

उनको यस भनाइले बातावरण एकाएक गम्भीर बन्यो । एकछिन सबै चुपचाप भए ! के भन्ने के, नभन्ने कसैले मेसै पाएनन् ।


त्यो मौनतालाई तोड्दै विजयाकी छोरी सुलक्षणाले आमातर्फ हेर्दै भनिन् "कम्तीमा तपाईंले त यस्तो सोच राख्न नपर्ने हो नि आमा ! मेरो र बहिनीको घरपरिवारले पनि त्यतिबेला यस्तै सोच राखेको भए हाम्रो विवाह कसरी हुन्थ्यो ! हाम्रो पनि त सहोदर दाजुभाइ छैनन् नि !" अब चुप लाग्ने पालो विजयाको थियो ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७ )

दाेभान, २०८२ कार्तिक-पाैषमा प्रकाशित 

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"