साइकल यात्रामार्फत विश्वलाई हरित सन्देश
✍️ मुरारीराज मिश्र जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै हिमनदीहरू पग्लिरहेका छन्, जैविक विविधता सङ्कटमा परेको छ र प्राकृतिक विपत्तिहरूको आवृत्ति बढ्दै गएको छ । हामी अहिले विकासको नयाँ युगमा बाँचिरहेका छौँ । सडक विस्तार भएका छन्, अग्ला भवनहरू ठडिएका छन्, उद्योगहरू बढेका छन् र प्रविधिले संसारलाई एउटा गाउँजस्तै बनाइदिएको छ । निस्सन्देह, यी विकासका सूचक हुन् । तर अर्कोतर्फ पृथ्वीको तापक्रम बढिरहेको छ, हिमालका हिउँ पग्लिरहेका छन्, पानीका मुहान सुक्दै गएका छन् र स्वच्छ हावा पनि दुर्लभ बन्दै गएको छ । यी सबै प्रकृतिका मौन चेतावनी हुन् । यदि विकासका नाममा सबै रुख काटिए र स्वच्छ हावा नै दुर्लभ बन्यो भने, त्यस्तो विकासको अर्थ के रहला ? हालै संयुक्त राष्ट्र महासभाले हरितगृह ग्यास उत्सर्जन घटाउने तथा विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा राष्ट्रहरूको दायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । अन्तर्राष्ट्रिय न्यायालयले निर्दिष्ट गरेका जलवायु सम्बन्धी दायित्वहरूको पालना गर्न राष्ट्रहरूलाई आह्वान गर्ने उक्त प्रस्तावको पक्षमा नेपालले पनि समर्...