कथा: खामभित्रको सत्य

 ✍️ मुरारीराज मिश्र


“मेरो मृत्युपछि मात्र यो खाम खोल्नू ।”

हरिनारायणको जीवनको अन्तिम वाक्य यही थियो ।

ओछ्यानको सिरानीमा अडेस लागेर बसेका उनले तीनैजना छोरातिर एकपटक पुलुक्क हेरे । त्यो दृष्टिमा स्नेह थियो कि क्षमा याचना, छुट्याउन सकिँदैनथ्यो । त्यसको केही क्षणपछि उनका आँखा स्थिर भए ।

उनको मृत्युुमा, गाउँलेले भने - एउटा असल मानिस गयो ।कसैले भने - समाजले अभिभावक गुमायो । र, सायद हरिनारायण स्वयंले आफ्नो मृत्युुपछि भन्न पाएका भए भन्थे हाेला - एउटा अपराधी मर्‍यो !

हरिनारायणलाई गाउँलेहरूले दानी, परोपकारी र सहृदयी मानिसका रूपमा चिन्थे । 

रात परेपछि उनी प्रायः आफ्नै घरको आँगनमा धेरैबेरसम्म एक्लै टाेलाएर बस्ने गर्थे । 

“के भयो बुबा ?” कान्छो दिनेशले त्यस्तो अवस्थामा धेरैपटक सोधेको थियो ।

“केही होइन, पुरानो सपना थियो” उनी उत्तर दिन्थे ।

तर त्यो सपना थिएन । 

स्मृति थियो ।

चालीस वर्षअघि एउटा घरको ढोका, अँध्यारो कोठा, झस्किएर उठेका एक दम्पती, हातपात, धकेलाधकेल... अनि भुइँमा लडेको एउटा निस्पन्द शरीर । त्यसपछि अर्को ।

जेलका वर्षहरूभन्दा ती केही क्षणले उनलाई बढी सजाय दिएका थिए ।

जेलबाट बाहिर निस्किएपछि उनले सम्पत्ति पाए । सम्पत्तिले सम्मान र प्रतिष्ठा दिलायाे; तर शान्ति कहिल्यै पाएनन् । सायद त्यसैले उनले तीन अनाथ बालकलाई आफ्नो जीवनमा भित्र्याएका थिए । अरूका लागि त्यो दया देखिन्थ्यो, उनका लागि प्रायश्चित । शायद, आत्मग्लानि मानिसको सबैभन्दा ठूलो सजाय हुने रहेछ !

किरियाकर्म सकिएको तेस्रो दिन साँझ तीनै छोरा बैठक कोठामा भेला भए ।

भित्तामा माल्यार्पण गरिएको हरिनारायणको तस्वीर झुन्डिएको थियो । तस्वीरमुनि उनले मर्नु अघि दिएको पुरानो खाम राखिएको थियो ।

जेठो सुरेश सरकारी जागिरे थियो। व्यवहारमा अनुशासित र जिम्मेवार देखिए पनि ऊ अधिकारप्रति अत्यन्त सचेत थियो । घरका अधिकांश निर्णय उसैले गर्थ्यो । 

माइलो रमेश व्यवसायी थियो । ऊ हरेक कुरालाई नाफा-नोक्सानको हिसाबले हेर्ने बानीको थियो । भावनाभन्दा व्यवहारिकतामा विश्वास गर्थ्यो उ ।

कान्छो दिनेश भने फरक थियो। ऊ विद्यालयमा पढाउँथ्यो । भावुक स्वभावको थियो र बुबासँग उसको सम्बन्ध अरूभाइहरूको भन्दा नजिक थियो ।

“खोलौँ ?” खाम हातमा लिंदै सुरेशले सोध्यो । 

कसैले उत्तर दिएन । तर मौनताले नै स्वीकृति जनायो ।

खाम खोलियो ।

भित्र समयको धुलोले पहेँलिएको एउटा पत्र थियो ।

सुरेशले पढ्न थाल्यो -

“प्रिय छोराहरू, 

तिमीहरूले यो पत्र पढ्दै गर्दा, म यो संसारमा हुने छैन् ।

सबैभन्दा पहिले एउटा सत्य स्वीकार गर्छु - तिमीहरू मेरा जैविक सन्तान होइनौ । तिमीहरूलाई मैले विभिन्न अनाथालयबाट ल्याएर हुर्काएको हुँ ।”

दिनेश झसङ्ग भयो । 

रमेशले ओठ टोक्यो ।

सुरेशको स्वर भारी भयो ।

उसले अगाडि पढ्न थाल्यो ।

“मैले यो कुरा कहिल्यै बताइन, किनकि सम्बन्ध रगतले होइन, ममताले बन्छ भन्ने विश्वास थियो मलाई । तर, मैले लुकाएको अर्को सत्य अझ गहिरो छ ।

आजभन्दा चालीस वर्षअघि म एउटा अपराधी थिएँ ।

चोरी गर्न पसेको घरमा झडप हुँदा मेरो हातबाट एक दम्पतीको मृत्यु भयो ।”

कोठाभित्रको हावा एकाएक बाक्लिएझैँ लाग्यो ।

भित्तामा झुन्डिएको तस्वीरका हरिनारायण छाेराहरूलाई एकाएक अपरिचित लाग्न थाले ।

“मैले जेल सजाय भोगेँ । 

वर्षौँपछि बाहिर निस्कँदा संसार बदलिइसकेको थियो । तर एउटा कुरा बदलिएको थिएन - मेरो अपराध ।

मारेका ती दम्पतीका कुनै नजिकका आफन्त थिएनन् । कानुनी प्रक्रियाले उनीहरूको सम्पत्ति अन्ततः मेरो नाममा आयो ।

कानुनले त मलाई सजाय दियो र मुक्त पनि गर्‍यो । तर मेरो विवेकले भने कहिल्यै क्षमा गरेन ।

रातहरू मेरा लागि सबैभन्दा कठिन हुन्थे । निद्राभित्र पनि ती दम्पतीका अनुहारहरू आउँथे । म ब्यूँझिन्थेँ । 

यसपछि मैले बाँकी जीवन प्रायश्चितमा बिताउने बिचार गरें ।

अनाथ बालबालिकाहरूलाई आफ्नो जीवनमा भित्र्याएँ । सायद अरूको जीवनमा थोरै उज्यालो बाँडेर आफ्ना अँध्याराहरू कम गर्न सकिन्छ कि भन्ने भ्रम थियो मभित्र ।”

दिनेशका आँखामा आँसु टिलपिलाए ।

उसलाई सम्झना आयो - 

धेरै रात बुबा आँगनमा एक्लै टोलाइरहेको उसले देखेको थियो । त्यतिबेला उसले सोचेको थियो - वृद्धावस्थाको अनिद्रा होला । तर, आज बुझ्दै थियो - त्यो अनिद्रा होइन, अपराधको जाग्राम रहेछ !

“जब अनाथ बालबालिकाहरूलाई हुर्काएँ, 

मानिसहरूले मलाई परोपकारी भने ।

तर म जान्दथेँ - म केवल आफ्नो अपराधसँग सम्झौता गर्न खोजिरहेको थिएँ ।”

दिनेशले फेरि सम्झियाे - बुबाले कुनै चाडपर्वमा रमाइलो गरेर हाँसेका थिएनन् । मुस्कुराउँथे, तर त्यो मुस्कानभित्र कुनै पीडा लुकेकोजस्तो हुन्थ्यो ।

पत्रमा अन्तिम पृष्ठ बाँकी थियो ।

सुरेशले काँपिरहेको स्वरमा पुन: पढ्न थाल्यो -

“तर एउटा सत्य अझै बाँकी छ ।

मबाट मारिएका दम्पती निसन्तान थिएनन् ।

उनीहरूको एउटा दूधेछोरा थियो ।

वर्षौँको खोजपछि मैले थाहा पाएँ, घटनापछि हराएको त्यो बालक कसैको सहारामा एउटा अनाथालय पुगेको रहेछ । मैले पत्ता लगाएर उसलाई आफ्नो घर ल्याएँ ।”

तीनै जनाको मुटु एकैचोटि जोडले धड्कियो ।

अन्तिम हरफ बाँकी थियो ।

“त्यो छोरा तिमीहरूमध्ये एकजना हौ ।”

चिठी सकियो ।

कोठामा सन्नाटा छायाे ।

घडीको टिकटक मात्र सुनिन्थ्यो ।

सुरेशले रमेशतिर हेर्‍यो ।

रमेशले दिनेशतिर ।

दिनेशले भित्तामा झुन्डिएको तस्वीरतिर ।

अचानक उनीहरू तीन जना दाजुभाइ होइन, तीन सम्भावित जीवनकथाजस्ता लाग्न थाले ।

कसको बुबाआमा मारिएका थिए ?

कसले आफ्नै आमाबुबाको हत्यारालाई जीवनभर “बुबा” भनेर सम्मान गर्‍यो ?

कसले आफ्नो वास्तविक पहिचान गुमायो ?

यी प्रश्नहरू उनीहरूको बीचमा अदृश्य रूपमा उभिएका थिए ।

लामो समयसम्म कोही बोलेन ।

अन्ततः रमेशले मौनता तोड्यो ।

“जग्गाको लालपुर्जा कहाँ राख्नुभएको रहेछ ?”

सुरेश झस्कियो ।

“पहिले सम्पत्तिको सूची हेर्नुपर्छ,” उसले भन्यो ।

दिनेशले केही भन्न खोज्यो । उसका ओठ खुले । तर शब्द निस्केनन् ।

टेबलमा बैंक खाताको विवरण, घरको नक्सा, जग्गाधनी प्रमाणपत्रहरू फैलिन थाले ।

केही बेरअघि संसारकै ठूलो प्रश्न बनेको सत्य बिस्तारै कागजका थुप्राहरूमुनि पुरिँदै गयो ।

दिनेशले अन्तिमपटक बुबाको तस्वीरतिर हेर्‍यो । त्यस तस्वीरमा उसले एक अनौठो थकान देख्याे । 

बाहिर अँध्यारो गहिरिँदै थियो ।

भित्र सम्पत्तिको हिसाब चलिरहेको थियो ।

र चिठीको अन्तिम प्रश्न, उत्तर नपाएर, कोठाको कुनै अँध्यारो कुनामा थन्किएको थियो । तर त्यसको उत्तर खोज्ने फुर्सद कसैसँग थिएन ।

त्यो रात सम्पत्तिले आफ्नो उत्तराधिकारी भेट्टायो; तर सत्यले भेट्टाउन सकेन ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौ- ७)


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भजन/श्लोक (भावानुवाद)