यात्रा-संस्मरण : डाँडामाथिको आशा
✍️ मुरारीराज मिश्र नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये मनकामनाको नाम नसुन्ने सायदै कोही होला । वर्षौँदेखि हजारौँ भक्तजनलाई आकर्षित गरिरहेको त्यो तीर्थस्थल नेपाली धार्मिक चेतनाको एउटा अभिन्न अंश बनिसकेको छ । एक दिन मनमा एउटा अनौठो प्रश्न उठ्यो - यदि मनका कामना पूरा गर्ने मनकामना छिन् भने इच्छाका कामना पूरा गर्ने इच्छाकामना कहाँ छिन् ? नाम सुनेको थिएँ, तर त्यहाँ पुगेका मानिसको अनुभव कमै सुनिन्थ्यो । त्यसैले जिज्ञासाले मनमा एउटा सानो यात्रा जन्मायो । त्यो यात्रा केवल एउटा मन्दिरसम्म पुग्ने यात्रा थिएन; त्यो ओझेलमा परेको एउटा आस्थास्थल, एउटा भूगोल र एउटा सम्भावनाको खोजी पनि थियो । २०७९ साल मंसिर २४ गते बिहान पाँच बजे हाम्रो पारिवारिक टोली एकदिन धार्मिक यात्रामा निस्कियो । हामी सानीआमा र ठूलीआमा दुई दिदिबहिनीका सन्तानहरू तथा चालकदलसहित करिब तीस जनाको समूहमा भ्रमणको उत्साह, कौतूहल र रमाइलो सबै मिसिएका थिए । पृथ्वी राजमार्ग हुँदै अघि बढ्दै गर्दा पूर्व क्षितिजमा उज्यालो बिस्तारै फैलिँदै थियो । निद्राबाट ब्युँझँदै गरेका गाउँहरू, स्वागतका लागि पर्खिरहेका झैं लाग्ने घरहरू र चिसो बिहानीको सन्ना...