डाँडामाथिको आशा : इच्छाकामनासम्मको यात्रा

यात्रा संस्मरण 

                  ✍️ मुरारीराज मिश्र

नेपालका तीर्थस्थलहरू नेपाली धार्मिक चेतनाका अभिन्न आधारस्तम्भ हुन् । ती केवल पूजा-आराधनाका केन्द्र मात्र होइनन्, आस्था, इतिहास, संस्कृति र जनविश्वासका जीवित अभिलेख पनि हुन् । कतिपय तीर्थहरू युगौँदेखि जनमानसमा प्रतिष्ठित छन् भने कतिपय अझै पहाडका कुना-कन्दरामा मौन साधनारत ऋषिजस्तै आफ्नै प्रतीक्षामा छन् ।

एक दिन मनमा एउटा अनौठो प्रश्न उठ्यो- यदि मनका कामना पूरा गर्ने मनकामना छिन् भने इच्छाका कामना पूरा गर्ने इच्छाकामना कहाँ छिन् ? नाम सुनेको थिएँ, तर त्यहाँ पुगेका मानिसका अनुभव कमै सुनिन्थे । मनमा फेरि अर्को प्रश्न उब्जियो- के आस्थाको मूल्य पनि प्रसिद्धिले निर्धारण गर्छ ? कि मानिसको भीडले मात्र कुनै स्थानलाई पवित्र बनाउँछ ? यिनै प्रश्नहरूको उत्तर खोज्ने जिज्ञासाले मनमा एउटा सानो यात्रा जन्मायो । त्यो यात्रा केवल एउटा मन्दिरसम्म पुग्ने यात्रा थिएन; त्यो ओझेलमा परेको एउटा आस्थास्थल, एउटा भूगोल र एउटा सम्भावनाको खोजी पनि थियो ।

२०७९ साल मंसिर २४ गते बिहान पाँच बजे हाम्रो पारिवारिक टोली यात्रामा निस्कियो । सानीआमा र ठूलीआमाका सन्तानहरू तथा चालकदलसहित करिब तीस जनाको हाम्रो टोलीमा उत्साह, कौतूहल र आत्मीयता एकसाथ मिसिएका थिए । बसभित्र कसैले पुराना पारिवारिक सम्झनाहरू सुनाइरहेका थिए, कसैले गन्तव्यबारे अनुमान गर्दै प्रश्नहरू सोधिरहेका थिए । एकजना भाइले हाँस्दै भने, “हेराैं न, इच्छाकामनाले साँच्चै इच्छा पूरा गरिदिन्छिन् कि दिँदिनन् !” सबै हाँस्यौँ । तर भित्रभित्रै प्रत्येकले आ-आफ्ना मौन इच्छाहरू बोकेका थियौँ ।

पृथ्वी राजमार्ग हुँदै अघि बढ्दै गर्दा पूर्व क्षितिजमा उज्यालो बिस्तारै फैलिँदै थियो । निद्राबाट ब्युँझँदै गरेका गाउँहरू, स्वागतका लागि पर्खिरहेका झैं लाग्ने घरहरू र चिसो बिहानीको सन्नाटा हाम्रो यात्राका मौन सहयात्री बनेका थिए । बिहानको त्यो उज्यालोले केवल आकाश मात्र उजिल्याएको थिएन, यात्राप्रतिको उत्सुकतालाई पनि उज्यालो बनाइरहेको थियो ।

कुरिनटार नजिकैको फिस्लिङ बजारबाट माथि उक्लिने सडकले भने यात्राको स्वरूप नै फेरिदियो । घुमाउरा मोडहरू, उकालो चढाइ र ठाउँ-ठाउँका खाल्डाखुल्डीले सडक अझै विकासको प्रतीक्षामा रहेको संकेत गर्थे । तर प्रकृतिले भने त्यो असजिलोपनलाई सजिलै ढाकिदिएको थियो । सडकका दुवैतर्फ सुनौलो रङले झलमल्लिएका सुन्तलाका बगैंचाहरू थिए । कतै किसान बारीमा व्यस्त देखिन्थे, कतै पहाडका काखमा अडेस लागेका घरहरू । 

बीच-बीचमा झ्यालबाट टाढा हिमालतर्फ दृष्टि पुग्थ्यो । नीलो आकाशमुनि चम्किरहेका हिमशृङ्खलाहरूले यात्रालाई कुनै कुशल चित्रकारको जीवित क्यानभासमा रूपान्तरण गरिदिएका थिए । यात्रालाई कहिलेकाहीँ गन्तव्यभन्दा पनि बाटोले सुन्दर बनाउँछ । त्यो दिन मलाई पनि यस्तै लागिरहेको थियो । प्रकृतिका ती दृश्यहरूले मानौँ भनिरहेका थिए- “गन्तव्यमा पुग्नुअघि बाटोलाई पनि मनले पढ्न सिक ।”

घरबाट हिंडेकाे करिब पाँच घण्टापछि हामी इच्छाकामना देवीको मन्दिर परिसरमा पुग्यौँ । समुद्री सतहबाट झण्डै १८०० मिटर उचाइमा अवस्थित त्यो स्थानमा पाइला टेक्नेबित्तिकै एउटा अनौठो शान्ति अनुभूत भयो । तल बेँसीतिरका हल्ला, भीडभाड र दैनिक जीवनका चटारोहरू त्यहाँ आइपुग्दा कतै टाढा छुटिसकेका जस्ता लाग्थे । हावामा चिसोपन थियो, तर त्यसमा एउटा पवित्र स्पर्श पनि मिसिएको अनुभूति हुन्थ्यो ।

मन्दिर परिसरबाट चारैतिर दृष्टि डुलाउँदा प्रकृतिले आफ्ना सबै रङहरू उदारतापूर्वक खर्च गरेको जस्तो लाग्थ्यो । डाँडामाथि डाँडा, हरियालीका तहहरू, टाढा हिमरेखा र तलतिर छरिएका गाउँबस्तीहरू सबै मिलेर एउटा विशाल दृश्य-कविता रचिरहेका थिए । मनले भन्यो, “यहाँ केवल देवीको दर्शन गर्न मात्र होइन, आफ्नै मनलाई भेट्न पनि आउनुपर्ने रहेछ !”

त्यो क्षण म केहीबेर निस्पन्द उभिइरहेँ । मानिस जीवनभर कतै न कतै पुग्न हतार गरिरहन्छ, तर कहिलेकाहीँ यस्ता स्थानहरूले उसलाई रोकिन, आफैँलाई हेर्न र आफ्नै मौनसँग संवाद गर्न सिकाउँछन् । डाँडाको त्यो शान्त वातावरणमा प्रकृति र अध्यात्म एकअर्कामा विलीन भएझैँ लाग्थे ।

हामी पुगेका बेला मन्दिरको पुनर्निर्माण कार्य चलिरहेको थियो । देवीको मूर्ति अस्थायी रूपमा राखिएको सानो कोठामा श्रद्धापूर्वक पूजा-आराधना गर्‍याैं । घण्टीको मधुर ध्वनि, अगरबत्तीको सुगन्ध र भक्तजनका प्रार्थनाले वातावरणलाई अझ आध्यात्मिक बनाइरहेको थियो । त्यहाँ उपस्थित प्रत्येक व्यक्तिको मनमा कुनै न कुनै अधूरो चाहना, कुनै न कुनै मौन प्रार्थना अवश्य थियो । सायद कसैले स्वास्थ्य मागेको थियो, कसैले सफलता, कसैले सन्तानको सुख, कसैले मनको शान्ति । 

देवीको सामुन्ने उभिँदा सबैका अनुहार फरक थिए, कामना फरक थिए; तर प्रार्थनाको भाषा भने एउटै थियो- मौन । त्यो मौनमा पनि एउटा संवाद थियो- मानिस र देवीबीचको संवाद । शब्दले व्यक्त गर्न नसक्ने कुरा कहिलेकाहीँ मौनताले सहजै व्यक्त गरिदिन्छ । सायद प्रार्थनाको वास्तविक भाषा पनि यही हो ।

दर्शनपछि हामीले मन्दिर परिसर वरिपरि समय बितायौँ । घरबाटै तयार पारेर ल्याइएको भोजन सामूहिक रूपमा ग्रहण गर्दा यात्राको आत्मीयता झन् प्रगाढ बन्यो । हाँसो, ठट्टा, सम्झना र सामूहिकताले त्यो दिनलाई केवल धार्मिक भ्रमण नभई पारिवारिक उत्सवमा रूपान्तरण गरिदियो । कसैले बाल्यकालका रमाइला प्रसङ्ग सुनायो, कसैले पुराना पारिवारिक भेटघाट सम्झियो । ती क्षणहरूमा यात्रा केवल गन्तव्यसम्म पुग्नु मात्र होइन, सम्बन्धहरूलाई पुनः नजिक ल्याउने माध्यम पनि हो भन्ने अनुभूति भयो । देश बाहिर रहेका र विविध कारणले आज आउन नपाएका पारिवारिक सदस्यहरूकाे सम्झनाले भने केही खल्लोपनाकाे आभाष दिलायाे ।

त्यही क्रममा स्थानीय बुढापाकासँग कुराकानी गर्ने अवसर पनि मिल्यो । उनीहरूका अनुसार वि.सं. १९६५ तिर मनिराज दर्लामी नामका एक गोठालाले यस स्थानमा देवीको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरूले ढुंगाको मन्दिर निर्माण गरी पूजा-आराधना सुरु गरेका हुन् । भक्तजनको इच्छा पूरा गर्ने शक्तिका कारण देवीको नाम ‘इच्छाकामना’ रहन गएको विश्वास गरिन्छ ।

स्थानीय जनश्रुतिले यस मन्दिरलाई अझ रोचक बनाउँछ । गोरखाको मनकामना, गोरखकाली, तनहुँकी छिम्केश्वरी र चितवनकी इच्छाकामनालाई दिदीबहिनीका रूपमा मान्ने चलन रहेछ । मनकामना र इच्छाकामनाबीच भएको भनिएको श्रापको कथा आज पनि स्थानीयहरू रोचक ढङ्गले सुनाउँछन् । किंवदन्तीअनुसार, कुनै समय मनकामना र इच्छाकामनाबीच ‘को ठूलो’ भन्ने विषयमा विवाद परेछ । रिसको झोंकमा इच्छाकामनाले मनकामनालाई ‘सुँगुरको बलि चढाइने’ श्राप दिइन् भने मनकामनाले इच्छाकामनालाई ‘भक्तजनको अभाव हुने’ श्राप दिइछन् । यद्यपि किंवदन्तीको सत्यता प्रमाणित गर्न सकिँदैन, तर मनकामनामा लाग्ने भीड र इच्छाकामनाको अपेक्षाकृत सुनसान परिवेश हेर्दा ती कथाहरू लोकस्मृतिमा किन टिकिरहेछन् भन्ने सहजै बुझ्न सकिन्छ ।

तर इच्छाकामनाको वास्तविक कथा जनश्रुतिभन्दा पनि यसको अदृश्य सम्भावना र भविष्यमा लुकेको देखिन्छ । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पदयात्राको आकर्षण एकै ठाउँमा भेटिने यस्तो स्थल नेपालमा धेरै छैनन् । तर पर्याप्त पूर्वाधारको अभाव, सार्वजनिक यातायातको न्यूनता, विश्रामस्थल, खानेपानी, शौचालय तथा सूचना केन्द्रहरूको कमीले यसको विकासलाई सीमित बनाएको देखिन्छ । प्रकृतिले प्रशस्त दिएको छ, तर समाजले त्यसलाई व्यवस्थित रूपमा उजागर गर्न अझै सकेको छैन ।

दिउँसो साढे एक बजे फर्किने बेला भयो । बस ओरालो झर्दै गर्दा म बारम्बार पछाडि फर्केर त्यो डाँडातर्फ हेरिरहेँ । बिस्तारै मन्दिर आँखाबाट ओझेल पर्दै गयो, तर मनबाट भने हटेन । केही ठाउँहरू यस्ता हुन्छन्, जहाँबाट हामी फर्किन्छौँ, तर ती ठाउँहरू हामीभित्रै बसिरहन्छन् । इच्छाकामना पनि मेरो लागि त्यस्तै ठाउँ बनेर रह्यो ।

घर फर्किएपछि पनि एउटा प्रश्न मनमा घुमिरह्यो- आखिर ‘इच्छाकामना’ भनेको के हो ? सायद इच्छाकामना केवल देवीको नाम मात्र होइन, त्यो मानिसभित्र कहिल्यै नमर्ने आशाको अर्को नाम पनि हो । जीवनका असंख्य संघर्ष, अभाव र अनिश्चितताबीच पनि मानिसले भोलिको कुनै सुन्दर सम्भावनामा विश्वास गरिरहनु नै इच्छाकामना हो । त्यसैले त्यहाँ पुगेर फर्कँदा लाग्यो- “मानिसहरू देवीसँग इच्छा माग्न जान्छन् र फर्कँदा आफूभित्र सुतेको आशालाई फेरि ब्युँझाएर ल्याउँछन् ।” 

वास्तवमा मानिसको सम्पूर्ण जीवन नै आशाको यात्रामा अडिएको हुन्छ । आशा नहुने हो भने न प्रार्थनाको अर्थ रहन्छ, न तीर्थको, न यात्राको, न भविष्यका सपनाहरूको । आशाले नै मानिसलाई बाँच्न, नाच्न र हाँस्न सिकाएको छ । आशा नै त्यस्तो तत्व हो जसले अन्धकारको गहिराइमा पनि उज्यालोको सम्भावना देखाउँछ, असफलताका बीच पुनः उठ्ने साहस दिन्छ र पीडाका क्षणहरूमा धैर्यको दीप बालिरहन्छ । यही आशाकै भरमा मानिस कठिन बाटो हिँड्छ, संघर्षसँग जुध्छ र भोलि आजभन्दा राम्रो हुनेछ भन्ने विश्वासका साथ जीवनलाई अगाडि बढाइरहन्छ ।

सायद यही कारणले डाँडाको टुप्पोमा शान्त भावले विराजमान इच्छाकामना देवी आज पनि केवल भक्तहरूको प्रार्थना सुन्दै छैनन्; उनी मानिसभित्र बाँचेको विश्वास, आशा र सम्भावनाको दीपशिखालाई पनि जोगाइरहेकी छन् । त्यसैले इच्छाकामनाको यात्रा एउटा मन्दिरसम्म पुगेर समाप्त हुँदैन; त्यसले मानिसको आफ्नै अन्तर्मनसम्म पुगेर मात्र पूर्णता पाउँछ ।

*** समाप्त ***


Comments

Popular posts from this blog

संस्मरण: वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"