साइकल यात्रामार्फत विश्वलाई हरित सन्देश
✍️ मुरारीराज मिश्र
जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ । पृथ्वीको तापक्रम वृद्धिसँगै हिमनदीहरू पग्लिरहेका छन्, जैविक विविधता सङ्कटमा परेको छ र प्राकृतिक विपत्तिहरूको आवृत्ति बढ्दै गएको छ ।
हामी अहिले विकासको नयाँ युगमा बाँचिरहेका छौँ । सडक विस्तार भएका छन्, अग्ला भवनहरू ठडिएका छन्, उद्योगहरू बढेका छन् र प्रविधिले संसारलाई एउटा गाउँजस्तै बनाइदिएको छ । निस्सन्देह, यी विकासका सूचक हुन् । तर अर्कोतर्फ पृथ्वीको तापक्रम बढिरहेको छ, हिमालका हिउँ पग्लिरहेका छन्, पानीका मुहान सुक्दै गएका छन् र स्वच्छ हावा पनि दुर्लभ बन्दै गएको छ । यी सबै प्रकृतिका मौन चेतावनी हुन् । यदि विकासका नाममा सबै रुख काटिए र स्वच्छ हावा नै दुर्लभ बन्यो भने, त्यस्तो विकासको अर्थ के रहला ?
हालै संयुक्त राष्ट्र महासभाले हरितगृह ग्यास उत्सर्जन घटाउने तथा विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा राष्ट्रहरूको दायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । अन्तर्राष्ट्रिय न्यायालयले निर्दिष्ट गरेका जलवायु सम्बन्धी दायित्वहरूको पालना गर्न राष्ट्रहरूलाई आह्वान गर्ने उक्त प्रस्तावको पक्षमा नेपालले पनि समर्थन जनाएको छ । यसले जलवायु संरक्षण अब केवल नैतिक आग्रहको विषय मात्र नभई अन्तर्राष्ट्रिय उत्तरदायित्व बनेको स्पष्ट सन्देश दिएको छ ।
वास्तवमा, मानव जीवनलाई सहज, समृद्ध र आधुनिक बनाउन गरिने विकासका गतिविधि र प्रकृतिको संरक्षणबीच उत्पन्न हुने असन्तुलन नै विकास र वातावरणबीचको द्वन्द्व हो । सडक, पुल, विद्यालय, अस्पताल, उद्योग र जलविद्युत् विकासका आधार हुन् । तर योजना, विज्ञान र वातावरणीय जिम्मेवारीबिना गरिने विकासले वन विनाश, वायु, जल र माटो प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तन, बाढी, पहिरो, डढेलो र खडेरीजस्ता गम्भीर समस्या निम्त्याउँछ । त्यसैले आज विकासको गति मात्र होइन, त्यसको दिशा पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । यही विश्वव्यापी चेतना र दायित्वलाई व्यवहारमा उतार्ने प्रयासका रूपमा नेपालका शुभप्रसाद शर्माले सञ्चालन गरिरहेको ‘भवानी शुभयात्रा विश्वव्यापी साइकल यात्रा तथा वृक्षारोपण अभियान’ विशेष रूपमा उल्लेखनीय देखिन्छ । सम्मेलनका भाषण र कागजी प्रतिबद्धताभन्दा बाहिर निस्केर उनले वातावरणीय सन्देशलाई कर्ममा रूपान्तरण गर्ने साहसिक अभियान अघि बढाएका छन् ।
साइकल आफैंमा वातावरणमैत्री यातायातको प्रतीक हो । जीवाश्म इन्धनको प्रयोग नगरी मानवशक्तिको उपयोग गर्ने यस साधनले न्यून-कार्बन जीवनशैलीको सशक्त सन्देश दिन्छ । यही विश्वासका साथ शर्माले १४ अप्रिल २०२२ मा काठमाडौं महानगरपालिका वडा नं. ७ मा प्रतीकात्मक वृक्षारोपण गरी अभियानको औपचारिक शुभारम्भ गरेका थिए । हालसम्म उनले एसिया, युरोप र अफ्रिकाका २७ देशहरूमा करिब २८ हजार किलोमिटर साइकल यात्रा पूरा गरिसकेका छन् । आज विश्वले खोजिरहेको दिगो विकास यही हो- विकास र वातावरणबीचको सन्तुलन । विकास र वातावरण एकअर्काका विरोधी होइनन्; यी त एउटै रथका दुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्रामात्र बलियो भएर गन्तव्यमा पुग्न सकिँदैन ।
फुटबल खेलाडी, सामाजिक अभियन्ता तथा सङ्गीतप्रेमी व्यक्तित्वका रूपमा परिचित शर्माको यात्रा नेपालबाट सुरु भएर भारत, बङ्गलादेश, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया, सिङ्गापुर र फिलिपिन्स हुँदै युरोपका विभिन्न देश तथा अफ्रिकाका केन्या, तान्जानिया, युगान्डा, रुवान्डा, बुरुन्डी र मलावीसम्म फैलिएको छ । यो केवल दूरी नाप्ने यात्रा होइन; वातावरणीय चेतना, सांस्कृतिक सद्भाव र विश्व नागरिकताको भावना जोड्ने अभियान पनि हो । यस अभियानको अर्को महत्त्वपूर्ण पक्ष वृक्षारोपण हो । विभिन्न देशका स्थानीय समुदाय, नगरपालिका, विद्यालय, दूतावास तथा सार्वजनिक संस्थाहरूसँगको सहकार्यमा सत्तरीभन्दा बढी रूखहरू रोपिएका छन् । विद्यालयस्तरमा वातावरणीय शिक्षा, स्थानीय समुदायसँग अन्तरक्रिया तथा सार्वजनिक स्थानहरूमा हरियाली विस्तारमार्फत अभियानले वातावरण संरक्षणलाई जनसहभागितासँग जोड्ने प्रयास गरेको छ ।
हामीले सधैँ सम्झिनुपर्छ- एक जनाले एउटा रूख रोप्दा एउटा बिरुवा मात्र बढ्दैन, भविष्यका अनेकौँ पुस्ताको जीवन पनि सुरक्षित हुन्छ। प्रत्येकले एउटा रूख रोप्ने, प्लास्टिकको प्रयोग घटाउने, पानी र बिजुलीको मितव्ययी प्रयोग गर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने र अरूलाई पनि वातावरण संरक्षणका लागि प्रेरित गर्ने हो भने साना प्रयासहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छन् । तर यो अभियानको वास्तविक शक्ति केवल वृक्षारोपण वा साइकल यात्रामा मात्र सीमित छैन; यसको गहिरो मानवीय आयाम अझ प्रेरणादायी छ । मलेसियाको सीमावर्ती शहर बुकित कायु हितामबाट क्वालालम्पुरतर्फको करिब ४५० किलोमिटर लामो यात्राका क्रममा शर्माले एउटा अविस्मरणीय अनुभव बटुले । राजमार्गमा साइकल चलाउन निषेध गरिएपछि उनी अनजान जङ्गली बाटोमा पुगे। बाटो हराएको अवस्थामा एक चिनियाँ मूलकी मलेसियाली महिला र उनका छोराले उनलाई सही मार्ग देखाइदिए । भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि मानवताको भाषा एउटै हुने तथ्य त्यस घटनाले उजागर गर्यो ।
यात्राको अर्को क्षण अझ मार्मिक बन्यो । सडक किनारमा भेटिएका एक अपरिचित युवकले सुरुमा एउटा सेल्फी खिचे । केहीबेरपछि स्कुटरमा फर्केर आएर उनले शर्माको हातमा १० रिङ्गेट राख्दै केवल यत्ति भने- "Drink water." रकम सानो थियो, तर त्यसको मानवीय मूल्य अपार थियो । त्यो दान होइन, करुणा थियो; सहयोग होइन, मानवताप्रतिको विश्वास थियो । यस्ता अनुभवहरूले अभियानलाई वातावरणीय आन्दोलनभन्दा अझ व्यापक मानवीय अभियानका रूपमा स्थापित गर्छन् । जलवायु परिवर्तनविरुद्धको संघर्ष केवल प्रकृतिको संरक्षण मात्र होइन, मानिस र मानिसबीचको सहकार्य, विश्वास र साझा जिम्मेवारीको विषय पनि हो ।
अभियानले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय समर्थन प्राप्त गरेको छ। काठमाडौं महानगरपालिका, नेपाल सरकारका वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा विभिन्न देशस्थित नेपाली दूतावासहरूले नैतिक र प्रशासनिक सहयोग प्रदान गरेका छन् । स्वदेश लगायत विदेशका कैयन देशका छापामा यस अभियानका बारेमा समाचार छापिएका छन् । बहराइन, युगान्डालगायत विभिन्न देशहरूमा स्थानीय जनप्रतिनिधि र नगरप्रमुखहरूको उपस्थितिमा सम्पन्न वृक्षारोपण कार्यक्रमहरूले अभियानलाई थप विश्वसनीय र प्रभावकारी बनाएका छन् । अब अभियानको आगामी चरण क्यानाडा र पश्चिम अफ्रिकातर्फ केन्द्रित हुने योजना छ । विद्यालयस्तरीय वातावरणीय शिक्षा, युवा सहभागिता, सामुदायिक वृक्षारोपण तथा स्थानीय सरकारसँगको सहकार्यलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ । आज जब विश्व हरित विकास, दिगोपना र वातावरणीय न्यायको खोजीमा छ, तब शुभप्रसाद शर्माको यो अभियान प्रेरणाको उज्यालो दीप बनेर उभिएको छ ।
एउटा प्रसिद्ध भनाइ छ- "हामीले पृथ्वी आफ्ना पुर्खाबाट पाएका होइनौँ, आफ्ना सन्ततिबाट सापटी लिएका हौँ ।" यस्तै, महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन ले भनेका छन्- "प्रकृतिलाई गहिरिएर हेर; त्यसपछि तिमीले सबै कुरा अझ राम्रोसँग बुझ्नेछौ।" यी भनाइ केवल उद्धरण होइनन्, आजको मानव सभ्यताका लागि मार्गदर्शन पनि हुन् । प्रकृतिले हामीलाई स्वच्छ हावा, सफा पानी, उर्वर माटो र अनुपम जैविक विविधता दिएको छ। त्यसैले यसको संरक्षण गर्नु केवल सरकारको दायित्व होइन, हामी प्रत्येक नागरिकको साझा जिम्मेवारी हो । वातावरण सुरक्षित भए मात्र विकास दिगो हुन्छ, र दिगो विकास भए मात्र राष्ट्र समृद्ध बन्छ ।
महादेशहरूलाई साइकलका पाङ्ग्राले जोड्दै र रूखका बिरुवाहरू रोप्दै अघि बढिरहेको शुभप्रसाद शर्माको अभियानले एउटा गहिरो सत्य स्मरण गराउँछ- जलवायु परिवर्तनविरुद्धको संघर्ष केवल अन्तर्राष्ट्रिय घोषणापत्र वा सरकारी नीतिले मात्र जितिँदैन; त्यो त व्यक्तिगत प्रतिबद्धता, निरन्तर कर्म र मानवताप्रतिको अटल विश्वासले पनि सम्भव हुन्छ । प्रकृतिलाई जितेर होइन, प्रकृतिसँगै अघि बढेर मात्र समृद्धि सम्भव छ । विकास गरौँ, तर वातावरणलाई नष्ट गरेर होइन; वातावरण जोगाएर । समृद्धि खोजौँ, तर हरियाली गुमाएर होइन । आउनुहोस्, "हरियो वातावरण" निर्माण गर्ने साझा संकल्प गरौँ ।
*****




Comments
Post a Comment