लघुकथा : माेह
ढोकामा हल्का ढकढक.. भयो।
ढोका खोल्दा ‘उज्यालो’ उभिएको थियो । उज्यालोभित्रबाट एउटा मधुर स्वर आयो- “हिँड, तिमीले जीवनभर खोजेको बैकुण्ठ तयार छ ।”
म केहीबेर निस्तब्ध रहेँ । आँखाले एकनास उज्यालोतिर हेरिरह्यो, मन भने पछाडि- घरभित्र फर्कियो ।
भित्तामा अधुरा सपनाहरू झुन्डिरहेका थिए । काेठाकाे भुइँभरि जिम्मेवारीहरू असरल्ल छरिएका थिए । नाता-सम्बन्धहरू औँला समात्न खोजिरहेका थिए । बगैंचालाई छाेएर बगेको सुगन्धित हावा झ्यालभित्र पसिरहेको थियो- अझै केही क्षण बाँच्न मन लाग्ने गरी ।
मैले संकोचपूर्वक भनेँ- “यदि अनुमति दिनुहुन्छ भने... केही दिनपछि आउँछु ।”
उज्यालो मुस्कुरायो । केही नभनी फर्कियो ।
ढोका बिस्तारै बन्द भयो ।
त्यही क्षण मनले भन्यो - देखिस् ! स्वर्ग प्राप्त गर्नुभन्दा पृथ्वी छोड्न सक्नु पाे कठिन छ त ।
✍️ मुरारीराज मिश्र
Comments
Post a Comment