लघुकथा : माेह

ढोकामा हल्का ढकढक.. भयो।

ढोका खोल्दा ‘उज्यालो’ उभिएको थियो । उज्यालोभित्रबाट एउटा मधुर स्वर आयो- “हिँड, तिमीले जीवनभर खोजेको बैकुण्ठ तयार छ ।”


म केहीबेर निस्तब्ध रहेँ । आँखाले एकनास उज्यालोतिर हेरिरह्यो, मन भने पछाडि- घरभित्र फर्कियो ।


भित्तामा अधुरा सपनाहरू झुन्डिरहेका थिए । काेठाकाे भुइँभरि जिम्मेवारीहरू असरल्ल छरिएका थिए । नाता-सम्बन्धहरू औँला समात्न खोजिरहेका थिए । बगैंचालाई छाेएर बगेको सुगन्धित हावा झ्यालभित्र पसिरहेको थियो- अझै केही क्षण बाँच्न मन लाग्ने गरी ।


मैले संकोचपूर्वक भनेँ- “यदि अनुमति दिनुहुन्छ भने... केही दिनपछि आउँछु ।”


उज्यालो मुस्कुरायो । केही नभनी फर्कियो ।


ढोका बिस्तारै बन्द भयो ।


त्यही क्षण मनले भन्यो - देखिस् ! स्वर्ग प्राप्त गर्नुभन्दा पृथ्वी छोड्न सक्नु पाे कठिन छ त ।


✍️ मुरारीराज मिश्र

Comments