लघुकथा: कुशको लास

      ✍️ मुरारीराज मिश्र,


तीन महिनापछि पनि आशिषलाई त्यो घटना सपनाजस्तै लाग्थ्यो ।


नयाँ टहराको आँगनमा बसेर ऊ भोटेकोशीको भेलले एउटै वेगमा बगाएर उजाड बनाएको टाढाको बस्तीतिर हेरिरहेको थियो । भग्नावशेष हेर्दाहेर्दै आमाले सुनाएको त्यो दिनको वर्णन र आफ्नो भोगाइ सम्झेर उसको मन अतीततर्फ धकेलियो ।


अघिल्लो दिनमात्रै ऊ श्रीमतीसहित बिरामी ससुरालाई हेर्न काठमाडौँ गएको थियो । घरमा ६५ वर्षीया आमा देवीमाया एक्लै थिइन् । दुई-तीन दिनयता पानी नपरेको र आज पनि टन्टलापुर घाम लागेकोले, बाढी आउँदैछ भन्ने माइकिङलाई देवीमायाले पत्याएकी थिइनन् । फेरि आफ्नो घर पनि जमिनको सतहभन्दा केही माथि डाँडामा भएकोले बाढीले नछुनेमा उनी ढुक्क हुँदै भान्सातिर लागेकी थिइन् ।


एक्कासि पहाड गर्जिएझैँ आवाज आयो । लेदोसहित भोटेकोशी उर्लियो । लेदोले डाँडाको एक भाग खायो र आँखैअगाडि घरको अधिकांश भाग पुरिएर गयो ।


यता, आशिष काठमाडौँमै छटपटाइरह्यो । बाटो बगेको र गाउँ पुरिएको खबर पाएपछि आफन्तले तत्कालै गाउँ नफर्कन सुझाए । पाँच दिनसम्म प्रहरी र सरकारी निकायसँग हारगुहार गर्दा पनि आमाको न सास भेटियो, न त लास नै । अन्ततः हार मानेर छैटौँ दिन उसले कुशको लास बनाएर आर्यघाटमा आमाको दाहसंस्कार गर्‍यो ।


सातौँ दिन सुरक्षाकर्मीले गाउँमा भग्नावशेष खोतल्दा भत्किएको भान्साको स्ल्याबमुनिबाट क्षीण आवाज सुनियो -

“बाबु… ऐय्या !”

अशक्त अवस्थाकी देवीमायालाई सावधानीपूर्वक निकालियो । भान्साको बलियो ढलानले ओत दिएकाले उनी सुरक्षित रहेकी थिइन् । उनलाई हेलिकप्टरबाट तत्काल काठमाडौँको अस्पताल ल्याइयो ।


टेलिभिजनकाे समाचारमा देवीमायाकाे तस्बिर देखेपछि आशिषका जेठान ज्वाइँ किरिया बसिरहेको घाटतिर दौडिए । अकल्पनीय खबर सुन्दा आशिष केही बेर बोल्नै सकेन ।


“के सोचिरा’को छौ छोरा ? ल, चिया खाऊ ।”

आमाको आवाजले ऊ झस्कियो । फर्केर हेर्दा देवीमाया मुस्कुराउँदै उभिएकी थिइन् ।

टिल्पिलाएका आँखाले आमालाई हेर्दै आशिषले भन्यो, “आमा, तपाईंले त्यत्रो बाढीलाई पनि जित्नुभयो, तर मैले चाहिँ छ दिनमै हार मानेछु ।”

                    *****



Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

भजन/श्लोक (भावानुवाद)