धर्मको परीक्षा मन्दिरमा होइन, व्यवहारमा हुन्छ

✍ मुरारीराज मिश्र

मानिसको जीवन केवल बाँच्नुमा सीमित हुँदैन; ऊ आफ्ना कर्म, विचार र नैतिक आचरणबाट पनि चिनिन्छ । धर्म पनि त्यस्तै विषय हो, जुन केवल मन्दिर, पूजा-आराधना वा कर्मकाण्डभित्र मात्रै सीमित छैन । धर्मको वास्तविक अर्थ मानवता, करुणा, जिम्मेवारी र समभावको अभ्यास हो । कसैले पूजा-पाठ, व्रत वा तीर्थयात्राबाट धर्म आर्जन भएको ठान्छ भने कसैले दान, सेवा र परोपकारमा धर्मको अनुभूति गर्छ । आस्था व्यक्तिको निजी अधिकार भएकाले त्यसप्रति सम्मान हुनुपर्छ । तर, जुन कर्मले अर्को प्राणीलाई दुःख दिन्छ, समाजलाई असुविधा पुर्‍याउँछ वा प्रकृतिको सन्तुलन बिगार्छ, त्यसलाई धर्मको आवरणले ढाक्न सकिँदैन । धर्मको मूल्य कर्मको बाहिरी प्रदर्शनले होइन, त्यसले सिर्जना गर्ने कल्याणले निर्धारण गर्छ ।

जीवनले हामीलाई एउटा सामान्य तर गहिरो सत्य सिकाउँछ- हामीले आफूलाई जे व्यवहार उचित लाग्छ, अरूप्रति पनि त्यही व्यवहार गर्नुपर्छ । यही नै नैतिकताको आधार हो र यही नै अधिकांश धर्मदर्शनको सार पनि हो । दुर्भाग्यवश, हाम्रो समाजमा दान र धर्मको नाममा देखावटी प्रवृत्ति अझै पनि जीवित छ । घरमा प्रयोग गर्न नमिल्ने, गुणस्तरहीन वा कुहिएका वस्तु देवस्थलमा चढाउने, आश्रममा दिने वा पशुपक्षीलाई खुवाउने प्रवृत्तिलाई धेरैले सामान्य ठानिरहेका छन् । दान भनेको आफूलाई काम नलागेको वस्तु पन्छाउने माध्यम होइन; त्यो त आफ्नो सद्भाव, संस्कार र संवेदनशीलताको अभिव्यक्ति हो । यदि दानमा सम्मान छैन भने त्यो केवल वस्तुको हस्तान्तरण मात्र हुन्छ, धर्म होइन । दानको मूल्य वस्तुको परिमाणले होइन, त्यसको गुणस्तर र दाताको मनको पवित्रताले निर्धारण गर्छ । त्यसैले आफूले खान अयोग्य ठानेको वस्तु कुनै निरीह प्राणीलाई खुवाएर पुण्य कमाउने सोच आफैँमा आत्मविरोधी छ ।


यही सन्दर्भमा पशुपति क्षेत्र, गौरीघाट, गुह्येश्वरी र आसपासका स्थानहरूमा बाँदरलाई खाना खुवाउने नाममा भइरहेको गतिविधि अत्यन्त चिन्ताजनक देखिन्छ । दैनिकजसो त्यहाँ कुहिएर फाल्नुपर्ने अवस्थाका आँप, केरा, स्याउ लगायतका फलफूल, कालो-निलो ढुसी लागेका रोटी, पाउरोटी, पीठोका डल्ला र बिस्कुट जथाभावी छरिएको देखिन्छ । कतिपयले त भरियामार्फत बोकेरै यस्ता सामग्री ल्याएर धार्मिक पुण्य कमाएको अनुभूति गरिरहेका देखिन्छन् । यस्तो दृश्यले कहिलेकाहीँ यस्तो आभास दिन्छ कि ती पवित्र धार्मिक क्षेत्र श्रद्धा र सभ्यताको केन्द्र नभई अखाद्य वस्तु व्यवस्थापन गर्ने थलो बनेका छन् ।


तर प्रश्न उठ्छ- यस्तो अखाद्य वस्तु खुवाएर बाँदरको संरक्षण हुन्छ कि उनीहरूलाई रोगी बनाइन्छ ? करुणाको नाममा गरिने यस्तो व्यवहार वास्तवमा करुणाकै अपमान हो । जनावर बोल्न सक्दैनन्, तर उनीहरूको पीडा कुनै पनि अर्थमा मानिसकोभन्दा कम हुँदैन । उनीहरूलाई पनि स्वस्थ रहन स्वच्छ र पोषणयुक्त भोजन आवश्यक हुन्छ । निरीह प्राणीको मौनतालाई आफ्नो सुविधा अनुसार प्रयोग गर्नु मानवीयता होइन ।


यसको अर्को गम्भीर पक्ष सार्वजनिक सुरक्षा हो । गौरीघाटका सिँढीहरूमा छरिएका फलफूल र पीठोमा चिप्लिएर धेरै श्रद्धालु घाइते भएका छन् । खानाका लागि झुन्डिएका बाँदरले झम्टिँदा कैयौँ मानिस घाइते भएका छन् भने कसैकसैका हातखुट्टासमेत भाँचिएका छन् । धर्मको नाममा गरिएको एउटा अविवेकी कर्मले यदि अर्को मानिसको पीडा, उपचार र दुःखको कारण बन्छ भने त्यसलाई पुण्य भन्न सकिँदैन । धर्मले कसैको आँसु बढाउँदैन; धर्मले त आँसु पुछ्ने संस्कार सिकाउँछ ।


झन् दुःखद पक्ष त, यस्तो कार्य रोक्न वा व्यवस्थित गर्न अनुरोध गर्ने भक्तजनमाथि गालीगलौज गर्ने, धम्क्याउने र कुटपिटसम्म गर्न खोज्ने प्रवृत्ति पनि देखिन्छ । नजिकै रहेका सुरक्षाकर्मीले समेत "हामीले भनेको मान्दैनन्" भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन् । नियमको उपस्थिति भएर पनि कार्यान्वयन नहुनु आफैँमा अर्को विडम्बना हो । कानून निष्क्रिय हुँदा गलत अभ्यासले विस्तारै संस्कारको रूप लिन थाल्छ, जुन समाजका लागि झन् घातक हुन्छ ।


पशुपति क्षेत्रका बाँदर त्यहाँको प्राकृतिक, सांस्कृतिक र जैविक सम्पदाका अभिन्न अङ्ग हुन् । उनीहरूको संरक्षण हुनु अनिवार्य छ । तर संरक्षणको अर्थ जथाभावी खाना छर्नु होइन । यसलाई सम्बन्धित निकायले व्यवस्थित र संस्थागत बनाउनुपर्छ । यदि कसैले धर्मभावले जनावरलाई भोजन गराउन चाहन्छ भने ल्याइएका खाद्यवस्तुको गुणस्तर परीक्षण अनिवार्य गरिनुपर्छ । अझ उचित त, इच्छुक दाताबाट निश्चित सहयोग रकम लिएर सम्बन्धित निकायले नै स्वस्थकर र पोषणयुक्त खाना निश्चित स्थान र समयमा, दाताकै उपस्थितिमा वितरण गर्ने व्यवस्था गर्नु हो । यसले दाताको भावना पनि सम्मानित हुन्छ, जनावरको स्वास्थ्य पनि सुरक्षित रहन्छ र धार्मिक क्षेत्रको स्वच्छता तथा मर्यादा पनि कायम रहन्छ । साथै, यस्ता गतिविधिको नियमित अनुगमन पनि उत्तिकै आवश्यक छ ।


धर्मले मानिसलाई संवेदनशील बनाउँछ, असंवेदनशील होइन । जहाँ करुणा हराउँछ, त्यहाँ धर्मको आत्मा पनि हराउँछ । त्यसैले जुन कर्मबाट कुनै जीव, समाज वा प्रकृतिले पीडा भोग्नुपर्छ, त्यस्तो कर्मलाई धर्मको नाम दिनु स्वयं धर्मप्रतिकै अन्याय हो । हाम्रा धर्मशास्त्रहरूले सबै जीवमा एउटै आत्माको वास रहेको बताउँदै समदृष्टि राख्न सिकाएका छन् । जीवनदर्शनले पनि यही भन्छ- मानिस महान् उसले कति पूजा गर्‍यो भन्ने आधारमा होइन, उसले कति करुणा बाँड्यो भन्ने आधारमा मापन हुन्छ । धर्मको वास्तविक परीक्षा मन्दिरको गर्भगृहमा होइन, हाम्रो व्यवहारमा हुन्छ । आफूले ताजा र स्वस्थ भोजन खाने, तर निरीह प्राणीलाई कुहिएको र अखाद्य वस्तु खुवाउने प्रवृत्ति धर्मले होइन, स्वार्थले जन्माएको भ्रम हो । भगवान् श्रीकृष्णले पनि समभावको यही आदर्श प्रस्तुत गर्दै गीतामा भन्नुभएको छ-

"गाई, हात्ती र चण्डाल, कुकुर, सर्वज्ञ ब्राह्मण ।

ज्ञानीको दृष्टिमा एकै हुन्छन्, है बुझ अर्जुन ।।"


यदि सबै प्राणीमा एउटै चेतनाको अनुभूति गर्न सकिन्छ भने उनीहरूलाई दिने व्यवहारमा पनि त्यही सम्मान, त्यही करुणा र त्यही नैतिकता झल्किनुपर्छ । आखिर, धर्मको सार प्रदर्शनमा होइन, संवेदनामा हुन्छ । कुहिएको खाना खुवाएर धर्म आर्जन हुँदैन; धर्म त तब आर्जन हुन्छ, जब हाम्रो कर्मले प्रत्येक जीवमा जीवनप्रतिको सम्मान, संरक्षण र करुणाको अनुभूति गराउँछ ।

                                *****

               न्यूसृष्टिमा २०८३-०३-२८ गते प्रकाशित   

                                                                     

Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता