लघुकथा : “रगतको मोल”

                ✍️ मुरारीराज मिश्र

धेरै दिनपछि उनको होस खुल्यो । बिस्तारै आँखा उघार्दा आफू अस्पतालको शय्यामा पल्टिएको पाए ।

अलि पर रूञ्चे अनुहार लगाएर बसेकी उनकी श्रीमतीलाई केही मान्छे सान्त्वना दिइरहेका थिए । उनले ती मानिसहरू चिने । चिनेपछि मनमनै कुंढिए ।

सान्त्वना दिनेहरूमध्ये एकजनाले उनलाई हेरेछन् क्यारे -

“उहाँलाई होस आयो जस्तो छ,” भन्दै हँसिलो अनुहारका साथ बेडतर्फ आए ।

सबैजना आफूतिर आउँदै गरेको देखेपछि बोल्नुपर्ने झन्झटबाट बच्न आँखा चिम्लिएझैँ गरे उनले ।

“ए, अझै राम्रोसँग होस आएको रैनछ । छिट्टै ठीक हुन्छ, नआत्तिनुस् । हामी फेरि आउँछौँ,” भन्ने आवाज कानमा पर्‍यो ।

उनीहरू फर्केपछि उनले आँखा उघारे । श्रीमती हर्षविभाेर भइन्।

उनले बिस्तारै सोधे - “के भएको थियो ?”

श्रीमतीले बताइन् - “दुर्घटनापछि धेरै रगत चाहियो । तपाईंको ग्रुपको रगत पाउन गाह्रो भयो । साथीभाइ र आफन्त सबैलाई गुहारें । प्रायः सबैले बहाना बनाएर पन्छिए । धन्न दुईजना छिमेकी भाइहरू आएर रगत दिए…नत्र…!”

ती दुवैजना उनै छिमेकी थिए, जसलाई आफ्ना उम्मेदवार लिएर भोट माग्न आएको बेला उनले झपार्दै भनेका थिए - “मेरो घरमा किन आएका ? म तिमीहरूको पार्टीलाई भोट दिन्न, फर्किहाल !” 

त्यतिबेला उनीहरू एकछिन निरुत्तर उभिएर चुपचाप फर्किएका थिए ।

“जुनसुकै पार्टीका भए पनि नेताहरू माथि-माथि मिलिहाल्छन् । मर्दा-पर्दा चाहिने भनेकै छिमेकी हुन्, के नचाहिंदो व्यवहार गरेको !” भन्दै सम्झाउन खोज्दा श्रीमतीलाई समेत उनले नराम्ररी गाली गरेका थिए ।

यी सबै स्मरणमा आएपछि उनको नजर झुक्याे । मनभित्र लाज र पछुतो पलायो ।

केहीबेरपछि उनले बिस्तारै भने - “जाऊ, उनीहरूलाई बोलाऊ…धन्यवाद भन्न चाहन्छु ।”

श्रीमतीले जवाफ फर्काइन् - “अब भेट्न सकिन्न…।”

“किन र ?” उनले प्रतिप्रश्न गरे ।

“तपाईंलाई रगत दिएको तीन दिनपछि वैदेशिक रोजगारीमा गएका दुवैजना… पुगेकै भोलिपल्ट कम्पनीमा भएको बम विस्फोटमा बितिसके ।” श्रीमतीले भक्कानिदै भनिन् ।

रचना: २०८२-११-३० गते ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं–७)


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"