बादलमाथिको बाटो हुँदै छोरीको आँगनसम्म

यात्रा संस्मरण :

यात्रा केवल एक ठाउँबाट अर्को ठाउँमा पुग्ने दूरी पार गर्नु मात्र होइन; त्यो त मनभित्र पनि समानान्तर रूपमा चल्ने भावनाहरूको यात्रा हो । पाँच वर्षपछि छोरीलाई भेट्न, उनको विवाहको अभिभावकीय दायित्व पूरा गर्न र परिवारसँग दशैं-तिहार मनाउने उद्देश्य बोकेर विदेश यात्रामा निस्कँदा मनमा एकैपटक उत्साह, कौतूहल, जिम्मेवारी, प्रतीक्षा र अनगिन्ती सम्झनाहरू एकसाथ तरंगित भइरहेका थिए ।

२०८१ साल असोज १७ गतेको बिहान ०२:१५ बजे कतार एयरवेजबाट काठमाडौं-दोहा-सिकागो हुँदै अमेरिकी राज्य मिनेसोटाको मिनियापोलिस पुग्ने यात्रा तय भइसकेको थियो । यात्रा नजिकिँदै जाँदा मनमा एउटै चित्र बारम्बार दोहोरिन्थ्यो- सात वर्षअघि उच्च अध्ययनका लागि अमेरिका उडेकी छोरी सम्पदा मिश्रलाई विमानस्थलमा देख्ने त्यो पहिलो क्षण कस्तो होला ? यति लामो समयपछि भेट हुँदा ऊ पहिलेझैं दौडिएर अँगालो हाल्ले कि परिपक्व मुस्कानसहित अगाडि आएर ‘बाबा, आमा !’ भनेर बोलाउली ? यस्तै अनेक कल्पनाले मनलाई बारम्बार छुन्थे ।


उसको बाल्यकालदेखि युवावस्थासम्मका अनगिन्ती दृश्यहरू अन्तर्मनमा चलचित्रझैं घुमिरहन्थे । औँला समातेर हिँड्न सिकेको त्यो नानी, पहिलो पटक विद्यालय जाँदा आँसु पुछ्दै हात हल्लाएको क्षण, पढाइमा सधैं लगनशील भएर आफ्ना सपनाहरू पछ्याउँदै अघि बढेको यात्रा, अनि एक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उच्च शिक्षाको सपना बोकेर अमेरिका उडेको त्यो बिदाइ- सबै दृश्यहरू एकपछि अर्को गर्दै स्मृतिको पर्दामा जीवन्त बन्दै थिए । लाग्थ्यो, सात वर्षको दूरीले समयलाई मात्र होइन, सम्झनाहरूलाई पनि अझ गाढा बनाइदिएको रहेछ । अब ती सबै प्रतीक्षाहरू केही घण्टापछि एउटै भेटमा रूपान्तरण हुने थिए ।


विमानभित्र हामी 


छोरी अमेरिका गएको दुई वर्षपछि एकपटक डेढ महिनाका लागि नेपाल आएकी थिईन् । त्यसपछि कोरोना महामारीले संसारलाई नै रोकिदियो । "मोलिक्युलर एन्ड सेलुलर लाइफ साइन्सेस" विषयमा उनले प्राप्त गरेको विद्यावारिधि उपाधिको दीक्षान्त समारोहको गौरवपूर्ण क्षणमा सहभागी हुने हाम्रो ठूलो चाहना थियो । तर अमेरिकी दूतावासबाट अन्तर्वार्ताको मिति नौ-दश महिनापछि मात्र पाएकाले त्यो अवसर गुमाउनुपर्‍यो । सायद समयले पनि कहिलेकाहीँ यस्तै निर्दयी खेल खेल्दोरहेछ ! त्यसैले यसपालिको यात्रा हाम्रो लागि कुनै साधारण यात्रा थिएन । यो प्रतीक्षाको सात वर्ष लामो पुल तरेर पारिवारिक पुनर्मिलनमा पुग्ने अवसर थियो । अझ बेलायतमा रहेका छोरा कौशलराज मिश्र पनि बिदा मिलाएर अमेरिका आउने भएकाले मनको खुसीलाई शब्दमा बाँध्न सकिने अवस्था नै थिएन ।


राति एघार बजेतिर आफन्त र साथीभाइसँग बिदावारी हुँदै श्रीमती कल्पना मिश्र र म घरबाट विमानस्थलतर्फ लाग्यौं । गाडी अगाडि बढ्दै थियो, तर चित्त भने पछाडि छुटेका अनुहारहरू, घरको आँगन र आफ्ना दैनिकीहरूसँग केही बेर अझै अल्झिरहेजस्तो लाग्थ्यो । यही बीचमा फोन बज्यो । उताबाट दुई महिना अघि मात्र मैले जागिरबाट अवकाश लिएको पद्मकन्या माध्यमिक विद्यालयकी सहायक प्रधानाध्यापक मुना पौडेलको स्वर सुनियो, “हामी लगेज चेक गर्ने लाइनमा लागिसक्यौं, पछि भीड हुन्छ, चाँडै आउनुस् ।” उहाँ पनि श्रीमान् डा. सोम पौडेल र आमासँग अमेरिका जाँदै हुनुहुन्थ्याे । संयोगले दोहा र सिकागोसम्मको हाम्रो उडान पनि एउटै थियोे । मैले “आइपुग्नै लाग्याैं” भन्दै फोन राखें । 


डा. साेम पाैडेल तथा डा. जयन्तनाथ खनाल दम्पतीसंग
त्रिभुवन विमानस्थलकाे प्रतिक्षालयमा हामी 


विमानस्थल पुग्दा अर्को सुखद संयोग पनि पर्खिरहेको रहेछ । प्राध्यापक डा. जयन्तनाथ खनाल दम्पती पनि त्यही उडानमा अमेरिका जाँदै हुनुहुँदाे रहेछ । सँगै सिट नपरे पनि एउटै विमानमा आफ्ना चिनेजानेका मानिसहरू छन् भन्ने अनुभूतिले अनौठो ढुक्कता दिने रहेछ । लाग्यो, यात्रा केवल गन्तव्यले मात्र होइन, यात्रामा भेटिने मानिसहरूले पनि सहज बनाउने रहेछन् ।


लगेज बुझाउने, बोर्डिङ पास लिने र अध्यागमनका सबै प्रक्रिया पूरा भएपछि ट्रान्जिट क्षेत्रमा बसेर हामी धेरैबेर गफियौं । पारिवारिक कुरा भए, अनुभवका कुरा भए, भावी योजनाका कुरा भए । केही तस्वीरहरू पनि खिच्यौं, ताकि स्मृतिका पानाहरूमा त्यो भेट सधैं ताजा रहिरहोस् ।


त्यो समय सामान्यतया मेरो गहिरो निद्राको थियो । तर त्यस रात उत्साहले निद्रालाई पर धकेलिदिएको थियो । विमानस्थलको डिस्प्ले बोर्डमा कहिले हाम्रो उडानको समय हेर्थें, कहिले यात्रुहरूको चहलपहल नियाल्थें । झन्डै एक घण्टा उडान ढिलो भयो, तर प्रतीक्षामा पनि एउटा छुट्टै मिठास थियो ।


श्रीमतीजीलाई अन्तर्राष्ट्रिय हवाईयात्राको अनुभव पहिले नै थियो, तर मेरो लागि भने यो जीवनकै पहिलो अन्तर्राष्ट्रिय उडान थियो । बोर्डिङ गेट पार गर्दै जहाजको ढोकाभित्र पाइला टेक्नेबित्तिकै हृदयमा अनौठो रोमाञ्च जाग्यो । वरिपरि नयाँ वातावरण, अपरिचित अनुहार, जहाजभित्रको व्यवस्थित चहलपहल र झ्यालबाहिर चम्किरहेका विमानस्थलका बत्तीहरू हेर्दै मन आफैंसँग संवाद गर्न थाल्यो- "जीवनले पनि कस्ता-कस्ता अवसरहरू संचित राख्दोरहेछ ! कहिलेकाहीँ हामी आफैंले योजना बनाएर होइन, समय र परिस्थितिले तय गरिदिएका यात्रामा निस्कनुपर्ने रहेछ । यात्रा उमेरले होइन, आवश्यकताले गराउने रहेछ ।" 


अभिभावकीय दायित्व र लामो समयपछि परिवारसँग चाडपर्व मनाउने उत्कट चाहनाले नै मलाई पहिलो पटक यो अन्तर्राष्ट्रिय उडानमा चढाएको थियो । त्यस क्षण लाग्यो, जीवनमा केही यात्राहरू रहरका लागि होइन, सम्बन्ध र जिम्मेवारीका लागि तय गरिएका हुँदारहेछन् । 


केही समय निद्राले साथ दियो । एयर होस्टेसको आत्मीय सेवा, विमानभित्रको वातावरण र बीचबीचमा फिल्म हेर्दै पाँच घण्टा बितेको पत्तै भएन । कतार एयरवेजको जहाज दोहा विमानस्थलमा अवतरण गर्‍याे । तर जहाज अवतरण गरेपछि पनि निकैबेर रनवेमा गुडिरह्यो । अन्ततः ओर्लिने अनुमति आयो । श्रीमतीको खुट्टाको समस्याका कारण पहिले नै ह्वीलचेयरको व्यवस्था गरिएको थियो । म उनीको ह्वीलचेयरको पछिपछि लागेँ । कर्मचारीहरूले ट्रली र बसमार्फत टर्मिनलसम्म पुर्‍याए । दाेहा विमानस्थलमा धेरै नेपाली कर्मचारी भेटिनु अर्को सुखद अनुभव बन्यो ।


त्यहाँ कार्यरत पोखरातिरका एक नेपाली भाइले हामीलाई अमेरिकी प्रि-क्लियरेन्स इमिग्रेसनसम्म पुर्‍याउँदै आवश्यक जानकारी दिए । विदेशको विशाल विमानस्थलमा आफ्नै भाषामा बोलेको आत्मीय स्वर सुन्दा मनमा एक प्रकारको न्यानोपन पलायो । धन्यवाद दिँदै हामी भित्र प्रवेश गर्‍याैं । भित्र फेरि पौडेल र खनाल दम्पतीसँग भेट भयो । उडानको समय अझै बाँकी थियो । त्यसैले दोहा विमानस्थलको चहलपहल नियाल्ने पर्याप्त समय मिल्यो ।


दाेहा विमानस्थलमा प्रतिक्षारत...


त्यहाँको व्यवस्थापन, प्रविधि, अनुशासन र विकास देख्दा मन एकातिर अचम्मित हुन्थ्यो भने अर्कोतिर आफ्नै देश सम्झेर उदास पनि बन्थ्यो । मनले फेरि आफैंलाई प्रश्न गर्‍याे- “हाम्रा नेताहरू पनि यही बाटो हुँदै विदेश आउँछन्-जान्छन् । यस्ता विमानस्थल, यस्ता पूर्वाधार, यस्ता व्यवस्थापन सबै देखेका छन् । तर आफ्नै देशमा बनाउन किन पहल गर्दैनन् ? हामीले नेपालमा यस्तै विकास देख्न अझै कति वर्ष कुर्नुपर्ने होला ?” प्रश्नहरू थिए तर उत्तर थिएनन् । समस्या सम्भावनाको अभाव होइन, इच्छाशक्ति र सुशासनको अभाव पो हो कि भन्ने प्रश्न पनि मनभित्र उठिरहे ।


निश्चित समयमै दोहाबाट सिकागोसम्मको पन्ध्र घण्टे उडान सुरु भयो । सुरुमा लाग्यो, समय छिट्टै बित्ला । तर केही घण्टापछि समय पनि घडीको सुईसँगै थाकेजस्तो लाग्न थाल्यो । निद्रा राम्ररी परेन । कहिले फिल्म हेर्ने, कहिले गीत सुन्ने र कहिले करिडोरमा ओहोरदोहोर गर्ने क्रम जारी रह्यो । तर समय भने अड्किएजस्तै । 


प्लेनको एकनासको उडानले मस्तिष्कलाई अनेकौँ सोचमा डुबाइरहन्थ्यो । झ्यालबाहिर बादलका अनन्त तहहरू मात्र देखिन्थे, भित्र भने मनमा प्रश्नहरूको लहर चलिरहन्थ्यो- यति लामो उडानका लागि यसले कति तेल बोकेको होला ? यदि, बीच आकाशमै तेल सकियो भने… ? क्षणभरका लागि यस्ता बालसुलभ जिज्ञासाले मनलाई छोए पनि फेरि आफैंलाई सम्झाउँथेँ- यति विकसित प्रविधि, अनुभवी चालकदल र वैज्ञानिक योजनाबिनाको यस्तो यात्रा सम्भव कहाँ हुन्थ्यो र ! 


त्यसपछि मन अर्को प्रश्नतिर मोडिन्थ्यो-  यत्रो लामो यात्रा गरेर मानिसहरू किन अमेरिका आउन यति लालायित हुन्छन् ? सपनाले दूरीलाई हराउँछ कि बाध्यताले ? सायद कसैलाई उच्च शिक्षाको सपना तानिरहेको थियो, कसैलाई रोजगारीको खोजी, कसैलाई उज्ज्वल भविष्यको आशा, त कसैलाई आफ्ना प्रियजनसँगको पुनर्मिलनको उत्कट चाहना । ती प्रश्नहरूको उत्तर प्रत्येक यात्रुका लागि फरक-फरक हुन सक्थ्यो । तर मेरो यात्राको उत्तर भने एकदम स्पष्ट थियो- छोरी । उसलाई भेट्ने अभिलाषाले हजारौँ किलोमिटरको दूरीलाई पनि सहज बनाइदिएको थियो । त्यही स्नेह, त्यही प्रतीक्षा र त्यही आत्मीय आकर्षणले यो लामो उडानलाई केवल यात्रा होइन, भावनाको एउटा अविस्मरणीय अध्याय बनाइरहेको थियो ।


अन्ततः पन्ध्र घण्टापछि जहाज सिकागोमा अवतरण गर्‍याे । दोहा विमानस्थलकाे विशालता देखेर चकित भएको मलाई सिकागो विमानस्थलले अझ बढी विस्मित बनायो । सेकेन्ड-सेकेन्डमा उड्ने र ओर्लने विमानहरूको दृश्य, अनन्तजस्ता देखिने रनवे, भव्य संरचना र अनुशासित व्यवस्थापनले आधुनिक सभ्यताको एउटा अद्भुत रूप देखाइरहेको थियो ।


सिकागाे विमानस्थल 


अब अमेरिकी एयरलाइन्सबाट मिनियापोलिस पुग्न डेढ घण्टाको अन्तिम उडान बाँकी थियो । अध्यागमनमा लामो लाइन थियो, तर श्रीमतीजी ह्वीलचेयरमा भएकाले हामीलाई सहज भयो । एक अमेरिकी महिला कर्मचारीले अत्यन्त सहयोगी भावले अध्यागमन पार गराइन्, लगेज उठाउन सहयोग गरिन् र घरेलु उडानको काउन्टरसम्म पुर्‍याइन् । प्लेन चढ्ने गेटमा पुर्‍याएपछि उनले मुस्कुराउँदै सोधिन्, “प्लेन चढ्ने बेलामा फेरि आउनुपर्छ ?” श्रीमतीजीले हाँस्दै भनिन्, “पर्दैन, म बिस्तारै चढ्छु । धन्यवाद ।” उनीलाई सानो टिप्स दिँदा ती महिला कर्मचारीकाे अनुहारमा झल्किएको खुसीले सेवा र सम्मानको सुन्दर सम्बन्ध सम्झाइदियो ।


उडानका लागि अझै प्रशस्त समय बाँकी थियोे । हामी पानी किन्न पसल छिर्‍याैं । कार्ड नभएकाले ‘नगद चल्छ कि चल्दैन’ भनेर सोधेर एक बाेतल पानी, चिप्स र कुकिज किन्यौं । पछि बिल हेर्दा त झन्डै पाँच डलर पानीको मात्रै परेछ ! नेपाली रुपैयाँमा हिसाब गर्दा करिब सात सय रुपैयाँ । मनमनै अचम्म मान्यौं । नयाँ देशमा पहिलो पटक मूल्यको फरकसँग भएको त्यो सानो भेट पनि यात्राको रमाइलो अनुभव बन्यो । पछि छोरीले त्यो स्पोर्ट्स वाटर भएकाले महँगो भएको, नत्र त त्यति रकममा दुई दर्जनभन्दा बढी पानीकाे बाेतल आउने बताउँदा हामी सबै हाँसेका थियौं । 


अब अन्तिम उडान सुरु भयो । याे डेढघण्टाकाे छोटो यात्रा भएकाले मनमा कुनै आतुरता थिएन । बरु अब छोरीसँगको भेट केही समयमै हुने कल्पनाले मन फुरुङ्ग थियो । एयर होस्टेसले दिएको एक गिलास जुस, बिस्कुट र दुईवटा चकलेट स्वादभन्दा बढी प्रतीक्षाको मिठाससँग मिसाएर खाइयो । केहीबेरमै मिनेसोटाको मिनियापोलिस विमानस्थलमा जहाज अवतरण गर्‍याे ।


बाहिर ह्वीलचेयर तयार थियो । मोबाइलमा वाइफाइ जोडेर छोरीलाई “हामी आइपुग्यौं” भन्ने सन्देश पठायौं । लगेज बेल्टबाट सामान लिँदै गर्दा छोरी आइपुगिन् । सात वर्षको दूरी एकै क्षणमा पग्लियो । विमानस्थलभरि झलमल्ल बत्तीहरू थिए, तर त्यो भेटको आलोकले ती सबैलाई ओझेलमा पारेको थियो । मनले कुनै शब्द खोजेन; आँखाले नै सबै भनिसकेको थियो ।


काठमाडौंबाट सुरु भएको तीनवटा उडान, एक्काइस घण्टा तीस मिनेटको हवाईयात्रा र ट्रान्जिटसहित झन्डै उनन्तीस घण्टाको लामो यात्रा त्यस क्षण आएर पूर्ण भयो । लगेज गाडीमा राखेर छोरीले चलाएको कारमा बस्दा लाग्यो, हामी अमेरिका मात्र आइपुगेका होइनौं; सात वर्ष लामो प्रतीक्षाको अर्को किनारामा पनि आइपुगेका छौं ।


मिनेसाेटामा सपरिवार

राति अमेरिकी समयअनुसार एघार बजेतिर छोरीको अपार्टमेन्टभित्र प्रवेश गर्दा मनले शान्त स्वरमा भन्यो- “यात्राको सबैभन्दा सुन्दर गन्तव्य कुनै देश, कुनै शहर वा कुनै भवन होइन; आफ्ना मानिसहरू भएको ठाउँ नै संसारकै सबैभन्दा सुन्दर गन्तव्य रहेछ ।”


 ✍️ मुरारीराज मिश्र,

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)


Comments

Popular posts from this blog

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"

भोजनको थालदेखि बालबालिकाको सपनासम्म

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता