कविता: कुर्सीको ऋतु
✍️ मुरारीराज मिश्र
जसरी एउटा रुख
हरेक ऋतुमा हरियो हुँदैन,
त्यसैगरी यहाँ
हरेक ऋतुमा कुर्सीको रङ फेरिन्छ ।
सिद्धान्तको भारी बोकेर हिँड्नेहरू
कुर्सीको उचाइ नाप्दै भन्छन्-
"देश उकालो लाग्दै छ !"
सायद,
त्याे उचाइबाट
तलकाे जमिन देखिँदैन ।
हिजो चिच्याएर उठाएका प्रश्नहरू
आज त्यही जिब्रोले चपाउँदैछन् ।
लाग्छ-
वाचा पनि चुइङ्गमजस्तै रहेछ,
सत्ता फेरिँदा स्वाद होइन,
खोल मात्रै फेरिने ।
चारैतिर भद्रगोल छ ।
कमजोर पात मात्र होइन,
बलिया जरा पनि
शक्तिको हावामा
उन्मत्त भएर उडिरहेछन् ।
बाटोछेउको ढुङ्गाजस्तै
हामी जनता-
सबैले टेकेर उक्लिन्छन्,
शिखर पुगेपछि
हामी नै
"बाटो छेक्ने ढुङ्गा" ठहरिन्छाैं ।
फेरि चुनाव आउँछ,
त्यही ढुङ्गामाथि उभिन्छन्
भाषण गर्छन्,
भन्छन्-
"जनताभन्दा ठूलो हाम्रो लागि को छ र !"
अनि हामी-
फेरि पनि पत्याइदिन्छौँ ।
(कुमारीगाल, उमामहेश्वर मार्ग
?

Comments
Post a Comment