यात्रा : एक अनुभूति

        ✍️ मुरारीराज मिश्र 

यात्रामा जाने तानाबाना बुनिदै थियोे । अनायास मनले प्रश्न गर्‍याे “तँ यात्रा किन गर्छस् ? प्रकृतिलाई नजिकैबाट नियाल्न ? ईश्वर भेट्न ? कि आफूलाई आफूले नियाल्न ?” 

यात्रालाई कहिल्यै यसरी गहिरिएर नसाेचेकाे म, आफ्नै मनले साेधेकाे प्रश्न सुनेर झस्किएँ ! साेच्न लागें “साँच्चै, म किन घर छाेडेर समयसमयमा यात्रामा निस्कन्छु ? मेराे यात्राको उद्देश्य के हाे ? यात्राले मलाई बोलाउँछ कि म नै यात्रामा गइरहेको हुन्छु ? यात्राबाट मैले के पाउँछु ? के गुमाउँछु ? मनमा यस्तै-यस्तै प्रश्नहरूको लाइन लाग्छ । यसअघिका यात्रा अगाडि, मनमा यस्ता भावनाहरूकाे कम्पन आएका थिएनन् तर आज भने स्पष्टै महसुस गरिरहेको थिएँ ।

यात्राको प्रत्येक पाइला, मनको एउटा तह खोलिँदै जाने प्रक्रिया जस्तै लाग्छ मलाई ! “जीवन पनि यस्तै हैन र ? कहिले अघि बढ्छ कहिले  रोकिन्छ, फेरि बढ्छ । कहिले उफ्रिन्छ कहिले शान्त हुन्छ ।” मनले फेरि प्रश्न गर्छ ।

यात्रा संधै नयाँ ठाउँकाे मात्रै हुँदैन । कहिले रहरले त कहिले करले पनि यात्रामा जानुपर्ने हुन्छ । पहिले पुगेका स्थानमा पनि पटकपटक गइन्छ । नयाँ ठाउँ हाेस् वा पुगिसकेका ठाउँ हाेस् जहाँ पुगेपनि यात्राले भने नाैलाे अनुभूति र उर्जा थप्छ । पट्यारलाग्दाे एकनासे दैनिकीबाट केही दिनमात्रै भएपनि मुक्त भएर स्वच्छन्दतापूर्वक रमाउने अवसर दिन्छ । मनभित्र आत्मीक शान्तिको आभास गराउँछ । यथार्थताको अनुभूति, फरक अनुभव, ज्ञान र आनन्द प्राप्ति गर्ने उपयुुक्त माध्यम यात्रा भएकाेले, शायद यिनै कुराहरूकाे प्राप्तिका लागि म यात्रामा निस्कन्छु ! 

यसपटकको यात्रा एउटा वाहेक पहिले पुगिसकेका ठाउँहरूकाे थियोे । छाब्दी बाराही, ढाेर बाराही, व्यास गुफा, देवघाट धाम, त्रिवेणी र गजेन्द्रमाेक्ष पहिले पनि पटकपटक पुगिएकाे स्थानमा पर्दथे भने त्रिवेणी पारीकाे वाल्मीकि आश्रम पुग्न बाँकी थियो । तीनदिने यात्राको निर्धारित गन्तव्य यिनै स्थानहरू थिए । नयाँ स्थानमा जानुपूर्व काैतुहलता हुनु स्वाभाविकै भएपनि पुगिसकेको ठाँउमा पुनः पुग्दा हुने राेमाञ्चकता भने बेग्लै हुन्छ ।

झिसमिसेमै यात्रा सुरू गर्नुपर्ने कार्यक्रम थियो । २०८२ कात्तिक २४ गते विहान निन्द्रा नपुग्दै अर्लामकाे घण्टीले ब्यूँझायाे । नित्य कर्म सकेर चिया-सातु खाएर तैयार भइयाे । यात्रामा सकभर हलुका भएर हिड्नु पर्छ भन्ने मान्यता छ मेरो । त्यसैले लुगाफाटो धेरै बाेकिएन । दैनिक आवश्यकताका सामाग्री र ओैषधी वाहेकका सामान नभएकाले झाेला हलुकै थियोे । चाैबीसजनाकाे टाेली लिएर हामी चढेको बस अघि बढ्यो ।

यात्रामा अगाडि बढ्दै जाँदा गाडीको झ्यालबाट देखिने सडकका मोड, हरिया बुट्यान, सलल बग्ने हावा, टाढा देखिने ठिङ्ग उभिएका पहाड आदिका दृश्यले मनलाई आनन्द दिन्छ । हावाको हल्का स्पर्शले रूखका हाँगामा नाचिरहेका पातले हामीलाई पुराना चिनारू जस्तै स्वागत गरिरहेका भान हुन्छ ।

बिचमा चियाको लागि राेकिन्छाैं । छाब्दी बाराहीमा पुगेर बिहानको खाना खाने याेजना थियोे । त्यहाँ पुगेपछि हामी मन्दिरतर्फ लाग्छाैं । यात्रा व्यवस्थापन टाेली भने खाना पकाउने तरखरमा लाग्छ । 

मन्दिरमा भिडभाड थियोे । हातमा पूजासामान बाेकेका भक्तजनहरू कोही मौन त कोही मन्त्र जप्दै थिए । कोही उत्साहले वरिपरि निहार्दै थिए । मनभित्र प्रश्न उठ्यो - तीर्थयात्रा मनकाे शान्ति खोज्न गरिन्छ कि शरीरलाई आनन्द दिन ? म माैन रहें ।

मन्दिरमा प्रवेश गर्न चाहनेरूकाे भीड देखिन्थ्यो । लाइन बसेका मानिसमा धैर्य, अधैर्य, आस्था, लाइन अघि नसरेकाेमा क्षणिक क्रोध सबै देखिन्छ । म भने देवीको दर्शन गर्न आतुर दर्शनार्थीहरूकाे मुहार पढ्ने काेशिस गर्दैछु । सबैकाे एउटै लक्ष्य भएतापनि कामना फरक हुनु स्वाभाविकै हाे ! अनगिन्ती आशा लिएर आएका हाेलान् यिनीहरू ! माताले सबैको मनको चाहना पूरा गरून्, मेरो मनले कामना गर्छ ।

मभन्दा अगाडि दर्शनको लागि पङ्क्तिमा रहेकी एक बृद्धाकाे खसेको झाेला उठाएर दिन्छु । मतिर हेर्दै “बाबु, ईश्वरले कल्याण गरून्” भन्छिन् उनी । बृद्धाकाे आशीर्वचनले मन आल्हादित हुन्छ ।

मन्दिर वरिपरि देखिने रङ्गीचङ्गी ध्वजापताका, फूल, प्रसाद, धूप-बत्ती आदिमा मानिसभित्रका आस्था प्रतिविम्बित भएझैं लाग्थ्यो । मन्दिरको घण्टीको ध्वनि पहाडभरि फैलिँदा सुनिने नाद कुनै मीठो संगीतभन्दा कम लाग्दैनथे । समय टक्क रोकिएजस्तो मन शान्त भयाे । साँच्चै `यस्तो शान्ति किन सबैतिर भेटिन्न ?´ आफैंलाई प्रश्न गरें मैले ।

मन्दिरबाट तल झर्दा माैसम अलि तातिएको थियोे । बाटामा भेटिएका मानिसहरूको अनुहार पहिले जस्तै सामान्य थियोे । तर त्यसमा सन्तुष्टिकाे छाप देखिन्थ्याे । लाग्थ्यो, आफ्नो मनाेकामना पूरा हुनेमा विश्वस्त थिए उनीहरू ! यात्राभर मनमा कसैले हेर्न नसक्ने, तर आफूले अनुभूत गर्ने अनेकौं उतार-चढाव आए गए ।

ढाेरबाराही उक्लदैं गर्दा लठ्ठी टेकेर बिस्तारै हिडिरहेका एक वृद्ध भेटिए । “एकछिन थकाइ मार्दै जानुस् न बुबा” मैले भने । “होइन बाबु, मनले आँटेपछि पाइलो छोटिन्छ, त्यसैले बिस्तारै हिंड्नुपर्छ !” मनमनै भनें “यी यतिका धैर्यशाली, हामी भने किन संधै हतारोमा ?” 

सेती र मादी नदीको संगम स्थलका रहेको महर्षि व्यासकाे तपस्थल व्यास गुफा पुग्दा शरीर र मनमा एउटा अनौठो मिश्रण थियो । थकाइ पनि, आस्था पनि र कतै कुनै बिन्दुमा आफूलाई बुझ्न खोज्ने मानवीय इच्छा पनि ! केही बर्षअघि पुगेको ठाउँ उही हो, तर अब दृश्यहरू फरक लागे । त्यहाँ एउटा अपनत्व भेटियो । लाग्थ्यो, अब आँखाले होइन, मनैले हेर्न सिकिसक्यो ! 

त्रिशूली र कालीगण्डकीकाे संगम देवघाट धाम, नारायणी नदी र पञ्चा र तमसा पनि भनिने पूर्णभद्रा र स्वर्णभद्रा नदीकाे संगम त्रिवेणी धाम र गजेन्द्रमाेक्ष पटकपटक पुगिएकै हाे । तर हरेकपटक ती ठाउँमा पुग्दा मनमा बेग्लै उर्जा र उत्साह थपिन्छ । यसपटक आधाघण्टाकाे जलयात्रा र पैंतालीस मिनेटकाे जंगल यात्राबाट पुगिएकाे रामायणकालीन लवकुस जन्मस्थल वाल्मीकि आश्रमकाे अवलोकन राेचक र अविस्मरणीय रह्यो ।

यसपटकको हाम्रो यात्रा कार्यक्रम यति नै थियोे । निर्धारित गन्तव्य पूरा भएतापनि मन भने फर्कन मानिरहेकाे थिएन । मैले महसुस गरेँ, तीनदिनको यात्राले मलाई प्रकृतिको साधिन्यता दिलायाे । उकुसमुकुसकाे दैनिक जीवनमा सन्तुलन सिकायो । भेटिएका मानिसहरूको व्यवहारले धैर्य सिकायो । र, भूगोलले मनभित्र यात्राको नक्शा पुनः कोर्न सिकायो।

घर नजिकिँदै जाँदा, आफ्नै गाउँठाउँकाे बास्ना, आफ्नै वातावरण, आफ्नाहरूसंगकाे भेटघाट र सामीप्यताकाे महसुस गर्छ मनले । हामी समूहका चाैवीस यात्रुहरू एकएक गर्दै आफ्नो गन्तव्यमा ओर्लन्छाैं । रित्तो गाडी हामीलाई छाेडेर बेहुली अन्माएकाे घर झैं रित्तो फर्कन्छ ।

याे पटककाे भ्रमण सकियाे तर सम्पूर्ण यात्रा पूरा भएको छैन । यी चलिरहने यात्राहरू त अन्तर्मनमा चल्ने दीर्घयात्राका एउटा छाेटाे अध्याय मात्रै त हुन् । यात्राकाे कहिल्यै अन्त्य हुँदैन । शायद त्यसैले हाेला,घर फर्किए पनि मन भने निरन्तर हिंडिरहेकै थियोे । 



Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: