अनुभूति:: म किन लेख्छु ?

✍️ मुरारीराज मिश्र

‘म किन लेख्छु ?’
यस प्रश्नको ठ्याक्कै उत्तर छैन मसंग । त्यसैले हाेला, यस प्रश्नको जवाफ दिंदा संधै अलमलिन्छु ।

साँच्चै, “म किन लेख्छु” हाेला ?
कतै, आफूलाई नबुझी संसारलाई कसरी बुझ्ने भनेर आफैंलाई बुझ्न लेख्छु कि ? या, आफ्नै अनुभूति, प्रश्न र पीडासँग साक्षात्कार र आत्मसंवाद गर्न पाे लेख्छु ! अथवा, देखेका, भोगेका अनुभव र भेटिएका पात्रहरू, यी सबै आफ्नै स्मृतिमा मात्र सीमित नरहुन् भन्ने चाहनाले पाे भावनाहरूलाई शब्दाकार दिन्छु कि ? 

लेखन, मानिस र समाजसंग सम्बन्ध गाँस्ने प्रभावकारी माैन शब्दसम्वाद हाे । लेखाइ, निजी अनुभूति भए पनि सार्वजनिक अभिव्यक्ति हो । लेख्नु भनेको उत्तर दिनु मात्र होइन, प्रश्न जन्माउनु पनि हो । शब्दहरू सशक्त भए तिनले समाजमा चेतना जगाउन र परिवर्तनको बीउ रोप्न सक्छन् भन्ने मेराे धारणा छ । जब लेखक लेख्छ, ऊ समाज र समयसँग बहस गरिरहेको हुन्छ ।

जीवनको भीडभाडमा देखिने हर्ष, विषाद, अन्याय, करुणा, आशा र निराशाका अनगिन्ती दृश्यहरू लगायतका सबै क्षणहरू क्षणिक हुन्छन; तर शब्दले तिनलाई दीर्घायू बनाउँछ। लघुकथामा म समाजको सानो घटना भित्र लुकेको ठूलो संकेत खोज्छु । मुक्तकमा थोरै हरफभित्र गहिरो अनुभूतिको तरंग समेट्ने प्रयत्न गर्छु । नियात्रामा बाहिरी यात्रासँगै भित्री यात्राको पदचाप सुन्न चाहन्छु । त्यसैले देखिएको मात्र होइन, महसुस गरिएको सत्य पनि लेख्छु । किनभने, साहित्य भनेको जीवनलाई शब्दमा पुनर्जन्म दिनु हो ।

लेखन मेरा लागि आत्मसंवाद पनि हो । जब मनमा प्रश्नहरूको भीड लाग्छ, जब समयका विसंगतिहरूले चित्त अशान्त बनाउँछन्, तब कलम समात्छु। मानिस बोल्छ, तर सबै कुरा बोल्न सक्दैन । केही अनुभूति यस्ता हुन्छन्, जो ओठसम्म आइपुगेर पनि उपयुक्त शब्द पाउँदैनन् । ती अव्यक्त कम्पनहरूलाई आकार दिन म लेख्छु।

शब्दभित्र जीवन अटाउन सक्छ भन्नेमा विश्वास गर्छु म । साहित्यले मनोरञ्जन मात्र होइन, चेतनाको झिल्का बाल्नुपर्छ । लेखाइले, पाठकलाई पढ्दापढ्दै राेकिएर सोच्न बाध्य बनाउनुपर्छ । शब्दहरू कम भए पनि तिनमा संवेदना गहिरो हुनुपर्छ र कथ्य सानो भए पनि त्यसको संकेत विशाल हुनुपर्छ । लेखनकाे सम्बन्धमा यही मेरो चाहना र प्रयाश हो ।

त्यसैले म कहिलेकाहीँ  आफैँलाई बुझ्न लेख्छु त कहिले समाजलाई ऐना देखाउन लेख्छु । यति पढिसकेपछि तपाईंले  बुझिसक्नुभयाे कि, म थाेरबहुत त लेख्छु तर जानिनजानि लेख्छु ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

२०८२-११-१५ गते लघुकथा संसारकाे अङ्क ३२ मा प्रकाशित






Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"