अक्षयतृतीया र वायुदेवताकाे कुलपूजा
✍️ मुरारीराज मिश्र
कुलपूजा एउटा धार्मिक संस्कार हो । मानवले व्यवस्थित बसोबास सुरु गरेपछि आफ्ना पुर्खाहरूले मान्दै आएका देवीदेवतालाई नै कुलदेवता मानेर पूजाआजा गर्दै आएको मान्न सकिन्छ ।
पहिले व्यक्तिसंग प्रशस्त जग्गा जमिन हुन्थ्यो । त्यही अनुपातमा अन्नपातकाे उब्जनी हुने भएकालेे जीवनयापन सहज थियोे । बिस्तारै बिस्तारै उ बसिरहेको ठाउँमा जल-जङ्गल, जमिन र कृषि उत्पादनकाे कमी हुँदै गयाे । मानिसहरूले नयाँ अवसरको खोजीमा बसाइँसराइ गर्न थाले । मूल थलाेबाट टाढा भएको कारण कतिपय अवस्थामा संधै आफ्नो मूल थलाेमा हुने कुलपूजामा सरिक हुन व्यक्तिलाई अनुकूलता मिलेन । त्यसैले मानिसले जहाँ घर बनाएर बस्याे, जहाँ श्राद्ध लगायत विविध धार्मिक कर्म गर्दै आयाे त्यसै ठाउँमा सम्भव भएसम्मका आफ्ना वंशज (कुलभित्रका जूठाे-सुत्केराे लाग्ने) दाजुभाइ जुटेर कुलपूजा गर्ने चलन चलाउँदै गयाे । यसरी एउटै वंशमा पनि विविध स्थान र देवतालाई मानेर कुलपूजा गर्ने चलन चल्दै आएको हाे ।
कुल भनेको वंश हो र पूजा भनेको श्रद्धा हो । यस अर्थमा, सकेसम्म एकै ठाउँमा जम्मा भएर पूजा गर्न सके पारिवारिक भेटघाटकाे हिसाबले पनि राम्रो हुन्छ । तर सबैकुरा परिस्थितिमा निर्भर हुनेे भएकोले जहाँ जे सम्भव हुन्छ त्यही नै गर्नु उपयुक्त हुन्छ । शायद त्यसैले हाेला, मूल थलाे नर्जा/कविलासबाट बसाइ सरेर आएका केही अत्रि गाेत्रिय मिश्र (उपाध्याय ब्राह्मण) हरूले पनि प्रत्येक बर्षकाे बैशाख शुक्ल तृतीया (अक्षय तृतीया) का दिनमा वायु देवतालाई आफ्नो कुलदेवताकाे रुपमा पुज्दै आएका छन् । याे पूजा उनीहरूले त्रिपुरेश्वरमा जम्मा भएर गर्ने गर्छन् । जसका लागि पूजाकाे दिन सहभागीहरू प्रत्येककाे घरबाट गच्छे अनुसार पुजासामाग्री ल्याउने प्रचलन छ । याे पूजा वैदिक परम्परागत विधिद्वारा जेष्ठ सदस्यबाट हुनेगर्छ ।
अब कुरा गराैं, अक्षय तृतीयाकाे दिनमा र वायु देवतालाई नै कुलदेवता मानेर पूजा गर्ने चलन कहिलेदेखि, कस्ले र कसरी सुरु भयो त ?
हामीले आफ्ना आमाबुबाबाट सुन्दै आए अनुसार - पूर्वज अनिरुद्र मिश्रका पिता, पुर्खामध्येका कुनै एक मिश्रका घरमा धार्मिक कार्यका लागि सेल, पुरी, बाबरी, पूवा लगायतका नैवैद्य पाक्दै थियो । यसै क्रममा कराही घाेप्टिएर तातो तेलले शरीर पाेलेका कारण त्यस घरकी चेलीकाे मृत्युु भएछ । चेलीकाे मृत्युु पश्चात् उक्त घरमा अनाैठा गतिविधि देखिन सुरु भएछ । जस्तै; काेही मानिस भरेङ ओर्लन लाग्दा भरेङ तलबाट "म छु, पख !" भन्ने आवाज आउनु र लगत्तै "ल ओर्लिनु" भनेको सुनिनु । घरकाे बगैंचामा कुनै बाहिरी ब्यक्तिले नसाेधी फलफूल टिपेमा, टिप्ने ब्यक्ति त्यसै बाेटमा टाँसिनु र घरमूली बा आएर धूप बालेर "यसले जानेन, भैगाे छाेडिदेऊ !" भनेपछि फलफूल टिप्ने ब्यक्ति छुट्नु आदि !
याे क्रम बढ्दै गएपछि, यस कुराकाे समाधानकाे लागि जान्नेलाई देखाउँदा दिवंगत चेलीकाे आत्माले "अकाल मृत्युका कारण मेरो आत्मा भट्किएर वायु बनेको छ । यदि तिमीहरूले अक्षय तृतीयाका दिनमा कुलदेवताकाे रुपमा मेराे पूजा गर्ने गर्यौ भने मलाई मुक्ति मिल्नेछ र तिमीहरूको पनि कल्याण हुनेछ । पूजा सात्विक विधिले बाबरी, पूवा, सातु र सर्वत चढाएर गरे पुग्छ ।" भने अनुसार चेलीकाे आत्माकाे शान्तिका लागि पिता, पुर्खाद्वारा झण्डै १५० बर्षभन्दा अघिदेखि (?) वायुदेवतालाई कुलदेवताकाे रुपमा पुज्दै आएकाे जनश्रुति पाइन्छ । यथार्थ चाहे जेसुकै किन नहाेस्, पितापुर्खाले चलाएका परम्पराकाे पालना गर्नु सन्ततिकाे कर्तव्य हाे । यसै आधारमा याे कुलपूजा पनि आजपर्यन्त चलिरहेको छ ।
परम्परा अनुसार कूलदेवता (वायुदेवता) लाई महिलालेे हेर्न हुँदैन । पूजाकाे सुरुवात देखि पूजा पश्चात् देवतालाई पूर्वस्थानमा नराख्नुन्जेल महिला वाहेक ब्रतवन्धकर्म भएका मिश्रकूलका पुरुष सदस्यहरु मात्र पूजामा सहभागी हुन्छन् । जल, प्रसाद र नैवैध्य भने मिश्रका अबिवाहिता छाेरीचेली र मिश्र कूलका बुहारीले पनि ग्रहण गर्न मिल्छ ।
वास्तवमा, देवताकाे पूजा भनेकाे प्रेम हाे । प्रेममा समर्पण प्रमुख कुरा हाे । मन्त्र र पूजाविधि पनि याैटा माध्यम हाेला, तर भाव, भक्ति र विश्वास सबैभन्दा ठूलाे कुरा हाे । उसै पनि, अक्षय तृतीयालाई स्वयंसिद्ध मुहूर्तकाे रुपमा मानिन्छ । पुराण ग्रन्थहरुका अनुसार यस दिन गरिएको शुभ कार्य र दानको क्षय हुँदैन, अर्थात् अक्षय फल पाइन्छ । यस दिनमा गरिने कुलपूजाले सबै मिश्र बन्धुहरूलाई अक्षय पुण्य, सुख, शान्ति र सम्वृद्धि मिलाेस् । जय कुलदेवता 🙏 जय वायुदेवता 🙏
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
Comments
Post a Comment