संस्मरण:

सम्झनामा वागमतीकाे निर्मलता र गुहेश्वरी वरिपरिकाे परिवेश ✍️ मुरारीराज मिश्र बाल्यकालका केही दृश्यहरू यस्ता हुन्छन्, जसलाई स्मृतिले समयसँगै झिनो पार्दैन, बरु अझ प्रखर तुल्याउँछ । गुहेश्वरी मन्दिर र वरिपरिको परिवेशसँग जोडिएका मेरा केही स्मृतिहरू पनि यस्तै छन् । हरेक पटक सम्झिँदा तिनले हरियाली दृश्य, माटोको सुगन्ध, निर्मल पानीको चिसोपन र विश्वासको पवित्रता समेटेर ल्याइदिन्छन् । करिब पचास वर्षअघिको समय । गुहेश्वरी मन्दिरको उत्तरी र पूर्वी किनार, आज जहाँ घर, बाटो र पसलले भरिएको छ, त्यो बेला हरियालीले ढाकिएको थियो । वागमती पारि फैलिएका खेतहरू मानौँ आकाशबाट झरेका हरिया ओछ्यानजस्तै देखिन्थे । धान, गहुँ, आलु र अन्य तरकारीका बालीहरू ऋतु अनुसार खेतमा लहराइरहेका हुन्थे । फाट्टफुट्ट रहेका माटोले बनेका झुपडी र परालका छाना प्रकृतिको विशाल काखमा बास बसेका शिशुजस्तै लाग्थे । त्यो समय वागमती शुद्ध र पारदर्शी थियो । हामी त्यही पानी पिउन्थ्यौं, नुहाउँथ्यौं, कपडा धुन्थ्यौं । असला, सिङ्गे, हि...