लघुकथा: मृत्युु

            ✍️ मुरारीराज मिश्र

“हा हा हा हा…”
मार हान्नै लागेकाे बेला अचानक अनाैठाे प्रकारको हाँसोकाे आवाज सुनिएपछि खुकुरी समातेका उसका दुबै हात राेकिए ।

एकजनाले पछाडिबाट दुईटै खुट्टा समातेको, दाेस्राेले घाँटीमा डाेरीले बाँधेर तानिरहेकाे र तेस्रोले गर्धनमा खुकुरीकाे मार हानेर काटिनै लागेको अवस्थाकाे खसी खित्का छोडेर हाँस्दैथ्याे ।

त्याे देखेर खुकुरी उज्याएको मानिसले आश्चर्य मान्दै सोध्यो "ए खसी ! मृत्युको मुखमा पर्न लागेको बेलामा पनि तँ किन यसरी हाँसेको हँ ?"

“तिमीहरूको भविष्य सम्झेर हाँसेकाे हुँ” खसीले जवाफ दियो ।

“हाम्रो भविष्य सम्झेर रे !” उसले नबुझेको भावले खसीलाई हेर्‍यो ।

खसीले भन्यो "हेर मनुज  ! मैले जीवनमा कसैलाई सताएको, रुवाएको, चित्त दुःखाएको, लुटेको र ठगेको छैन । केवल घाँस-पात खाएर जीवन बिताएको छु र पनि मलाई यस्तो दर्दनाक मृत्यु मिल्दैछ ! अब तिमी नै साेच त, दिन-रात मजस्ता निरपराध प्राणीलाई मार्ने तिमीजस्ता हृदयहीन निर्दयी मनुष्यको मृत्यु कस्तो होला ? त्यै साेचेर हाँस्दैछु !"

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं-७)

दायित्वमा प्रकाशित  २०८२ असाेज-कात्तिक 



Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"