लघुकथा : भूमाफिया
✍️ मुरारीराज मिश्र
"ए तपाईंले पनि बाटो मिच्नु भा'को पो रैछ त ?"
पल्लो टोलमा बस्ने टेकनाथको हाँसो मिश्रित प्रश्नले पर्खाल लगाउँदै गरेकाे रमेश एक्कासी रन्थनियो ।
हैन, मान्छे पनि कस्ताकस्ता छन् हँ यहाँका ? अरुको नोक्सानीमा रमायाे बस्याे ! "बाटो बिस्तारको क्रममा पटकपटक जग्गा बाटोमा छाेड्नु परेको टेन्सन छ आफूलाई । अरूलाई भने रमाइलो छ ! बुझ्नु न सुझ्नु बाटो मिचेको आरोप लगायो, पुग्यो । यो मेरो हकभोगको पुर्ख्याैली निजी जग्गा हो बुझ्नुभो !"
"तपाईं त त्यसै रिसाउनु भो, मेरो आशय त्यस्तो हैन क्या !" टेकनाथले भने ।
"बाबूको आशय जेसुकै भएपनि बोल्दा चाहिँ ढंग नपुगेकै हो । हामी सानो हुँदा यहाँ दुईहाते गोरेटो बाटो थियो, अहिले बीसफिटे भयो । बाटो बढेको दुबैतर्फका जग्गावालाकै जग्गाले त होला नि ! बाबुजस्ता कसैले जग्गा ल्याएर हालेर यहाँ बाटो बढेको त पक्कै हैन होला ! बाटो पटकपटक बढेको बढ्यै छ तर रमेशजस्ता मान्छेका जग्गा भने विना मुआव्जा घटेको घट्यै छ !” दुबैको सवाल जवाफ सुनिरहेका एक बृद्धले सुस्केरा हाल्दै भने ।
उनले थपे-
“हेर्नुस्, एकातिर राज्यले बाटोमा परेको जग्गाको लगत कटाएको छैन, बरु उल्टै बाटोमा परेको जग्गाको समेत कर असुली रहेको छ । अर्कोतिर जग्गाधनीहरु बिनाकारण तपाईंहरूजस्ता मानिसबाट भूमाफियाको आरोप खेप्न बाध्य छन् ! त्यसैले बाेल्दा बिचार पुर्याउनु पर्छ क्या बाबू ।"
(उमामहेश्वर मार्ग, का.म.पा.७, कुमारीगाल)
दायित्वमा प्रेषित २०८२ पाैष २७
Comments
Post a Comment