लघुकथा: जागिरे बुहारी

✍️ मुरारीराज मिश्र,

`घरमा परिवारहरु पनि छन्, समयमै खाना पकाएर खुवाउनु पर्छ भन्ने त बुझ्नुपर्छ नि ! यसरी ढिला आएर पनि घर चल्छ ? यस्ता जागिरे त सबै छन् !´ सासुले भनिन्

`हाे भन्या आमा ! बल्लतल्ल दुईचार दिनका लागि माइती आयाे, न समयमा खाना, न कसैसँग कुराकानी !´ नन्दले थपिन् ।

`त्यै त बहिनी ! म अफिसबाट अघि नै आएर बसिसकें, यस्काे भने भर्खर दर्शन पाइंदै छ ! अब कुनबेला खाना पाक्ने हाे, यहाँ आफ्नो पेटमा मुसाे कुदिसक्याे !´पतिले भन्यो ।

अफिस सकेर काेठामा छिर्न पाएकाे छैन, यसअघि कहिल्यै सुन्न नपरेको आफन्तका यस्ता कुराहरू सुनेर सुशीला जिल्ल परिन् । एकछिन त, के गरुँ कसाे गरुँ भन्ने जस्तो भयाे उनलाई । तत्कालै सम्हालिएर `आज बजार पनि जानुपर्ने थियोे, त्यसैले केही ढिला भयाे, म एकैछिनमा खाना पकाईहाल्छु´ भन्दै काेठामा पसिन् । 

झट्पट् लुगा फेरेर, हातखुट्टा धाेई हतारहतार भान्छामा छिर्दा खानाहरू पाकेर तैयार थियोे ! उनी अचम्म मान्दै यताउता हेर्न थालिन् । एकाएक ढाेकाबाट सासू, पति र नन्द भित्र पसे । 

`जन्मदिनको धेरै धेरै शुभकामना । याे मेरै याेजनामा मञ्चन भएको नाटक थियोे भाउजू ।´ नन्दले फूलको गुच्छा सुशीलालाई दिंदै भनिन् ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

प्रतिनिधि २०८२ पाैष-माघमा प्रकाशित 




Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

यात्रा संस्मरण : "आस्थाकाे यात्राले दिलाएको आत्मबोध"