लघुकथा: ब्यापार

 ✍️ मुरारीराज मिश्र,

अहिले काँक्रा कति छन् हँ तेराे बारीमा ? प्रकाशले फाेनमा रमेशलाई साेध्याे । 

सय डेढसय किलो जति हाेलान् दाइ ! 

मलाई सबै पठा न त, अस्तिकै माेल दिन्छु !!

अस्तिकाे मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक !

हेर रमेश, मैैले पनि हाेला कि भनेर लगानी गर्ने हाे ! ढुवानी भाडा तिर्नै पर्‍यो । कति नै बच्छ र ? पच्चीस रुपैयाँ किलो भन्दा दिन सक्दिन । दिने भए रुटकाे त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु !

तपाईंले नलिएको भनेपछि अरुले पनि किन्दैनन्, यहाँ बजार छैन, बिक्दैन ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु ।

रमेशकाे कुरा सुनेपछि प्रकाशले तरकारीको थाेक ब्यापारीलाई फाेन गर्‍याे - ल भाइ, काँक्राे आउने भाे । बसवालालाई दुईहजार भाडा दिनु र किलोकाे सयकाे दरले मेरो खातामा पठाउनु ।

उ फाेन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्‌फताउँदै काेठामा छिरिन् - हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी ब्यापारीले ! नाथे काँक्राेकाे माेल पनि दुईसय रुपैयाँ किलाे रे बजारमा !!

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: