लघुकथा: ब्यापार

 ✍️ मुरारीराज मिश्र,

अहिले काँक्रा कति छन् हँ तेराे बारीमा ? हाेलसेल ब्यापारी प्रकाशले फाेनमा रमेशलाई साेध्याे । 

सालाखाला पाँचसय किलो जति हाेलान् दाइ ! 

मलाई सबै पठा न त, अस्तिकै मोल दिन्छु !!

अस्तिको मा त घाटा हुन्छ दाइ, लगानी पनि उठ्दैन । अलिकति थप्नु पर्ला है यसपटक !

हेर रमेश, मैैले पनि होला कि भनेर लगानी गर्ने हो ! ढुवानी भाडा तिर्नै पर्‍याे। कति नै बच्छ र ? तर के गर्ने, आफ्नै मान्छे परिस् । ल ल, भैगो पाँचरूपैयाँ थपीदिएँ । पच्चीस रुपैयाँ किलो भन्दा चाँहि दिन सक्दिन है । दिने भए रुटको त्यै बसमा हालेर पठाईदे, नभए अरुलाई नै बेच्नु !

तपाईंले नलिएको भन्ने थाहापाएपछि अरु कसैले पनि किन्दैनन् । यहाँ बजार छैन, बिक्दैन ! के गर्नु खै ! बारीमा कुहाउनु भन्दा त बरु घाटै सहनु बेस् । हुन्छ दाइ, म पठाईदिन्छु ।

रमेशको कुरा सुनेपछि प्रकाशले तरकारीको थोक ब्यापारीलाई फोन गर्‍याे – ल भाइ, काँक्रो आउने भो । बसवालालाई दुईहजार भाडा दिनु र किलोको सयको दरले मेरो खातामा पठाउनु ।

उ फोन राख्दै थियोे, उसकी श्रीमती चीया लिएर फत्फताउँदै कोठामा छिरिन् – हैन, कति मात्रै ठग्न सकेका हुन हँ यी व्यापारीले ! नाथे काँक्रोको मोल पनि दुईसय रुपैयाँ किलो रे बजारमा ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

संसारन्यूजमा प्रकाशित २०८२-०९-०५



Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: