लघुकथा: भविष्यद्रष्टा


          ✍️ मुरारीराज मिश्र

`तेरा मालिक मालिकनी दुवैलाई एकपटक भेट्न खाेजेकाे छु, खबर गरिदे है बाबु ! भनेर बुबाले भनि पठाउनु भएको छ ।´ भन्दै थियाे ड्राइभरले आएर ! एकपटक जाऊँ न त ! ममताले पति सुशीलसंग भनिन् ।

"किन हाे, साेधिनाै ?" उसले प्रतिप्रश्न गर्‍यो ।

"उहाँ बिरामी पनि हुनुहुन्छ रे ! जाओैं न, थाहा भईहाल्छ नि !" पत्नीको जवाफ आयो 

सुशीलले पत्नीको मुख पुलुक्क हेर्‍यो । नयाँ ग्यारेज बनाएपछि कम्पाउण्डभित्रकाे कुनामा  प्रयाेजनविहीन रहेको पुरानाे ग्यारेजमा दशबर्ष अघि आमाबुुबाकाे अनिच्छाकाे बाबजुद उहाँहरुलाई बेग्लै रााखिदिएकाे थियोे उसले । त्यसपछिका दिनमा बुबाले यसरी बाेलाएकाे याे नै पहिलोपटक थियोे ।

दुबै जना सिकिस्त अवस्थामा रहेका बुबालाई भेट्न पुगे । सुतिरहेका बुबालाई बाेलाए । बिस्तारै आँखा उघार्दै बुबाले खाटकाे छेउ देखाएर बस्ने इसारा गर्नुभयो । 

सुशीलले साेध्याे "बुबाले बाेलाउनु भएको रहेछ !"

"हाे बाबु, केही भन्नु थियाे त्यसैले बाेलाएकाे मैले । याे टहरामा पानी चुहिन्छ । तेरी आमा बाँचुन्जेल रातभर नसुती नसुती चुहिएको पानी थाप्थी, त्यसैले छानाको जस्ता फेर्नु । जाडोमा चिसो हावाले बस्नै गाह्रो पर्छ, तेरी आमा पछ्याैराकाे पर्दा हालेर हावा राेक्ने असफल प्रयास गर्थी, याे झ्यालमा शिशा हाल्नु । स्टाेभ नबलेर कति छाक हामी भाेकै बसेका छाैं, यहाँ एउटा ग्याँस चुलाेकाे ब्यवस्था गर्नु । अँ, गर्मीमा झन् समस्या हुन्छ एउटा पंखा पनि हाल्न नबिर्सनु ।" बुबाले एकै सासमा भन्नुभयो ।

छोराले छक्क पर्दै सोध्यो "तपाईं यति लामो समयदेखि यहाँ हुनुहुन्छ, कहिल्यै केही गुनासो गर्नु भएन । तर, अहिले आफ्नो अन्तिम अवस्थामा आएर मलाई याे सबै किन भनिरहनु भएको छ बुबा ?"

बुबाले जवाफ दिनुभयाे "कुरा याे हाे कि छोरा, हामीले जाडाे, गर्मी, भोक, पीडा सबै भाेगेका-सहेका थियौं र सहन सक्यौं । तर, मलाई डर लाग्छ जब तिमीहरूलाई छोराले यहाँ पठाउला तब तिमीहरु यो सब सहन गर्न सक्ने छैनौ ! किनकि यी कुराहरु तिमीहरूले कहिल्यै भाेगेका छैनाै !!

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७)

संसारन्यूज डटकम अनलाइनमा मिति २०८०१०-२७ गते प्रकाशित ।

आलेख साहित्यिक मासिककाे माघ २०८० अङ्कमा प्रकाशित ।


Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: