मुक्तक ५

#मुक्तक

साँचिलाे  भै चेपाराे पार्न  छाेडेकाे छु अचेल 

भाेलि  भनेर  भाखा सार्न छाेडेकाे छु अचेल

अरू  रिसाउने  हुन् कि  भन्ने  साेचेर  मनमा 

आफ्नो चाहना त्यसै मार्न छाेडेकाे छु अचेल


कहिले   मन    दुखाएर    हेरें

कहिले   शिर    झुकाएर   हेरें 

कहिले आफ्नै  चिता जलेकाे

आँखामा आँसु  सुकाएर हेरें ।


यहाँको  कथा-व्यथा  अपरम्पार  छ

जाे  भ्रष्टाचारी   उही   इमानदार  छ

नातागाेता, आत्मीयता भाड मे जाए

रूपैयाँकाे  सम्बन्ध मात्रै दमदार छ ।


आकाश पाताल संसार देखायो 

साेच्दै  नसाेचेकाे  प्यार देखायाे

जब  पुरा  भयाे  दिएको भाखा

खुकुरी   उजाइ  धार  देखायाे ।


हजारौं  खर्चेर  बत्तीले  उज्यालो  पार्दैछन् कतै

दीयाे बाल्न  हप्तादिनको भुटुन  साँच्दैछन् कतै

हुनेखाने - हुँदाखाने दुबैकाेमा जाऊ लक्ष्मीमाता 

अभावका गन्ध पनि कसैले सुघ्न नपाउन् कतै ।

 (पुरानो परिमार्जित मुक्तक)


बाचुन्जेल  पाइला-पाइलामा   गुलामी  चाहिन्छ 

मरेपछि  तामझाम  सहितको  मलामी  चाहिन्छ 

सास रहुन्जेल  कुनै  हालतमा  छाेड्दैनन्  कुर्सी 

घाटमा पनि एकतीस् ताेपकाे सलामी चाहिन्छ ।


बाेलाैं  अलिक  चर्केर,   समाज  भड्काउनु पर्छ

बदमाश  भनि   भलाद्‌मीलाई,   चड्काउनु पर्छ

कागले कान लग्यो भन्दा दाैड्ने, छदैछाैं नि हामी 

माैका  छाेपी  एउटा  राम्रो  पद, पड्काउनु पर्छ ।


जताततै   रक्ताम्य   फाँट   देखिए

फाँटमा  आशालाग्दा  आँट देखिए

धिप्‌धिप् गर्दैछ  परिवर्तनको  बत्ती 

जब नयाँमा पुरानाझैं छाँट देखिए ।


कहिले  बाध्य  भइ  इच्छाहरू  खाेस्नुपर्छ

आफ्नो मनलाई तातो भुङ्ग्राेमा झाेस्नुपर्छ

यस्तै  छ  चलन   समाजमा   पहिल्यैदेखि 

सम्पूर्ण   रित्याएर   अरूलाई   पाेस्नुपर्छ ।


भताभुङ्ग  छ  सर्वत्र, जताहेर्‍यो  भद्रगोल  चाला छ

इमान्दारलाई   सूली,   वेइमानलाई   बरमाला   छ

भ्रष्टाचारको  महाराेगले   गाँज्दै  गएको  याे देशमा

शासन छ धृतराष्ट्रकाे, शकुनीहरूकाे बाेलवाला छ ।


नजर  संधै  तिम्रै  मुहारमा  ठाेकिन्छ  त के गराैं

छताछुल्ल भइ माया तिमीमै पाेखिन्छ त के गराैं

साथमा  तिमी  हुँदा दिन-रातको  क्यै पत्तै हुँदैन 

समय पनि म जस्तै बेहोसिंदै राेकिन्छ त के गराैं ।


समय      संधैभरी     एकनास     हुँदैन 

फूल  झरेपछि   त्यसमा   सुवास   हुँदैन 

मतलबका लागि  सदा  निहुरिन्छ  मान्छे 

स्वार्थ पुगेपछि काेही उसको खास हुँदैन


संधै  भद्रगोल  देखिने   जात्रा  हाे   जिन्दगी 

छाेड्न नमिल्ने ओैषधिकाे मात्रा हाे जिन्दगी 

वाधा - अवरोध  हाँसीहाँसी  छिचाेल्न  सके

एउटा  साह्रै  रमाइलो  यात्रा  हाे  जिन्दगी  ।


जिन्दगीले  जिताउन्न संधै, कैले काँही  हार्न  सिकाउँछ

आइपर्ने   वाधाहरू  लाई,  हाँसीहाँसी  टार्न  सिकाउँछ

हाम्रो बाटोमा कसैले खाल्डाे खन्याे भनेर  किन आत्तिनु

यस्तै कारणले मान्छेलाई लामाे फड्को मार्न सिकाउँछ !


जिन्दगीमा  अनेक  थरी  खेल  देखियो 

अगाडि  हजुर,  पछाडि   झेल  देखियो 

अचम्म लाग्न छाड्यो जे देख्दापनि अब

जब आँखै सामु राम-रावण मेल देखियाे।


तिमी साथ हुँदा लाग्छ ठाँटमा छ जिन्दगी 

फूलैफूलकाे  सुन्दर  फाँटमा  छ  जिन्दगी

तिमी    हुँदा   वसन्तकाे   बहार   यत्रतत्र, 

नहुँदा लाग्छ छन्द न छाँटमा छ जिन्दगी । 


निमुखाहरू नै  त  मारमा पर्ने हुन्  जहिले  पनि

अचानाेकाे चाेट  खुकुरीले  बुझ्दैन  कहिले  पनि

सातपुस्ता सम्म  पुग्ने   सेवा-सुविधा   पाउनैपर्छ 

श्री तीन जङ्गकाे श्राद्ध राज्यले गर्छ अहिले पनि ।


सर्वाङ्ग नाङ्गिएपछि  देखाउने सानकाे के काम

जिउँदोमा रुवाएर  पछि गर्ने  दानकाे के काम

बाचुञ्जेल कैल्यै मीठो वचन नसुनेकाे उस्लाई 

मरेपछि गरिने  प्रशंसा र सम्मानकाे के काम ।


मान्छेका अगाडि  लुकाएर पिएँ 

एकान्तमा   मन  फुकाएर  पिएँ

जब थाहा भाे आँसुमा नशा रैछ 

बेहोसिन आँखा सुकाएर पिएँ ।


विश्वासको कुरा गर्नेहरू  एकान्तमा  कान भर्छन् 

स्वाभिमानी हुँ म भन्ने  चरणमा  लम्बेतान  पर्छन् 

देखावटीकाे  जमाना  छ  कसलाई  के भन्नु, जब

‘अतिथि देवो’ जप्नेले नै पाहुनाको अपमान गर्छन् ।


भविष्यकाे लागि  सञ्चय र लगानी  कतै छैन

`एक्लै जाउँ, आफैं खाउँ´ यस्तो बानी  कतै छैन

मिल्छन् खान्छ्न् उड्छन् सधैं रमाएर  समूहमा 

पंक्षी जस्तो साेच बाेके सायद हानी कतै छैन ।


जस्तो देखिन्छ पूर्णचन्द्र  आकाश खुलेपछि

त्यस्तै  देख्छु तिमीलाई तिमीभित्र भुलेपछि   

संसार   भुल्नलाई   बहाना   नचाहिने   रैछ

बेहाेस  हुन्छु,  तिम्रो  बाहुपाशमा  झुलेपछि


हिजोआज उ, अलिक तात्तिएकाे छ

कारण खै के हाे, थाेरै आत्तिएकाे छ

अभावमा हुँदा त भलाद्‌मी देखिन्थ्यो  

कमाएछ क्यारे त्यसैले मात्तिएकाे छ !!


अनगिन्ती समस्याहरूको रास पनि हाे जिन्दगी 

सताउँछ  रूवाउँछ  बदमाश  पनि हाे  जिन्दगी 

ज-जसले  जसरी  परिभाषित  गरून् यसलाई

राम्रो समय आउँछ भन्ने आश पनि हाे जिन्दगी ।


आँखा-आँखा जुधाएर गर्ने बातकाे कुरा बेग्लै 

हात समातेर हिँड्दा लाग्ने मातकाे  कुरा बेग्लै 

एकान्तकाे ठाउँ, माैसम पनि चिसिएकाे  बेला

तिमीसंग बिताएकाे न्यानाे रातको कुरा बेग्लै ।


बर्षाैं देखि जिन्दगीका फाँटहरु उस्तै छन्

मनभित्र   उमंग   र   आँटहरु  उस्तै छन्

कैले तिमी  रिसाउँछाै  कैले  म  रिसाउँछु

रिसाउँदा  फकाउने  छाँटहरु  उस्तै छन् ।


बढ्दै  छ  महंगीकाे  मार

पहुँच  बाहिर  भाे  बजार

हालिमुहाली छ बिचाैलियाकाे 

कुम्भकर्ण झैं निदायाे सरकार ।


काम नलाग्ने सिसा भएपनि हीरा हुँ भनि चम्कने कतिन्जेल !

इज्जतदारकाे भ्रम छरेर सबैका सामु गम्कने कतिन्जेल !

कुहिएको सिनाे झैं चारैतिरबाट डुङ्डुङी गन्हाइसक्दा पनि,

"सतीले सरापेकाे" निहुँमा सात खुनबाट उम्कने कतिन्जेल !


#मुक्तक

कसैलाई मान्छे नगन्ने, अहमताकाे पाराे चढ्दैछ

आङ कन्याउँदा चारैतिर, दुर्गन्धित छाराे उड्दैछ

टुप्पोबाट पलाएपछि, शायद यस्तै हुन्छ क्यारे 

आफ्नो गल्ती स्वीकार्नै नसक्ने, दम्भ झन् साह्राे बढ्दैछ 

(कविता संसारमा प्रकाशित)

गैंडाको छालाजस्तो जति घाेच्दा´नि नदुख्ने रैछ
निर्बस्त्र भैसक्दा पुरै झन् झन् खुशीले हाँस्ने रैछ
एकपटक  पचाएपछि  के  हाे  भन्ने  बिर्सने
याे लाज भन्ने चिज पनि अचम्मकै हुने रैछ !

कविता संसारमा प्रकाशित)


परिवारकाे   आड,  भराेसा   र   शक्ति  हाे 

ध्यान,  भजन,   पूजापाठ  अनि भक्ति  हाे 

आफू   हारेर   सन्तान   जिताउन    खाेज्ने 

पिता त्यही  देवतुल्य निस्वार्थ  ब्यक्ति  हाे ।

                                        

चाम्रे, ढकनी, कुराउनी, खीर-पुरी हराउँदै गयो 

पर्वकाे रंग बदलियाे, माैलिकता हराउँदै गयाे 

महिनाैंदेखि पार्टी प्यालेस भरिएका हुन्छन् अहिले 

घरघरमा दर खाने पुरानो चलन हराउँदै गयो !


जीवन कहिले काेपिला फुले जसरी फक्रिन्छ

कहिले हिउँदमा तुषाराे जमे जसरी कक्रिन्छ 

बाल्यावस्था र जवानी झिमिक्कै बित्ने रहेछन्

लिएरै जाने बुढ्याैलीले चुम्बक जसरी पक्रिन्छ ।


तिम्राे हात समातेर, संसार घुम्ने मन छ

नशालु ती आँखाभित्र, डुबी झुम्ने मन छ

माेही माग्ने ढुङ्ग्राे छाेप्ने, मेरो छैन बानी 

प्रष्टै भन्छु तिम्रा सुन्दर अधर चुम्ने मन छ ।


शिक्षाको त्यो मन्दिर, जहाँ सरस्वतीकाे बास छ

पढेर ठूला बन्लान् सन्तान, मनमा यही आश छ

पठाउँदा पनि चिन्ता छ, फर्कन्नन् कि भरे भनि

ढुक्क छैन मन कहिल्यै, संधै अनिष्टकाे त्रास छ ।।



Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: