लघुकथा : कमाइ

             ✍️ मुरारीराज मिश्र

अस्पतालकाे आइसीयूमा एक अचेत बिरामी भेन्टिलेटरकाे सहायताले जेनतेन श्वास फेर्दै थियो ।

“सास छउन्जेल आश हुन्छ । नआत्तिनुस्, हामी ठीक पारिहाल्छाैं नि ।” डाक्टरकाे यस्तो आश्वासन पाएका आफन्तहरू, प्रेस्क्रिप्सन र झोलाका-झोला औषधि बोकेर भागदौडमा देखिन्थे ।

बिरामीका दाइ, भतिजोले ल्याएकाे औषधिको थुप्रो हेर्छन् र हैरानी मिसिएको स्वरमा भन्छन् “मजस्तो तन्दुरुस्त मान्छेले दिनभर लगातार खाएपनि नसकिने यत्रो औषधि, बेडमा मुढाे लडे झैं लडेकाे मान्छेले कसरी खान्छ होला खै ?” भतिजो निरुत्तर हुन्छ !

साँझपख नर्स भित्री बाटो हुँदै फार्मेसी पुगेर झोला बुझाउँछिन् । पसलेले काउन्टरबाट झिकेर एउटा मुठा उनलाई दिन्छ । गेटमा डाक्टर कुरिरहेकाे थियो । नर्सले मुठा आधा पारेर डाक्टरलाई दिन्छिन् ।

“एउटा बिरामीमै यस्तो कमाइ ! सबै बेड भरिएको भए त हामी छिट्टै करोडपति हुने रैछाैं, कसाे सिस्टर !” डाक्टरले मुठाे समात्दै भन्छ ।
                             ******

प्रदीप सापकोटाजीकाे ई-खबरनेटमा २०८२-०८-२० मा प्रकाशित


Comments

Popular posts from this blog

भजन/श्लोक (भावानुवाद)

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

संस्मरण: