लघुकथा: ल्यापटप
✍️ मुरारीराज मिश्र
“हेर त ! सडकपारीकाे त्याे पसलबाट निस्कने तिम्रा दिदी-भिनाजु हैनन् भन्या ?” राजनले पत्नी उमासंग भन्याे ।
“हाे त नि ! साँच्चै, के किन्न आएछन् त यहाँँ !” रमाले जिज्ञासा मिश्रित जवाफ फर्काइन् ।
बाटो काटेर पारी पुग्दा दिदी-भिनाजु गइसकेका भएतापनि उनीहरू जिज्ञासावश पसलमा छिर्छन् र साेध्छन् “साहुजी, भर्खरै झाेला बाेकेर यहाँबाट निस्केका दुईजनाले के किनेर गए ?”
“के काे किन्नु ! ल्यापटप बनाउन आएका थिए, बनाउनुभन्दा नयाँ किन्नै उचित हुने खालको सामान रैछ ! रकमको जाेहाे गरेर आउँछाैं भनेर गए !” पसलेले उत्तर दियो ।
“उनका घरमा दुई-तीनवटा ल्यापटप थियो त, फेरि किन चाहिएछ अर्काे ?” राजनले पत्नीसंग भन्याे ।
याे सुनेर पत्नीभन्दा अगाडि नै पसले जवाफ फर्कायाे “अँ, थियो रे ! खै, कुनै नातेदारले केही दिनकाे लागि जरुरी पर्यो भनेर लगेकाे रैछ, सात-आठ महिना बित्दा पनि फर्काएनछ । के गर्नु, आफन्त रिसाउने डरले मुख खाेलेर माग्न पनि सकिएन भनेर आपसमा कुरा गर्दैथे ।”
पसलेकाे भनाइ सुनेर उमाले पतिसंग भनिन् “सुन्नुभयाे नि ! उनीहरूकाे अनलाइनकाे काम छ, अप्ठ्यारो पर्छ । ल्यापटप चाँडै फर्काइदिनुस् भनेर पहिल्यैदेखि तपाईंलाई भन्दै आएकाे थिएँ त मैले !”
(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)
हिमाली बेलामा प्रकाशित २०८२-०८-२८


Comments
Post a Comment